विद्युत् प्राधिकरणसँग उर्जामन्त्री भुसाल असन्तुष्ट, डेडिकेटेड र ट्रंकलाइनको १५ अर्ब उठाउन निर्देशन



काठमाडौं । उर्जामन्त्री फम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापनसँग असन्तुष्ट व्यक्त गर्दै फेरि कुलमान घिसिङलाई ल्याउने संकेत गरेकी छन् ।

आइतबार प्राधिकरणमा ब्रिफिङ लिँदै मन्त्री भुसालले प्राधिकरण व्यवस्थापन पूर्णरुपमा असफल भएको भन्दै आफूले नयाँ कमद चाल्ने बताइन् ।

‘प्राधिकरण पछिल्लो समयमा आएर पूर्णरुपमा असफल भएको देखिएको छ । मैले बाहिर पनि कुरा बुझिरहेकी छु, छिट्टै नयाँ कदम चाल्नेछु,’ उनले भनिन् ।

मन्त्री भुसालले विद्युत् चुहावट नियन्त्रण गर्न नसक्दा १७ प्रतिशत पुगेको, नाफा ५ अर्बमा सीमित भएको र बढाउन नसकेको, लोडसेडिङ हटेपनि झ्यापझ्याप विजुली काटिने समस्या समाधान नभएको र प्राविधिक र प्रशासनिक कमजोरी बढी देखिएको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

उनले आफूले प्राधिकरणको व्यवस्थापन सुधार गर्नका लागि नयाँ कदम चाल्ने बताइन् ।

यता प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रमान शाक्यले कोरोना महामारीका कारण विद्युत् चुहावट नियन्त्रण गर्न नसकिएको, कर्मचारी खटाउन समस्या भएको र विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीबाटै असहयोग भएको बताएका थिए ।

उनले सरकारले विभिन्न उद्योगी व्यवसायलाई विद्युत्मा छुट दिएको र सोको शोधभर्ना वापतको ३ अर्ब र ट्रंकलाइन र डेडिकेटेडको १८ अर्ब रुपैयाँ बढी नउठ्दा नाफा नबढेको बताएका थिए ।

त्यसैगरी प्राधिकरणका ट्रेड युनियनका अध्यक्ष रामेश्वर पौडेलले कुलमान घिमिङको प्रशंसा गदैै कुलमानको पालामा सबै व्यवस्थित रहेको भन्दै अहिले सो नभएको बताएका थिए ।


क्लिकमान्डु