संस्थापक सेयर बिक्री प्रक्रियालाई छिटोछरितो बनाउन सुझाव


काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले संस्थापक सेयर बिक्री प्रक्रियालाई छिटोछरितो बनाउनुपर्ने जनाएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन २०८२ का अनुसार कार्यदलले संस्थापक सेयर बिक्री प्रक्रियालाई छिटोछरितो बनाउनुपर्ने सुझाव दिएको हो ।

‘पुँजीबजारमा कर्जा प्रवाहको लागि विश्वको असल अभ्यास (जसमा केन्द्रीय बैंकले ब्रोकरमार्फत हुने मार्जिन कर्जालाई प्राथमिकता दिई बैंकिङ र पुँजीबजार दुवैको विकास गरेका छन्)लाई अनुसरण गर्नु उपयुक्त हुनेछ,’ कार्यदलको प्रतिवेदनमा भनिएको छ, ‘बण्ड मार्केटको विकासका लागि धितोपत्र बोर्डलाई आवश्यक सहयोग गर्न आवश्यक छ ।’

गैरआवासीय नेपालीले धितोपत्र कारोबार गर्न बैंकिङ क्षेत्रबाट पनि केही प्रक्रियागत सहजीकरण गरिदिनुपर्ने विषयहरू भएकाले नेपाल धितोपत्र बोर्डसँग समन्वय गरी यस सम्बन्धमा बैंकिङ क्षेत्रले गर्नुपर्ने सम्पूर्ण सहजीकरण गर्नुपर्ने कार्यदलको सुझाव छ ।

‘नेपाल राष्ट्र बैंकले धितोपत्र बोर्ड तथा बिमा प्राधिकरणसँग समन्वय गर्ने संयन्त्र बनाउनुपर्छ,’ कार्यदलको प्रतिवेदनमा भनिएको छ, ‘पुँजीबजारमा जान चाहने कम्पनीहरूको पुँजीबजारसम्बन्धी लागत न्यूनीकरण गर्न माथिको संयन्त्रले काम गर्ने हुनुपर्छ ।’

सानो पुँजी भएका कम्पनीहरूको सेयर मूल्य प्रतिफलसँग नजोडिएको गुनासोको सन्दर्भमा धितोपत्र बोर्डलाई वित्तीय साक्षरता प्रवद्र्धन गर्न सहयोग गर्नुपर्ने कार्यदलनको प्रतिवेदनमा उल्लेख छ ।