गण्डकी प्रदेशः नयाँ सरकार बनेको ३ दिनभित्र नीति तथा कार्यक्रम, बजेट ल्याउने मन्त्रीको टुंगो छैन



काठमाडौं । शनिबार गण्डकी प्रदेश सरकार परिवर्तन भएसँगै नयाँ बनेको सरकारलाई छोटो समयभित्रै वार्षिक नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ ।

प्रदेश सरकारले आफ्नो वार्षिक बजेट हरेक वर्ष असार १ गते प्रदेश सभामा प्रस्तुत गरिसक्नुपर्छ । बजेट ल्याउनुभन्दा कम्तीमा १५ दिनअघि नीति तथा कार्यक्रम प्रदेश सभामा छलफलका लागि पेश गरिसक्नुपर्ने हो ।

तर गण्डकी प्रदेशमा भने सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भएको छैन । त्यस्तै, प्रदेश सभामा बजेट पेश गर्ने अर्थ मन्त्री को बन्छ भन्नेसमेत टुंगो छैन ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभा बैठक बोलाउँछन् । तर बैठकका लागि कुनै मिति सिफारिस भएर नआएको गण्डकी प्रदेश सभा सचिवालयका सूचना अधिकारी जितेन्द्रजंग केसीले जानकारी दिए ।

गण्डकी प्रदेशमा आइतबार सरकार बिस्तार हुने, सोमबार नीति तथा कार्यक्रम र मंगलबार बजेट सार्वजनिक हुने अनुमान गरिएको छ । अथवा प्रदेश सरकारले मंगलबार नै नीति तथा कार्यक्रम र बजेट एकैदिन प्रदेश सभामा पेश हुने सम्भावना पनि देखिएको छ ।

नेकपा एमालेको पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेसँगै शनिबार नयाँ सरकार बनेको छ । नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा गण्डकी प्रदेशमा नयाँ सरकार बनेपनि मन्त्रीहरु भने नियुक्त भएका छैनन् ।

आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट पेश गर्नुपर्नेछ ।

संवैधानिक व्यवस्था पालना गर्ने हो भने आइतबार नै मन्त्रिमण्डल बनेपनि नयाँ बन्ने अर्थमन्त्रीले २ दिनभन्दा छोटो समयमा मात्रै बजेट ल्याउनु पर्नेछ । मंगलबार अनिवार्य रुपमा बजेट सार्वजनिक गर्नुपर्नेछ ।


क्लिकमान्डु