कसैलाई सर्वोत्तम सिमेन्टको ‘गोल्डेन सेयर’ दिन जरुरी छैन, झुटो हल्ला फैलाइयो: बिष्णु न्यौपाने



बुक बिल्डिङ प्रणालीमार्फत् आइपीओ जारी गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयर ढुंगानाकी छोरी रेविका ढुंगानाले खरिद गरेको विषय अहिले हटकेक बनेको छ । अमेरिका बस्ने ढुंगानाको छोरी रेबिकाले १० हजार कित्ता सेयर किनेकी थिइन् । सर्वोत्तम सिमेन्टका लगानीकर्ताहरुले धितोपत्र बोर्डबाट आफू अनुकुल निर्णय गराउन अध्यक्षकी छोरीलाई गोल्डेन सेयर दिएको भन्ने आरोप समेत लागेको छ । तर, यसलाई धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना र सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपाने यो आरोपलाई सीधै अस्वीकार गर्छन् । उता अर्थ मन्त्रालयले भने ढुंगानामाथि छानविन गर्ने तयारी थालेको छ । सत्यतत्थ्य कुरा छानविनपछि नै आउला । यो प्रकरणले सर्वोत्तम सिमेन्टको आइपीओ विवादमा मात्रै परेको छैन, बुक बिल्डिङ प्रणालीमार्फत् जारी हुने सार्वजनिक निष्काशनमा चलखेलको गंभीर आशंका पैदा भएको छ । यसै विषयमा केन्द्रित रहेर सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु न्यौपानेसँग क्लिकमाण्डुले गरेको कुराकानीः

बुक बिल्डिङ विधिमार्फत् आइपीओ ल्याउन लागेपछि नियामकलाई प्रभाव पार्न तपाईंले सर्वोत्तम सिमेन्टको गोल्डेन सेयर दिएको आरोप लागेको छ । वास्तविकता के हो ?

तपाईंले मसँग सेयर लिनुभयो र अर्कोलाई बेच्नुभयो । कम्पनीले बेचेको छैन । कम्पनीमा रहेका संस्थापक सेयरधनीले बेचेका हुन् । म आफूलाई थाहा हुने भनेको सेयर बेचेपछि नामसारीको प्रक्रिया गर्ने बेलामा हो । सूचिकृत कम्पनीको स्टक ब्रोकरले गर्ने हो । लिमिटेड कम्पनीमात्र भएको हुँदा ओटीसीमार्फत् कारोबार हुन्छ । यसको मूल्यको बारेमा प्रश्न उठाइएको छ । जुन गलत छ । गोल्डेन सेयर भनिएको छ त्यो त झनै गलत छ । जुन बेलामा कारोबार भएको छ । त्यो बेला सेयर बजार बढेको थिएन । त्यो बेला शिवम् सिमेन्टको दोस्रो बजारमा ६ सय रुपैयाँजति थियो । त्यो बेला म आफैंले भनेको थिए कि हाम्रो सेयर प्रतिकित्ता ५ सय रुपैयाँमा पनि नबिक्न सक्छ । नेप्से परिसूचक १२ सय अंकमा रहेकोमा अहिले ३ हजार अंकमा पुगेको छ । जसले गर्दा सूचिकृत कम्पनीको मूल्य बढेको हो ।

अर्को विषय म आफू र कम्पनीलाई धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सीइओको श्रीमतिलाई सेयर दिएर के फाइदा हुन्छ ? सर्वोत्तम सिमेन्टले ल्याउन लागेको आइपीओ बुक बिल्डिङ विधिबाट हो । यसमा नियामक निकाय र नेप्सेको केही पनि भूमिका हुँदैन । बुक बिल्डिङ प्रणालीका लागि बिडिङ गर्नका लागि योग्य कम्पनीले मूल्य तय गर्ने हो । त्यसबाट आएको मूल्यबाट कम्पनीले १० प्रतिशत मूल्य घटाएर पब्लिकलाई सेयर जारी गर्ने हो ।

आइपीओ ल्याउन प्रक्रिया शुरु गरेपछि बोर्ड अध्यक्षकी छोरी, नेप्से सीइओको श्रीमति र इस्यु म्यानेजरसँग सम्बन्धित व्यक्तिले सेयर किनेपछि अनियमिताको आंशका गर्नु स्वभाविक होइन र ?

