अर्थमन्त्रीको फोनपछि पुँजी बजारमा भारी उछाल, १६२ अंकले बढ्यो नेप्से
काठमाडौं । आइतबार भारी अंकले घटेको सेयर बजारमा सोमबार हरियाली छाएको छ । सोमबार सबैजसो कम्पनीको सेयर मूल्य बढेको छ । नेप्से परिसूचक १६१.९४ अंकले बढेर २९८०.५० अंकमा पुगेको छ ।
आइतबार लगानीकर्ता समूहले राष्ट्र बैंकको विरोध गर्दै गभर्नरको राजीनामा माग गरेका थिए । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयरधितो कर्जामा कडाइ गरेको भन्दै त्यसको असर पुँजीबजारमा देखिएको तर्क गरेका थिए । जसका कारण सेयर बजारमा आइतबार भारी गिरावट देखिएको थियो ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो कर्जामा कडाइ गर्दै एउटा बैंकबाट एकजनाले बढीमा ४ करोड र समग्र बैंकिङ प्रणालीबाट १२ करोड रुपैयाँसम्म लिन पाउने गरी नयाँ व्यवस्था गरेको थियो ।
लगानीकर्ता समूहले सोमबार शंकरदेव क्याम्पसबाट बालुवाटारसम्म बाइकमा र्याली गर्दै गभर्नरको राजीनामा समेत माग गरेका थिए । उनीहरुले बुक विल्ङिङ विधि लागू नगर्न तथा १० कित्ता नीतिलाई यथावत नै राख्नुपर्ने समेत नारा लगाएका थिए ।
तर आइतबारको बजार तथा लगानीकर्ता समूहहरुको विरोधपछि अर्थमन्त्रीले सेयर बजारबारे चासो राखेका थिए । अर्थमन्त्री जनार्दन शर्माले गभर्नर महाप्रसाद अधिकारीलाई फोन गर्दै चासो व्यक्त गरेका थिए ।
अर्थमन्त्रीको सक्रियाताको सकारात्मक असर सोमबारको कारोबारमा देखिएको छ ।
सोमबारको कारोबारमा १ करोड ७८ हजार ६८ लाख १६६ कित्ता सेयर ९ अर्ब ८२ करोड ६२ लाख २२ हजार ८०६ रुपैयाँमा कारोबार भएको छ । यो दिन २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा ८ वटा कम्पनीको मात्रै सेयर मूल्य घटेको छ भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ विकास बैंक ९.८१ प्रतिशत, फाइनान्स ९.०६ प्रतिशत, जलविद्युत् ८.७५ प्रतिशत, होटल तथा पर्यटन ६.३६ प्रतिशत, लगानी समूह ६.६७ प्रतिशत, जीवन बीमातर्फ ५.०३ प्रतिशतले वृद्धि देखिएको छ ।
यो दिन ५० भन्दा बढी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यो दिन सबैभन्दा बढी कमाउने शीर्ष कम्पनीहरू