कात्तिक २९ गतेदेखि सञ्चालनमा आउँदैछ फाइभ स्टार होटल ‘हायात प्लेस’, ४ अर्ब लगानी



काठमाडौं । कोरोना महामारीका कारण थलिएको पर्यटन क्षेत्र यतिबेला ‘रिभाइभ’को चरणमा छ ।

चाडपर्वको समयमा बढेको आन्तरिक पर्यटन र विदेशी पर्यटकलाई अनअराइभल भिसा दिने सरकारको निर्णय गरेसँगै मुलुकमा पर्यटकीय गतिविधि बढ्न थालेका छन् । जसले पर्यटन क्षेत्रमा नयाँ आशाको सञ्चार भएको छ ।

यही रिभाइभको चरणमै राजधानीमा अन्तर्राष्ट्रिय चेन होटल ‘हायात प्लेस’को सञ्चालन शुरु हुँदैछ । यसले अन्तर्राष्ट्रिय पर्यटक बढाउन सहयोग पुग्ने अपेक्षा समेत गरिएको छ । नेपालमा हायात अन्तर्गतको यो दोस्रो होटल हुनेछ । यसअघि बौद्धमा हायात रिजेन्सी सञ्चालनमा आइसकेको छ ।

होटलमा गोल्यान ग्रुपको ४ अर्ब रुपैयाँ लगानी छ भने होटल व्यवस्थापनको जिम्मा हायात प्लेसले लिइसकेको छ । शुरुमा गोल्यान ग्रुपले अर्पाटमेन्ट निर्माण गर्ने उद्देश्यले २ वटा भवन निर्माण गर्ने योजना बनाएको थियो । तर भूकम्पको धक्कापछि एउटा भवनलाई होटल बनाइएको हो । अहिले अर्को १४ तले भवन अपार्टमेन्टका रुपमा निर्माण भइसकेको छ ।

काठमाडौंको ताहचल उभिएको यो विशाल १४ तले भवन नोभेम्बर १५ तारिखदेखि पाहुना स्वागत गर्न तम्तयार भएको छ । हाल होटल निर्माणको काम अन्तिम चरणमा भइरहेको असिस्टेन्ट मार्केटिङ म्यानेजर आकृति पाठकले जानकारी दिइन् ।

सन् २०१६ देखि निर्माण शुरु भए पनि कोरोना महामारीका कारण निर्माण अवधि केही लम्बिएपनि अहिले होटल निर्माणले पूर्णता पाएको छ । फलस्वरुप तिहार लगत्तकै अर्थात् कात्तिक २९ गतेदेखि होटलले सेवा दिन शुरु गर्नेछ ।

‘अहिले अधिकांश काम सकिएको छ, उद्घाटनको दिन नजिकिँदै गर्दा कामको व्यस्तता पनि बढेको छ,’ पाठकले सुनाइन, ‘उद्घाटनदेखि नै होटलमा बुकिङहरु पनि आउन थालिसकेको छ ।’

हायात अन्तर्राष्ट्रिय स्तरमा निकै चर्चित चेन होटल हो । उच्चस्तरको सेवा र गुणस्तरीय होटलको ब्राण्डमा परिचय जस्तै बनेको छ ।

१० रोपनी क्षेत्रफलमा फैलिएको यस होटलमा १५३ वटा कोठा छन् । जसमा ३ वटा स्वीट रुम छन् भने १५० वटा स्ट्यान्डर्ड रुम छन् । त्यसमध्ये पनि ७ वटा रुममा टेरेसको सुविधा पनि हुनेछ ।

होटलका आधा रुमबाट उत्तर–पश्चिमपट्टी स्वयम्भूनाथको दर्शन गर्न पाइन्छ भने अर्कोपट्टी फर्किएका रुमबाट सिटी भ्यूको सुविधा हुनेछ । विशेष गरी साँझको समयमा स्वयम्भूको दृश्य निकै लोभलाग्दो दृश्य यहाँबाट हेर्न सकिन्छ ।

पाठक हायात प्लेस होटलमा विशेष गरी ट्राभलरका लागि लक्षित गरिएको भएको बताउँछिन् ।

‘बिजनेश ट्रिप तथा अन्य विभिन्न प्रयोजनका लागि ट्राभल गरिरहने पर्यटकका लागि लक्षित होटल हो, सोही अनुसार होटलमा सेवा सुविधा पनि उपलब्ध गराइएको छ,’ उनले भनिन् ।

जसअनुसार लबीदेखि रेष्टुराँसमेतमा ल्यापटप चलाउन मिल्ने गरी डिजाइन गरिएको छ ।

भवनको २ तला बेसमेन्ट हुनेछ । जुन पार्किङका लागि छुट्याइएको छ । त्यसपछिको तलामा लबी छ । जहाँ नेपालीपन झल्कने गरी कलाकृति देख्न सकिन्छ । लबीसँगै रेष्टुराँ र कन्फ्रेन्स हल पनि छ । कन्फरेन्स हलमा ४ सय जनासम्म अटाउन सक्छन् ।

साथै होटलको पहिलो तला सर्भिसका लागि हुनेछ भने दोस्रो तलामा स्वीमिङसँगै रेष्टुराँ र बारको सुविधा छ । जहाँ केटाकेटीदेखि वयस्कसम्मका लागि लक्षित गरी सेवा सुविधा उपलब्ध गराइएको छ । यहाँ पुलसाइट पार्टी गर्न सकिन्छ । दोस्रो तलामै पाहुनाहरुका लागि फिटनेस सेन्टर पनि छ ।

त्यसभन्दा माथिका तलाका रुमहरु पाहुनाका लागि हुनेछन् । ७ वटा टेरेससहितका रुममा हरियाली गार्डेनको सुविधा हुनेछ । प्रत्येक रुम ३० वर्गफिट क्षेत्रफलमा फैलिएका छन् । तर टेरेससहितका रुमहरु ४८ वर्गफिट क्षेत्रफलमा फैलिएका छन् ।

होटलले ओपनिङका अवसरमा विशेष अफर पनि ल्याउनेछ । जसमध्ये ‘पे टु स्टे थ्री’को अफर पनि हुनेछ । यो भनेको २ रातका लागि पैसा तिर्ने पर्यटकले ३ दिनसम्मका लागि सुविधा पाउनेछन् ।

हायात इन्टरनेशनल बहुराष्ट्रिय चेन होटल हो । जसको मातहतमा १८ वटा ब्राण्ड छन् । जसमा पार्कल हायात, मिरावल, ग्राण्ड हायात, हायात रिजेन्सी, हायात, हायात प्लेस, हायात हाउस, हायात रेसिडेन्सी क्लब, अन्दाज, अलिला, थोमसन होटल हायात सेन्टर, क्याप्सनलगायतका ब्राण्ड सञ्चालनमा छन् ।


कमलकुमार बस्नेत