उपत्यकामा ४ आनाको जग्गामा साढे २ तले घर बनाउन कति खर्च लाग्छ ?



काठमाडौं । के तपाईं काठमाडौं उपत्यकाभित्र घर बनाउने योजना बनाउँदै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने सम्पूर्ण खर्च कति लाग्छ भन्ने थाहा नहुन सक्छ । घर बनाउँदा प्रायजसो सोचेको र निर्धारित बजेटभित्र बनाउन निकै गाह्रो हुन्छ । यो वा त्यो तरिकाले बजेट तल  माथि बढी भइहाल्छ ।

कतिपय मानिसमा घर निर्माण गर्नुभन्दा अगावै विगतको दिनमा घर बनाइसकेको आफ्नो आफन्त, साथीभाइलाई सोध्ने प्रचलन हुन्छ । यसले गर्दा पनि केही मानिसहरूले आफ्नो घर निर्माणका लागि सहज बनाउँछ । तर, घर निर्माण गर्ने क्रममा बजारमा भएको मूल्य वृद्धिले पनि धेरै फरक पार्न सक्छ ।

पछिल्लो समय घर निर्माणका लागि आवश्यक डण्डी वा छड, बालुवा, इट्टालगायत रङरोगनको सामग्रीको मूल्य पनि अत्यधिक बढेको छ । त्यसैले अहिले चार आनाको जग्गामा साढे दुई तलाको घर निर्माण गर्न कति खर्च लाग्छ भन्ने विषयमा हामीले विज्ञसँग कुराकानी गरेका छाैं ?

चार आनामा साढे २ तले घर बनाउनका लागि आरसीसी अर्थात् पक्की घर र फ्ल्याट सिस्टममा बनाउने घरमा भुई तल्ला भाडा दिन सकिन्छ भने बाँकी साढे एक तला आफू बस्नका लागि प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो समयमा उपत्यकामा घर निर्माणको कार्य तीब्र रुपमा बढ्दै गएकाले उपत्यका केन्द्रित चार आनामा घर बनाउने खर्च पनि बढेको छ । पहाडी तथा अन्य जिल्लामा ढुवानी गर्नलगायत सामग्रीको उपलब्धता नभएका कारण उपत्यकाभन्दा बढी खर्च हुनसक्छ । तर, तराई जिल्लामा सिमेन्ट, इट्टा उद्योग नजिकै भएमा उपत्यकाभन्दा सस्तोमा घर निर्माण गर्न सक्नेछन् ।

चार आनाको जग्गामा साढे दुई तला घर २५ सय स्क्वाइर फिटमा निर्माण गर्न सकिन्छ । साढे दुई तलाको घर निर्माण गर्दा स्ट्रक्चर र फिनिसिङ गरी दुई भागमा विभाजन गरी खर्च निकाल्न सकिने मेरो घरका सीइओ अर्थात् इञ्जिनियर विपिन गैरे बताउँछन् ।

उनका अनुसार स्ट्रक्चरमा डण्डी, फर्मा, ढलान, प्लास्टर, कोरोमसिनो र चौकसको काम समावेश हुनेछ । साथै फिनिसिङमा टायल, मार्वल, बत्ति, स्यानिटरी, रङ, झ्याल र ढोकाको सामग्रीहरू समावेश गर्न सकिने उनले बताए । यसले गर्दा आफ्नो बजेटको स्टिमेट तय हुन सहज हुने उनको भनाइ छ ।

इञ्जिनियर विपिन गैरे

सबैभन्दा आम मानिसले घर निर्माण गर्दा स्ट्रक्चरको खर्च निकाल्ने गर्दछ । सोही अनुसार पहिलो चरणमा स्ट्रक्चर निर्माण गर्दा कुन सामग्रीलाई कति खर्च लाग्छ भन्ने विषयमा उल्लेख गरेको छ ।

