एक अर्ब रुपैयाँ बढी रकम मुद्दति खातामा राख्न बैंक खोज्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब रुपैयाँ बढी बैंक तथा वित्त कम्पनीको मुद्दति खातामा लगानी गर्ने भएको छ ।

मंगलबार केन्द्रीय बैंकले आफ्ना कर्मचारीको उपदान तथा पेन्सन वापतको १ अर्ब ५ करोड रुपैयाँ १ वर्षका लागि मुद्दति खातामा राख्न बैंक तथा वित्त कम्पनीलाई बोलपत्र आह्वान गरेको हो ।

कर्मचारी उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम राष्ट्र बैंकले वाणिज्य बैंकहरुको लागि ८४ करोड रुपैयाँ, विकास बैंकहरुलाई १५ करोड ७५ लाख रुपैयाँ र वित्त कम्पनीहरुको लागि ५ करोड २५ लाख रुपैयाँ मुद्दति खातामा राख्न छुट्याएको छ ।

उक्त रकम मुद्दति खातामा स्वीकार गर्नका लागि बैंक तथा वित्त कम्पनीलाई लिन चाहेको रकममा त्यसमा प्रस्तावित ब्याजदर उल्लेख गरी असार ९ गतेसम्म गोप्य शिलबन्दी पेश गर्न भनिएको छ । सो गोप्य शिलबन्दी बैंक तथा वित्त कम्पनीले पासपोड प्रोटेक्टेड पीडीएफ फाइल बनाएर राष्ट्र बैंकको तोकिएको इमेल पठाउनु पर्ने छ ।

उक्त रकम मुद्दति निक्षेपमा स्वीकार गर्नका लागि आवेदन दिने बैंक तथा वित्त कम्पनीहरु सञ्चालनमा आएको २ वर्ष पूरा भएको हुनुपर्ने, तोकिएको पुँजीकोष कायम गरेको हुनुपर्ने, खुद तरल सम्पत्ति निक्षेपको कम्तीमा २० प्रतिशत हुनुपर्ने, राष्ट्र बैंकको कुनैपनि कारवाहीमा ६ महिनायता नपरेको हुनुपर्ने लगायतका विभिन्न शर्तहरु राखिएको छ ।


क्लिकमान्डु