तपाईंले कुनै पनि कम्पनी खोलेपछि यसरी सेयर दिएको बेला के फाइदा हुन्छ ? धितोपत्र बोर्डको नियामक निकायको प्रमुखको परिवारलाई सेयर दिएर के फाइदा हुन्छ । मलाई फाइदा हुने भनेको निर्माण क्षेत्रसँग सम्बन्धित कम्पनीलाई सेयर दिएको बेला हुने हो । धितोपत्र बोर्ड अध्यक्षको परिवारका सदस्यलाई सेयर दिएर मलाई केही फाइदा छैन । धितोपत्र बोर्ड अध्यक्षसँग सिमेन्ट उद्योगको काम नै के हुन्छ ?

सर्वोत्तम सिमेन्टको सेयर मूल्य बिडिङबाट नै तय हुने हो । तर, तपाईंले मूल्य बढी लिनकै लागि नियामकका परिवारलाई गोल्डेन सेयर दिएको होइन भनेर कसरी पत्याउने ?

नियामक निकायको प्रमुखसँग कानूनले लिन मिल्ने धेरै कम्पनीको सेयर लिनु भएको होला । मैले भोलिका दिनमा सेयर कर्नरिङ गरँे भने कारवाही होला । तपाईंले गोल्डेन सेयर भन्नु भएको छ । त्यो के हो मलाई थाहा छैन ।

अहिले चन्द्रागिरि हिल्स कम्पनीको दोस्रो बजारमा १७ सय रुपैयाँको हाराहारीमा मूल्य छ । तर, संस्थापक सेयरधनी त २५० रुपैयाँमा बेच्न तयार छन् । संस्थापक सेयरधनीलाई अहिले चन्द्रागिरि हिल्समा नाफा नभएको कुरा थाह छ नि ।

सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता सेयर जारी गर्न लागेको छ । भोलिका दिनमा कम्पनीले व्यवसाय बढाउँदै गएमा मूल्य बढ्ने हो । अहिले शिवम् सिमेन्टको मूल्य बढेको छ । शिवम्ले ३० प्रतिशत प्रतिफल दिएको छ । उसले होङ्सी सिमेन्टमा गरेको लगानीबाट पनि प्रतिफल आउने छ भनेर हो । सर्वोत्तम सिमेन्टमा पनि लगानीकर्ताको चासो छ । गतवर्ष हामीले करिब १ अर्ब २५ करोड रुपैयाँ नाफा गरेका छौं ।

तपाईसँग उठेको प्रश्न तपाईंले कमाउनुभयो भनेर होइन । प्रालिलाई लिमिटेड बनाएर पब्लिकलाई सेयर जारी गरेर पारदर्शी हुन खोज्नु भएको छ । बुक बिल्डिङबाट आइपीओ ल्याएर पूँजी बजारमा वास्तविक क्षेत्रको कम्पनी भित्र्याउन खोज्नु भएको छ । तर, आइपीओको प्रक्रिया शुरु भएपछि सेयर बजारको नियामक निकायको प्रमुखको छोरी, नेप्सेको सीइओ श्रीमति र इस्यु म्यानेजरसँग सम्बन्धित व्यक्तिलाई सस्तोमै सेयर दिनुले दालमा केही कालो छ भन्ने संकेत गर्दैन र ?