स्ट्रक्चर निर्माणको खर्च
डण्डीः साढे दुई तलाको घर निर्माण गर्दा १५ टन अर्थात १५ हजार केजी डण्डी आवश्यक पर्दछ । अहिले बजारको मूल्य प्रतिकेजी १२० रुपैयाँ पुगेको छ । केही महिना अघिसम्म अधिकतम १ सय रुपैयाँ रहेको डण्डीको मूल्य अहिले बढेर १२० रुपैयाँ पुग्दा महंगो पर्न जान्छ । त्यसमा पनि असारमा अत्यधिक डण्डीको मूल्य बढेकाले हाल बनाउन शुरु गर्ने व्यक्तिहरूले विगतको तुलनामा धेरै महंगोमा किन्नुपर्ने बाध्यता हुन सक्छ । अहिले खरिद गर्दा र कामको ज्याला गरेर प्रति केजी १ सय ४० रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको छ । ‘केही समय अघि डण्डीका लागि मात्रै १६ लाख रुपैयाँ खर्च हुन्थ्यो भने अहिले डण्डीलाई २० लाख रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था रहेको छ,’ उनले भने । तर, केही समयपछि सो मूल्य घटेमा सोही मूल्यका कायम हुन सक्दछ ।

सिमेन्टः त्यस्तै घर निर्माण गर्दा सबैभन्दा महत्वपूर्ण हो सिमेन्ट । सामान्यतया साढे दुई तलाको घर निर्माण गर्दा १ हजारदेखि १२ सय बोरा सिमेन्ट आवश्यक पर्दछ । जसमा ६ सय बोरा ओपीसी सिमेन्ट र ५ सयदेखि ६ सय बोरा पीपीसी सिमेन्टको आवश्यक पर्दछ । ओपीसी सिमेन्ट ढलान गर्न प्रयोग गरिन्छ भने पीपीसी सिमेन्ट प्लास्टर तथा जोडाइमा प्रयोग गरिन्छ । विगतको दिनमा ओपीसी सिमेन्टको मूल्य प्रति बोरा ७६० रहेकोमा अहिले ८१० रुपैयाँ पुगेको छ भने पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६६० रुपैयाँबाट बढेर ७ सय १० पुगेको छ । त्यसैले यसमा करिब ९ लाखसम्म खर्च हुनेछ ।

ईँट्टाः यस प्रकारको घर निर्माणका लागि करिब ६० देखि ७० हजारसम्मको इट्टाको आवश्यक पर्दछ । काठमाडौंमा ईट्टाको मूल्य प्रतिगोटा १६ देखि १७ रुपैयाँमा पाइन्छ । ईँट्टाका लागि मात्रै तपाईंले ११ लाखसम्मको किन्नुपर्नेछ ।

गिट्टी तथा बालुवाः त्यस्तै घर निर्माणका लागि १० गाडी गिट्टी लाग्छ भने बालुवा पनि ठूलो १० गाडी आवश्यक पर्दछ । त्यसमा अहिले बालुवाको मूल्य बढेर प्रतिगाडी २६ हजार पुगेको छ भने गिट्टीको मूल्य १८ हजारबाट बढेर प्रति गाडी २६ हजार पुगेको छ । त्यसैले अहिले घर निर्माण गर्न चाहनेका लागि मूल्य महंगो पर्नेछ । उक्त सामग्रीका लागि करिब ३÷३ लाख रुपैयाँ छुट्याउन आवश्यक रहेको छ ।

सामान्यतया डण्डी, गाह्रो र ढलानको कामलाई बराबर पैसा लाग्छ । जसमा गाह्रो तथा ढलानमा सामान्यतया १५ देखि २० लाखसम्म खर्च हुनेछ । त्यस्तै प्लास्टरका लागि ५ लाख जति खर्च लाग्छ भने कोरामसिनो गर्नका लागि ३ लाख रुपैयाँ खर्च लाग्ने इन्जिनियर विपिन गैरेको भनाइ छ जानकारी दिए ।

