काठमाडौं महानगरपालिकाले १ सय बेडको अस्पताल चलाउने, मेलम्ची नगरलाई २ करोड दिने



काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक बर्ष २०७८/७९को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले बिहीबार महानगपालिकाको नवौं नगरसभा बैठकमा नीति–तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारलाई पहिलो प्राथमिकतामा राखेको छ ।

महामारीबाट प्रभावित महानगरबासीका लागि आवश्यकता र औचित्यका आधारमा महामारीका लागि प्रतिकार्य योजना, स्वास्थ्य उपचार र मानवीय सहायताका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘कोभिड–१९ बाट सङ्क्रमित भएका विरामीको स्वास्थ्य अवस्थाको निरन्तर निगरानी, परामर्श तथा उपचारको लागि कल सेन्टर सञ्चालन, मनोसामाजिक परामर्श, टेलिमेडिसिन सेवा, कोभिड परीक्षण, एम्बुलेन्स सेवा, आइसोलेसन सेवा, कोभिड विशेष अस्पताल सेवा र अक्सिजन सपोर्ट लगायतका सेवा निःशुल्क उपलब्ध गराइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

महानगरपालिकाले आगामी आर्थिक वर्ष विशिष्टीकृत सेवा दिने गरी १ सय शैय्याको सुविधासम्पन्न ‘काठमाडौं महानगर विशेष अस्पताल‘ स्थापना गर्ने मेयर शाक्यले बताए ।

‘ज्येष्ठ नागरिकको उपचार गर्ने विशिष्टीकृत सेवा सहितको सुविधा सम्पन्न १०० बेडको काठमाडौं महानगरविशेष अस्पताल निर्माण गरिनेछ । अस्पतालको सञ्चालन तथा व्यवस्थापन एक स्वायत्त संरचना वा सहकार्यबाट गरिनेछ । महानगरपालिकाका सबै वडा कार्यालयमा सञ्चालित शहरी स्वास्थ्य क्लिनिकको स्तरोन्नति गरी महानगरवासीलाई आधारभूत स्वास्थ्यसेवाको प्रत्याभूत गरिनेछ । विशेषज्ञ चिकित्सकद्वारा महानगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गर्ने प्रबन्ध मिलाइनेछ ।’

महानगरपालिका क्षेत्रभित्र महानगर सुलभ फार्मेसी सञ्चालन गर्न प्रोत्साहन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

‘फार्मेसी सञ्चालकहरूलाई महानगरपालिकामा बुझाउनुपर्ने कर, शुल्क, दस्तुरमा सहुलियत प्रदान गर्ने, नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम अन्तर्गत महानगरवासीको स्वास्थ्य बिमा गर्ने र महानगरवासीहरुका लागि बिमा शुल्कको ५० प्रतिशत अनुदान उपलब्ध गराईनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, खाजाघर, अनलाईन खाद्य वितरकको उत्पादन स्थल, खाद्य उत्पादन गुणस्तर, पद्दति, प्रक्रिया तथा संलग्न जनशक्तिको सरसफाई र सेवाग्राहीले खाना–खाजा उपभोग गर्ने स्थल समेतको समग्र अनुगमन गरी सेवाको गुणस्तर कायम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, काठमाडौं महानगरपालिकाले बाढी तथा पहिरो पीडितको राहत र उद्धारका लागि मेलम्ची नगरपालिकालाई २ करोड सहयोग गर्ने घोषणा गरेको छ ।
मेलम्ची नगरपालिका काठमाडा महानगरसँग भगिनी सम्बन्ध स्थापित नगर हो ।


क्लिकमान्डु