ग्लोवल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको सहायक कम्पनी हो । ग्लोबल आइएमई बैंकमा व्यक्तिगतरुपमा सबैभन्दा ठूलो सेयरधनी म हो । यहाँ बुक बिल्डिङबाट आइपीओ कसैले ल्याएको छैन । म आफूले ट्रेण्ड बसाल्न खोजेको हो । तर, यो निकै कठिन रहेन छ । हामीले सेयर निष्कासन प्रक्रिया शुरु गरेपछि नियम परिवर्तन गरेको भए प्रश्न उठ्ने हो । नियम त कुनै परिवर्तन भएको छैन । कर्नरिङ गरेको बेला कारवाही गर्ने हो ।

भारतलगायतका देशमा आइपीओमा जाने भनेको बुक बिल्डिङबाट हो । संसारभर नै आइपीओमा ल्याउन थालेपछि भेञ्चर क्यापिटललाई सेयर दिने हो । चन्द्र ढकालजीलाई हामीले बोलाएरै सेयर दिएको हो । यस्तै निर्माण व्यवसायी कम्पनीलाई पनि सेयर दिएको छ । चन्द्र ढकालले चन्द्रागिरि हिल्सको सेयर लिन हुने सर्वोत्तम सिमेन्टमा ०.१ प्रतिशत सेयर लिन नपाउने भन्ने त हुँदैन होला नि । इस्यु म्यानेजरको रुपमा ग्लोबल आइएमई क्यापिटललाई राख्न मिल्छ कि मिल्दैन भनेर हामीले कानूनी राय लिएका थियाैं । ग्लोबल आइएमई बैंक बिडिङ गर्न योग्य कम्पनी हो । उसले पनि सर्वोत्तमको सेयर किन्न पाउँछ । कानूनले दिएको आधारमा काम गर्न पाइन्छ ।

लिनेले किन लियो भन्ने कुराको उत्तर मैले दिन सक्दिन । २५० रुपैयाँको दरमा कारोबार भएको छ । कानून हेरेर लिने हो । मैले यसमा स्पष्टिकरण दिन जरुरी पनि थिएन । यस्ता कुराले लगानीकर्ताको मनोविज्ञान कमजोर हुने कुरा तपाईँहरु मिडियाका साथीहरुले पनि ख्याल गर्नुपर्छ ।

यसलाई अझ प्रष्ट भाषामा भनिदिनुहुन्छ कि ?
म आफूले सेयर बेच्ने भएपछि किन्नेले कानून हेर्ने हो । कानूनले सेयर किन्न दिएको छ । बुक बिल्डिङ प्रोसेसमा नियामक निकायले के गर्न सक्छ ? कर्नरिङ गरेर अस्वभाविकरुपमा मूल्य माथि पुर्याएमा कारवाही गर्ने हो । भोलिका दिनमा धितोपत्र बोर्डले हेर्छ भनेर कसैले पनि सेयर बेच्दैन । मेरो अर्को कम्पनी सर्वोत्तम स्टीलको सेयर बेच्दा कम्पनीले बेचेर प्रिमियम लिएको छ । सर्वोत्तम सिमेन्टमा बेच्ने एउटा व्यक्ति हो किन्ने अर्को व्यक्ति हो । कुनैपनि सेयरधनीले सेयर बेच्दा कम्पनीलाई सरोकार हुँदैन । तपाईंहरुको सोचाइ नै गलत छ । कानूनीरुपमा किन्न पाउनेले सेयर किन्न त पाउनुपर्यो नि ।

धितोपत्र बोर्डका अध्यक्षकी छोरीलाई कसको नाममा हरेको सेयर ट्रान्सफर भएको छ ?

