पाठ्यपुस्तकमा पुरानो नक्सा छाप्ने प्रकाशनलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठले पुरानो नक्सा छापेर बिक्री गरेको पुस्तक जफत गर्न निर्देशन दिएका छन् ।

केही निजी प्रकाशकले नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारी पाएपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन् ।

पाठ्यक्रम विकास तथा मूल्याङकन परिषदको आज सम्पन्न ८८औं बैठकमा मन्त्री श्रेष्ठले पुस्तक प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।

उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानूनअनुसार कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिए ।

‘तपाईंहरुले अनुगमन गर्नुस, देशको आँच पुग्ने गरी पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गरेको पाइए तत्काल प्रहरी प्रशासन लगाएर कारबाही गर्नुस,’ उनले निर्देशन दिए ।

मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए ।

‘यस विषयमा तत्काल अनुगमन गर्नेछौ, गल्ती गर्ने प्रकाशक र बिक्रेतामथि कारबाही प्रकृया अघि बढाउनेछौं’ उनले भने ।

उनले सरकारले नयाँ नक्सा जारी गरिसकेको अवस्थामा पुरानो नक्सा उल्लेख गर्नु गम्भीर त्रुटी भएको बताए ।


क्लिकमान्डु