त्यस्तै करिब २ लाख मूल्य बराबरको चौकस लाग्छ । उक्त चौकसमा नेपाली साल प्रयोग गर्ने वा भारतीय साल प्रयोग गर्ने त्यसमा भर पर्दछ । घर निर्माण गर्दा ढोकाको चौकसमा २ लाखसम्म खर्च हुनेछ । जसमा स्ट्रक्चर तयार गर्न ज्यालासहित करिब ६० लाख रुपैयाँ खर्च लाग्नेछ ।

फिनिसिङको खर्च
सामान्यतया फिनिसिङमा टायल, मार्वल, बत्ति, स्यानिटरी, रङ, झ्याल र ढोकाको सामग्रीलगायत अन्य सजावटको सामग्रीहरू पर्दछ । फिनिसिङमा सबैभन्दा पहिलो रङको लागि बजेट छुट्टयाउन आवश्यक पर्दछ । उक्त रङको लागि करिब ४ लाख जति छुट्टयाउनु पर्दछ । त्यस्तै टायल तथा मार्बलका लागि १० देखि १५ लाख रुपैयाँ छुट्ट्याउनु पर्नेछ । झ्यालका लागि भने अल्मोनियमको प्रयोग गर्ने हो भने लगभग ४ देखि ५ लाख रुपैयाँ यूपीभीसीको प्रयोग गर्ने हो भने लगभग ८ लाख रुपैयाँसम्म छुट्याउनु पर्नेछ । तर, काठको प्रयोग गरेमा १८ देखि २० लाख रुपैयाँसम्म खर्च हुनेछ ।

त्यस्तै आफ्नो घर उज्यालोका लागि प्रयोग हुने बत्तिका लागि ५ लाख रुपैयाँ लाग्छ भने स्यानिटरी अर्थात् धारा, शौचालय, बाथरुमका कामका लागि १० लाख रुपैयाँसम्म लाग्नेछ । जसमा सामान्यतया घरमा जति वटा बाथरुम बनाउने सोचमा बनाएका छन् त्यसका लागि २ लाख छुट्याउनु पर्नेछ ।

साथै, घरमा आवश्यक पर्ने फलामको काम जस्तै ग्रील, रेलिङ, भर्याङको रेलिङ अथवा बाहिरको रेलिङको कामका लागि लगभग ३ देखि ४ लाखसम्म छुट्याउनु पर्नेछ । त्यसैगरी घरको ढोकाको पल्ला र ढोकाको एसोसरिज चुकुल, ह्यान्डलको लागि ३ लाखसम्म खर्च लाग्नेछ ।

किचन क्याबिनेटका लागि २ देखि ५ लाख लाग्नेछ । त्यसमा आफ्नो बजेटअनुसार आफ्नो भान्साको सजावट गर्न सक्ने उनी सुझाउँछन् । जसमा फिनिसिङको कार्यका लागि ४० लाख खर्च गर्न सक्नेछन् ।

चार आनाको जग्गामा साढे २ तलाको घर निर्माण गर्दा स्ट्रक्चरमा ६० लाख र फिनिसिङमा ४० लाख गरी १ करोडमा घर निर्माण गर्न सक्नेछन् । तर, फिनिसिङको कार्यलाई बजेट अनुसार ८० लाखको पनि गर्न सक्ने उनको भनाइ छ । त्यसमा बजारमा पाइने सामग्रीमा गुणस्तर प्रयोग गर्ने वा माध्यम खालको प्रयोग गर्नेमा भर पर्दछ । साथै, आफ्नो घर कतिमा सक्ने भन्ने विषयमा फिनिसिङको सामग्रीले तय गर्दछ । त्यस्तै, घर निर्माणमा लागेको ज्यालामा भने १५ देखि २० प्रतिशत लाग्दछ । जसमा सिभिलमा १५ लाख फिनिसिङमा ५ लाख खर्च हुन्छ ।

घरको फिनिसिङका लागि इलेक्ट्रिसियनलाई १ लाख, प्लम्बरलाई १ लाख, टायल मार्बललाई २ देखि साढे २ लाख, रङको ज्याला डेढदेखि २ लाख छुट्याउनुपर्ने गैरेको अनुमान छ ।


क्लिकमान्डु