शिखा अग्रवालजीको नाममा भएको सेयर बिक्री भएको हो । उहाँ हाम्रो कम्पनीको पूरानो संस्थापक लगानीकर्ता हो । म फेरि दोहोर्याउँछु कि गोल्डेन सेयर दिएको होइन ।

म आफूलाई चन्द्र ढकालजीले सेयर किनेको थाह थियो । उहाँ आबद्ध कम्पनीमा पनि म आफूले सेयर किनेको छु । तर, मलाई ढुंगानाजीको छोरी र साउदजीको श्रीमतिले सेयर किनेको शुरुमा थाहा नै थिएन । अहिले पनि सर्वोत्तमको साढे ३ सय रुपैयाँमा संस्थापक सेयर बेच्न लगानीकर्ता छन् । कोही किन्न चाहन्छन् भने हामी बेच्न तयार छौं ।

तपाईंले सेबोन अध्यक्ष ढुंगानालाई अमेरिकामा भेटेर सेयर किन्न आग्रह गर्नुभएको भनेर त स्वयम् ढुंगानाले पनि स्वीकार गरिसक्नु भएको छ नि ?

मैले अघि नै भने नि हाम्रो संस्थापक सेयर किनबेच भइरहेको हुन्छ । मेरो मामा ससुरा मणि ढुंगानाले भिष्मजीलाई सेयर किन्न आग्रह गर्नुभएको सत्य हो । मैले होइन । मैले आग्रह गरेको भए त मेरै नामको सेयर उहाँलाई दिन्थे होला नि ।

ल तपाईं नै मलाई भनिदिनुहोस् धितोपत्र बोर्डका अध्यक्षको छोरीलाई मेरो कम्पनीको सेयरधनी बनाएर मलाई के फाइदा हुन्छ ? सिमेन्ट उद्योग बैंक र बीमाजस्तो लाइसेन्सवाला कम्पनी त होइन । मैले के फाइदा लिनसक्छु । चोरी गरेको शंका गर्दा के फाइदा गर्छ भनेर हेर्नुपर्ने होइन र ? यो सेयर बिक्री भएको मणि ढुंगानामार्फत् हो । मणिजी मेरो आफन्ती हो । र, भिष्मजीको साथी हो । उहाँले अमेरिका जाँदा भिष्मजीको छोरीलाई चिनेको हुँदा सेयर बिक्री भएको हो । यहाँ बेच्ने साथीले बेचेको हो ।

धितोपत्र बोर्डका अध्यक्षकी छोरीलाई, नेप्सेको सीइओकी श्रीमतिलाई चाहीँ २५० रुपैयाँमै सेयर दिने अनि आम सर्वसाधारणले चाहीँ ७५० रुपैयाँ हालेर किन्नुपर्ने ?

हामीले बुक बिडिङमार्फत् ७५० रुपैयाँमा मूल्य भनेको हो । तर, बिडिङ गर्नेले ७५० रुपैयाँमा किन्छ भन्ने ग्यारेन्टी छैन । संस्थापक सेयर त अहिले पनि २५० देखि ३०० रुपैयाँमा किनबेच भइरहेको छ । त्योे हुँदा यसलाई विवाद बनाउनुपर्ने कुरा छैन ।

तपाईंले विवाद बनाउनु पर्ने कुरा छैन भने पनि विवाद भइसकेको छ । अब सर्वोत्तमको आइपीओ कसरी अगाडि बढ्छ ?

सेयर खरिदबिक्री कानूनी प्रक्रियामा भएको छ । बेच्नेले पैसा लिएर आफूले तिर्नुपर्ने कर तिरेको छ । किन्नेले कानूनले दिएपछि नै किनेको छ । यसमा विवाद गर्नुपर्ने कुरा छैन । बुक बिल्डिङ विधिमार्फत् नै सर्वोत्तमको आइपीओ आउँछ । हामी अझैसम्म धितोपत्र बोर्डमा आवेदन दिन गएका छैनौं । केही महिनाभित्र सबै प्रक्रिया पूरा गरेर आवेदन दिन्छौं । हाम्रो कम्पनीले राम्रो नाफा कमाइरहेको छ । त्यसैले सर्वोत्तमको सेयरमा आम सर्वसाधारणको आकर्षण अत्यधिक हुने हाम्रो विश्वास छ ।


पुष्प दुलाल