डेडिकेडेट-ट्रंकलाइन विद्युत् महशुल विवाद समाधान गरिदिन भन्दै व्यवसायीले भेटे ऊर्जामन्त्री



काठमाडौं । लामो समयदेखि विवादमा रहेको डेडिकेटेड-ट्रंकलाईनको बक्यौता महशुल सम्बन्धी समस्या समाधान गरिदिन भन्दै उद्योगी–व्यवसायीहरुले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायीहरुले उर्जामन्त्री भुसाललाई मंगलबार भेटेका हुन् ।

महासंघको प्रतिनिधि टोलीले डेडिकेडेट-ट्रंकलाइ विद्युत् महसुल विवादलाई शीघ्र समाधान गरिदिन भन्दै भुसालसँग आग्रह गरेको थियो ।

तत्कालिन विद्युत् महसुल निर्धारण आयोगको २०७२ पुस २९ गते बसेको १०३ औं र २०७३ असार १६ मा बसेको १०८ औं बैठकबाट कायम भएको महसुल दर सम्बन्धमा भएको निर्णय बारे पनि महासंघका प्रतिनिधिले मन्त्री भुसाललाई जानकारी गराएको थियो ।

आयोगको १०३ औं बैठकले प्राधिकरणको डेडिकेडेट फिडर लाइन मार्फत दैनिक निरन्तर विद्युत उपभोग गर्ने उपभोक्ताको हकमा लागु हुने महसुल दर २०७२ पौष २९ पश्चात दैनिक निरन्तर २४ घण्टा विद्युत उपभोग गर्ने डेडिकेडेट लाइनका ग्राहकलाई मात्र लागु हुने भनि निर्णय गरेको छ ।

महासंघसँगको भेटपछि मन्त्री भुसालले डेडिकेटेड तथा ट्रंकलाइन विद्युत् महशुल विवादमा उद्योगी–व्यवसायीका गुनासोका विषयमा आफूले कानुनी विधि र प्रक्रिया बुझेर निर्णय लिने बताइन् ।

साथै भुसालले बढी ऊर्जा खपत गर्ने उद्योगलाई कम महशुल लाग्ने व्यवस्था लागु गर्ने विषयमा अध्ययन अघि बढाउने पनि बताइन् ।


क्लिकमान्डु