देशमा चर्चित भनिएका मान्छेहरू नै नशामा लठ्ठिने गरेका छन् : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय चर्चामा रहेका केही व्यक्तिहरू नशाको लतमा परेको अवस्थामा भेटिने गरेको टिप्पणी गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले चर्चित भनिएका व्यक्ति नै नशामा लठ्ठिएको अवस्थामा देखिनु चिन्ताजनक भएको बताए ।

यद्यपि, उनले कसलाई लक्षित गरेर यस्तो अभिव्यक्ति दिएका हुन् भन्ने स्पष्ट गरेनन् । ‘देशमा चर्चित भनिएका मान्छेहरू नशामा झुम्मिएका भेटिन्छन् । जसलाई अत्यधिक रूपमा चर्चामा ल्याउन खोजिएको छ, त्यस्ता व्यक्ति पनि नशामा लिप्त देखिन्छन्,’ ओलीले भने, ‘तर हाम्रा युवाहरूमा त्यस्तो दुर्व्यसन देखिएको छैन। मेरो आग्रह मानेर दुर्व्यसनमा रहेका व्यक्तिहरूले त्यसलाई त्यागे भने म निकै खुसी हुनेछु।’

अध्यक्ष ओलीले मुलुकको स्वाधीनताको रक्षा र सुदृढीकरणका लागि पार्टी कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न समेत आग्रह गरे।