आन्दोलनरत कर्मचारीको माग पूरा गराउन बैंकर्स संघ मध्यस्थताको भूमिका निर्वाह गर्ने



काठमाडौं । अन्दोलनरत कर्मचारीको माग पूरा गराउनका लागि नेपाल बैंकर्स संघले पहल गर्ने भएको छ ।

कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा अवद्धताका लागि सहजिकरण गर्ने समन्वय संघले गर्ने भएको हो ।

पछिल्लो समय वित्तीय क्षेत्रका कर्मचारी कोषमा आवद्धताका लागि विभिन्न असन्तुष्टी जनाउँदै कोषको ऐन संशोधनको माग गरी आन्दोलनमा छन् ।

साथै, संस्था व्यवस्थापनले कोषमा आवद्धताको लागि जबरजस्ती गरेका व्यवस्थापनको समेत विरोध गर्दै राजीनामा दिने समेत कर्मचारीहरुले घोषणा गरिसकेका छन् ।

कर्मचारी आन्दोलनमै उत्रिएपछि वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघमा बिहीबार सो विषयमा छलफल भएको थियो । छलफलमा कर्मचारी संगठन र कोषबीच छलफल गराइ आपसी मतभेदमा समन्वय गराइने निर्णय भएको नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिल उपाध्ययले बताए ।

‘आन्दोलनमै कर्मचारी उत्रिएपछि त्यसमा हामीले सक्ने सहजिकरणको बाटो पहिलाउन खोजिएको हो,’ उनले क्लिकमाण्डूसँग भने, ‘कोषमा आवद्धता हुन कर्मचारीलाई सहज हुने गरी समन्वय गराइने र कोषका पदाधिकारी र वित्तीय क्षेत्रका कर्मचारी संगठन प्रमुखहरु बीच शान्तिपूर्ण छलफल गराइने निर्णय भएको छ ।’

कर्मचारी संगठनहरुको मागलाई सकेसम्म सम्बोधन गर्दै सामाजिक सुरक्षा कोषमा आवद्धता हुने वातावरण मिलाउने पहलमा बैंकर्स संघ रहेको उनले बताए । कर्मचारीको हक, हित र आपसी सहमति बिना व्यवस्थापनले जबरजस्ती कोषमा आवद्धता गराउन असहज हुने भएकाले समन्यवको बाटोमा संघ रहेको बताइएको छ ।

साथै, कोषको ऐन तथा कार्यविधिमा उल्लेखित व्यवस्थाको संशोधनको मागमा कर्मचारी आन्दोलनमका उत्रिएको विषय राष्ट्र बैंकमा जानकारी गराउने निर्णय समेत संघले गरेको छ ।

कर्मचारीको विमती व्यवस्थापनमा नभएर सरकारको योजनाअन्तर्गत आएको सामाजिक सुरक्षा कोषसँग भएको हुँदा नियमक निकाय र राज्य सयन्त्रमा यसको ध्यानाकर्षण गराउनु आवश्यक रहेको संघले बताइएको छ ।


क्लिकमान्डु