आइपीओ ल्याउने भएपछि सर्वोत्तम सिमेन्टको सेयर कसले कसलाई बेच्यो ?



काठमाडौं । सर्वोत्तम सिमेन्टले साधारण सेयर जारी गर्ने भएपछि नियामक निकायदेखि सेयर बजारलाई प्रभाव पार्ने व्यक्तिलाई बिक्री गरेको खुलेको छ ।

सेयर मूल्य बढाउने उदेश्यले सर्वोत्तम सिमेन्टका सेयरधनीले प्रभावशाली व्यक्तिलाई सेयर बिक्री गरेको पाइएको छ ।

सर्वोत्तम सिमेन्ट १० हजार कित्ता सेयर धितोपत्र बोर्ड अध्यक्ष भिष्मराज ढुंगानाकी छोरी रेबिका ढुंगाना र नेप्से सीइओ चन्द्रसिंह साउदको श्रीमति शुसीला कुमारी बोहराले खरिद गरेका छन् ।

नियामक निकायका परिवारले सेयर किनेको समाचार अहिले यो विषय हट केक बनेको छ । उनीहरुलाई गोल्डेन सेयर दिएको हुनसक्ने आशंका धेरैको छ । यस विषयमा सम्बन्धित निकायले अनुसन्धान पनि थालेको छ ।

अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सीइओ साउदलाई ३ दिनभित्र स्पष्टिकरण बुझाउन निर्देशनसमेत दिइसकेको छ ।

सर्वोत्तम सिमेन्टमा शिखा अग्रवालको नाममा रहेको सेयर धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाको छोरी रेबिका र नेप्सेका सीइओ साउदको श्रीमति शुसीलाकुमारी बोहराले किनेको कम्पनी रजिष्ट्रारको कार्यालयले जनाएको छ ।

बुक बिडिङमा प्रतिकित्ता ७५० रुपैयाँ मूल्य तोकिएको उक्त सेयर नियामकका आफन्तलाई प्रतिकित्ता २५० सय रुपैयाँको दरले सेयर बिक्री गरिएको छ । जसको कारोबार नेप्सेको ओटीसी बजारबाट भएको हो ।

नियामक निकायमा बसेका ढुंगाना र नेप्से सीइओ साउदले व्यक्तिगत लाभ लिने गरेर सेयर किनेको जो कोहीले पनि सहजै अनुमान लगाउन सक्छन् ।

यस्तै सर्वोत्तम सिमेन्टका अध्यक्ष बिष्णु न्यौपानेले आफ्नो नाममा रहेको सेयर आइएमई समूहका हेमराज ढकाल, सेयर बजारका ठूला लगानीकर्ता अम्बिकाप्रसाद पौडेललाई सेयर बेचेका छन्। सर्वोत्तममा हेमराजका नाममा २ लाख कित्ता तथा अम्बिकाप्रसाद पौडेलको नाममा विभिन्न व्यक्तिसँग किनिएको गरेर १ लाख ५० हजार कित्ता सेयर छ ।

सर्वोत्तम सिमेन्टका अध्यक्ष न्यौपानेले सिमेन्टमा सबै क्षेत्रको प्रतिनिधित्व गराउनको लागि आफूले आग्रह गरेर नै ढकाल र पौडेललाई सेयर बेचेको कुरा स्विकार गरेका छन् । उनले नियामक र बजारलाई भने प्रभाव पार्न सेयर बिक्री नगरेको दावी गरेका छन् ।

यस्तै सर्वोत्तम सिमेन्टमा व्यवसायी दिपक मलहोत्राको नाममा ७५ हजार कित्ता तथा अर्का व्यवसायी चन्द्र टण्डनका नाममा समेत सेयर छ ।
सर्वोत्तम सिमेन्टको सेयर व्यवसायीलाई बिक्री गरेको विषयभन्दा पनि नियामक निकायका प्रमुख र नेप्सेको सीइओको छोरीलाई सेयर बिक्री गर्दा विवाद भएको हो ।

सर्वोत्तम सिमेन्टका सेयरधनीहरु बिष्णु न्यौपाने, मिनाकुमारी अग्रवाल, नेहा अग्रवाल, सिखा अग्रवाल, दुर्गाप्रसा न्यौपाने, टिका न्यौपाने, कुन्तीदेवी न्यौपाने, तेन्जिङले बेचेका छन् ।

हेर्नुहोस् सेयर खरिदबिक्रीको आधिकारिक डकुमेन्ट


पुष्प दुलाल