देशभरमा सबैभन्दा बढी घरजग्गा किनबेच हुने स्थानको जग्गाको सरकारी मूल्याङ्कन कति ?




काठमाडौं । देशभर १२६ वटा भूमिसुधार तथा मालपोत कार्यालय छन् । त्यसमध्ये सबैभन्दा बढी उपत्यका बाहिर रहेका विभिन्न मालपोत कार्यालयबाट उच्च रुपमा घरजग्गाको किनबेच हुँदै आएको छ ।

पछिल्लो सयम उपत्यकामा मात्रै नभएर अन्य शहरहरूमा जग्गा किनबेच गर्नेको संख्या उच्च रहेको भू-व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्कले देखाउँदछ ।

देशभर १ सय २६ मालपोत कार्यालयमा सबैभन्दा बढी किनबेच हुने स्थान हो भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरी । इनरुवा सुनसरीलेआर्थिक वर्ष २०७७/७८ मा उक्त मालपोत कार्यालयबाट मात्रै २७ हजार ९ सय ५५ घरजग्गाको किनबेच भएको छ ।

देशभरमा मालपोत कार्यालयबाट उच्च घरजग्गाको किनबेच हुने उक्त स्थानको जग्गाको मूल्य पनि अत्याधिक रहेको कार्यालयले जनाएको छ । मालपोत कार्यालयले सुनसरी इनरुवाले २०७५/७६ देखि हालसम्म सरकारी मूल्याङ्कन तोेकेको छैन् ।

यसले गर्दा चालु आर्थिक वर्षमा सो कार्यालयले १० देखि १५ प्रतिशतसम्म मूल्य बढाएको विभागको अनुमान छ । त्यस्तै कार्यालयले यसअघि नै इटहरी उपमहानगरपालिकामा रहेको वडा नम्बर १ (क) महेन्द्र राजमार्गासँग जोडिएको तथा कोशी राजमार्गसँग जोडिएका जग्गाहरूको मूल्य प्रति कठ्ठा १ करोड ३० लाख रुपैयाँ सरकारी मूल्याङ्कन गरेको थियो । उक्त जग्गाको मूल्यमा समायोजना भएमा प्रतिकठ्ठा करिब डेढ करोड पुग्ने विभागको दाबी छ ।

मालपोत कार्यालय इनरुवाले यसअघि नै १ करोड ३० लाख रुपैयाँ सरकारी मूल्याङ्कन गरेको थियो । त्यस्तै चालु आर्थिक वर्षमा सो क्षेत्रको मूल्याङ्कन समायोजन भएमा बबढ्न सक्ने विभागले जनाएको छ ।

कार्यालयले इटहरी महानगरपालिकामा रहेका जग्गाको मूल्य सडक र विकास पूर्वाधारको आधारमा २ लाखदेखि १ करोडसम्मको सरकारी मूल्याङ्कन गरेको पाइन्छ ।

त्यसैगरी देशभर सबैभन्दा बढी घरजग्गा किनबेच हुने दोस्रो स्थान हो बेलबारी मोरङ । बेलबारी मोरङले गत आवमा २६ हजार १ सय ५१ घरजग्गा किनबेच गरेको मालपोत कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा जग्गाको सरकारी मूल्याङ्कन तोेकेको छ ।

उक्त मालपोत कार्यालयले आफ्नो क्षेत्राधिकार रहेका जग्गाको मूल्याङ्कन न्यूनतम प्रतिकठ्ठा २ लाखदेखि अधिकतम ३२ लाख ५० हजार रुपैयाँ मूल्य तोकेको छ । जसमा कार्यालयले सडकको वर्ग अनुसारको पनि मूल्य तोकेको जनाएको छ ।

देशभरको जिल्ला मध्ये सबैभन्दा बढी जग्गाको कारोबार हुने भद्रपुर झापा पनि एक हो । भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुर झापाले गत वर्षमा कारोबार गरेको तथ्याङ्कका अनुसार सबैभन्दा बढी जग्गाको कारोबार गर्ने ३ नम्बरको सूचिमा रहेको छ । उक्त मालपोत कार्यालयले एक वर्षको अवधिमा २२ हजार ८ सय ५६ घरजग्गा किनबेच गरेको छ ।

भद्रपुर झापा मालापोत कार्यालयले ‘क’ वर्गको सडक खण्डको मूल्य प्रतिकठ्ठा १ करोड १० लाख रुपैयाँसम्म तोकेको छ । कार्यालयले शनिश्चरे विर्ताैमोड सडकसँग जोडिएका जग्गाको मूल्य १ करोड १० लाख रुपैयाँ तोकेको कार्यालयको सरकारी मूल्याङ्कनले देखाउँदछ ।

कार्यालयले आफ्नो क्षेत्राधिकार पर्ने सम्पूर्ण जग्गाको मूल्याङ्कनमा ‘क’ वर्ग वरिपरी रहेका जग्गाको मूल्याङ्कन प्रतिकठ्ठा १० लाखदेखि ३३ लाख रुपैयाँसम्म मूल्य कायम गरेको छ । कार्यालयले महेन्द्र राजमार्गसँग जोडिएको जग्गाको सो मूल्य तोकेको हो । साथै कार्यालयले वर्ग मिटरको आधारमा पनि मूल्य कायम गरेको जनाएको छ ।

गत आवमा २१ हजार ८ सय ३२ घरजग्गा किनबेच भई चौथो नम्बरमा रहेको जनकपुरधाम धनुषा मालपोत कार्यालयले पनि चालु आर्थिक वर्षको जग्गाको न्यूनतम मूल्याङ्कन तोकेको छ । कार्यालयले जनकपर उपमहानगरपालिा वडा नम्बर १ मा रहेको जग्गाको न्यूनतम मूल्याङ्कन १ करोड ५ लाख ७० हजार रुपैयाँ मूल्य तोकेको छ ।

जसमा कार्यालयले मिल्स एरियादेखि भानुचोकसम्मको दायाँ बायाँ पर्ने जग्गाको मूल्यङ्कन १ करोड बढी गरेको हो । साथै भानुचौकदेखि कदमचोकसम्म सडकको दायाँबायाँ पर्ने जग्गाको मूल्य ९२ लाख ९८ हजार तोकेको छ भने मिल्स एरिया देखि भानु चौक सम्मको सडकको मूल्याङ्कन प्रतिकठ्ठा १ करोड ९ लाख रुपैयाँ तोकेको छ । कार्यालयले सबै उक्त क्षेत्रधिकार रहेको जग्गाको मुल्य सडकको वर्गको आधारमा २० लाखदेखि १ करोड बढी तोकेको कार्यालयले जनाएको छ ।

देशभरको मालपोत कार्यालयमध्ये सबैभन्दा बढी घरजग्गा किनबेच गरी पाँचौं नम्बरमा रहेको विराटनगरेको जग्गाको मूल्य चालु आर्थिक वर्षमा १ करोढ बढी हुने अनुमान गरेको छ । यसअघि नै विराटनगरको जग्गाको मूल्य प्रतिकठ्ठा १ करोड रुपैयाँ कायम गरेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षमा १० देखि १५ प्रतिशत मूल्य बढाउँदा उक्त क्षेत्रको जग्गाको मूल्य प्रतिकठ्ठा १ करोड बढी हुने देखिन्छ । उक्त कार्यालयले यसखघि नै वर्ग र सुविधा अनुसार जग्गाको न्यूनतम मूल्य १७ लाखदेखि १ करोड रुपैयाँ कायम गरेको थियो ।


पुष्प दुलाल