देशभरका मालपोत कार्यालयबाट दैनिक ५० करोड बढी राजश्व संकलन, कारोबार समेत बढ्यो



काठमाडौं । भूमि, व्यवस्थापन तथा अभिलेख विभागले देशभरका भूमिसुधार तथा मालपोत कार्यालयबाट दैनिक ५० करोडभन्दा बढी राजश्व संकलन गरेको छ । विभागले देशभरको मालपोत कार्यालयमा भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली (एलआरआईएमएस) सञ्चालनमा ल्याएको छ ।

सो प्रणाली सञ्चालन ल्याएसँगै देशभरका मालपोतका कार्यालयबाट दैनिक ५० करोडभन्दा बढी राजश्व संकलन गर्न थालेको हो ।

विगतको दिनमा १ सय ८ वटा मालपोत कार्यालयमा मात्रै एलआरआईएमएस लागू हुँदा उक्त कार्यालयको मात्रै अनलाइनमार्फत् कारोबार गर्ने गरेको थियो ।
विभागका सुचना अधिकारी विष्णु के महतका अनुसार विगतको दिनमा देशभरको मालपोत कार्यालयको विवरण एकरुपता विभागमा समावेश हुँदैनथ्यो ।

अहिले अनलाइन प्रणाली सञ्चालनमा ल्याएसँगै देभभरका मालपोत कार्यालयको विवरण उपलब्ध भई राजश्व बढी देखिएको बताए ।

सामान्य अवस्थामा दैनिक ३० करोडसम्म राजश्व संकलन गर्दै आएको विभागले अहिले दैनिक ४० करोडभन्दा बढी राजश्व संकलन गर्दै आएको छ । कोरोना महामारीका कारण लामो समय रोकिएको कारोबार अहिले हुन थालेकाले पनि कारोबारसँगै राजश्व संकलन बढेको उनको बुझाइ छ ।

विभागका अनुसार आइतबारदेखि बुधबारसम्ममा देशभरका मालपोत कार्यालयबा ३१ हजार घरजग्गाको कारोबार हुँदा १ अर्ब ७२ करोड २० लाख २० हजार राजश्व संकलन गरेको छ ।

विभागले आइतबार देशभर रहेको १ सय १४ वटा मालपोत कार्यालयले ७ हजार ६ सय ८ सेवा प्रवाह गर्दा ३८ करोड ७९ लाख ८९ हजार राजश्व संकलन गरेको छ । सोमबार देशभरका १ सय १७ वटा मालपोत कार्यालयले ८ हजार १ सय ३२ सेवा प्रहाव हुँदा ३६ करोड ४८ लाख ४४ हजार राजश्व संकलन गरेको छ ।

त्यसैगरी मंगलबार १ सय १७ वटा मालपोत कार्यालयले ७ हजार १ सय ६१ सेवा प्रवाह गर्दा ४३ करोड ७५ लाख २५ हजार राजश्व संकलन गरेको छ ।

साथै, बुधबार देशभरका १ सय १३ वटा मालपोत कार्यालयले ९ हजार १ सय सेवा प्रवाह गर्दा ५३ करोड २६ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन गरेको छ ।


क्लिकमान्डु