सेयर बजारको उत्ताउलोपनमा राष्ट्र बैंकको लगाम, बजारमा कस्तो असर पर्ला ?



सेयर बजारको उत्ताउलोपनलाई नियन्त्रण गर्ने उद्देश्यले राष्ट्र बैंकले मंगलबार केही नीतिगत परिवर्तन गरेपछि लगानीकर्ताहरु स्तब्ध भएका छन् ।

कोरोना महामारीका कारण आम्दानी खुम्चिएपछि केही बैंक तथा वित्तीय संस्थाहरुले आफ्नै लगानी बढाउँदा र ठूला लगानीकर्ताहरुलाई कर्जा बढाउँदा सेयर कारोबार रकम र मूल्यमा केही हप्तायता उछाल आइरहेको थियो । कारोबार भएको झण्डै दश दिनयतादेखि औषत १० अर्बमाथिको कारोबार भैरहेको थियो । एक दिन त यो रकम १३ अर्बमाथि पुग्यो र यो इतिहासकै सबैभन्दा बढी कारोबार रकम हो ।

सेयर बजार किन उत्ताउलो, नियन्त्रण खोजेको हो ?

केही बैंक तथा वित्तीय संस्थाहरु र ठूला खेलाडीहरुको मिलीभगतमा बजारमा विकृतिपूर्ण कारोबार भैरहेको र नियमनकारी निकाय टुलुटुलु हेरेर बसिरहेको आरोप लाग्दै आएको थियो ।

सेयर बजारमा देखिएका थुप्रै विकृति र यसले बजारलाई विगार्ने विशेषगरी साना लगानीकर्ताहरु नराम्ररी फस्ने जोखिम देखेर क्लिकमाण्डूले विगतमा थुप्रै समाचार तथा विश्लेषणहरु प्रकाशित गर्दै आएको थियो ।

केही बैंक वित्तीय संस्था र ठूला खेलाडीको मिलेमतोमा सेयरको आश्चर्यजनक कारोबार

राष्ट्र बैंकको नीतिगत लगाम

मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत राष्ट्र बैंकले सेयरको धितोको मूल्यांकन १२० दिनको साटो १८० दिनको औषत् मूल्यको आधारलाई मान्नुपर्ने व्यवस्था गरिदियो । १८० दिनको औषत मूल्यको ७० प्रतिशतसम्म कर्जा दिन सकिने व्यवस्थालाई पनि ६० प्रतिशतमा झार्ने अनुमान गरिएको थियो ।

बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा ‘सर्ट टर्म ट्रेडिङ’ गर्न राष्ट्र बैंकले प्रतिवन्ध लगायो

तर, बजार क्र्यास होला भनेर नयाँ मूल्यांकन कायम गरिएन । परिपत्रमार्फत् मंगलबार नयाँ निर्देशनहरु जारी भए र त्यसले बजारलाई स्तब्ध पारेको छ । कारोबार समयपछि जारी भएकोले सर्कुलरको बजारमा पर्ने असर हेर्न भने बाँकी नै छ ।

सेयरधितो कर्जामा राष्ट्र बैंकको कडाइ, ८% ले कर्जा घट्ने, यस्तो छ बैंक अनुसारको विवरण

राष्ट्र बैंकले अब बैंक तथा वित्तीय संस्थाहरुले अब दीर्घकालीन उद्देश्यले एकबर्ष भन्दा बढीको लगानी मात्र गर्न पाइने व्यवस्था गरेको छ । सेयर तथा डिबेञ्चरमा कुल पुँजीकोषको ३० प्रतिशत लगानी गर्न पाउने र एकबर्षमा एकपटक उक्त लगानीमध्ये १ प्रतिशतमात्र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । यही जेठ १० गते अगाडि लगानी गरिसकेको हकमा आगामी ७९ असारसम्ममा बिक्री गर्न पाइने व्यवस्था पनि गरिएको छ ।

निर्देशिका आउनु अगाडि नै बैंक तथा वित्तीय संस्थाले सेयर बेचे

बैंक तथा वित्तीय संस्थाहरुले लघुवित्त कम्पनीहरुको दोस्रो बजारमा लगानी गर्न पाउने छैनन् । विपन्न वर्गमा गणना हुने गरी गरिएको लगानीलाई पनि आगामी पुसभित्र बिक्री गरिसक्नुपर्ने समयसीमा तोकिएको छ । यस्ता कम्पनीहरुको प्राथमिक सेयरमा भैरहेको लगानीलाई भने यथावत नै राखिएको छ । यसको अर्थ बैंक तथा वित्तीय संस्थाहरु अब सेयरको दोस्रो बजारको महत्वपूर्ण खेलाडी बन्न पाउने छैनन् । उनीहरुले बैंक तथा वित्तीय संस्थाहरु बाहेक टेलिकम, विशाल बजार तथा साल्ट टे«डिङजस्ता व्यापारिक कम्पनी, जलविद्युत, सिमेन्ट बीमा लगायतका कम्पनीहरुमा अल्पकालीन लगानी गर्दै आएका थिए ।

अब त्यस्तो लगानीबाट वार्षिक लाभांशमात्र लिन पाउने र अल्पकालीन मूल्य उतारचढाव गरी फाइदा लिन नपाउने मनसाय राखिएको देखिन्छ । सेयरको अल्पकालीन व्यापारमा संलग्न भएको भेटिएपछि यस्तो व्यवस्था गरिएको हो । केही बैंक तथा वित्तीय संस्थाहरुले अन्य क्षेत्रको नाफा नभएपनि सेयरमा गरिएको लगानीबाट उल्लेख्य परिमाणको आम्दानी गरेको देखाएका छन् । सञ्चारमाध्यममा यस सम्बन्धी थुप्रै विवरणहरु बाहिर आएपछि राष्ट्र बैंकले यससम्बन्धी भित्री सूचना तथा जानकारी लिएर सेयर बजारको महत्वपूर्ण खेलाडीकारुपमा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई लगाम लगाएको हो ।

बजारमा कस्तो असर पर्ला ?

यसअघि नजिकबाट निगरानी गरिरहेको बताए पनि राष्ट्र बैंकले कुनै नीतिगत हस्तक्षेप गरेको थिएन । विगत ६ महिनादेखि विकृतिले उग्र रुप लिइरहँदा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षापछि निर्देशन दिई राष्ट्र बैंकले बजारको विकृतिलाई नियन्त्रण गर्छ भन्ने अनुमान गरिएको थियो । तर, उसले कुनै कदम चालेको देखिएन ।

पटक-पटक नियन्त्रणको प्रयास गरेपनि अर्थमन्त्रीको हस्तक्षेपका कारण केन्द्रीय बैंकले हिम्मत गर्न सकेको थिएन । तर, यसपटक भने हिम्मत गर्यो ।

अघिल्लो त्रैमासिकमा केही बैकहरुले अन्य आम्दानीका स्रोत नभएपछि सेयरमा लगानी बढाएर प्रशस्त नाफा बढाएको देखेपछि र यससम्बन्धी समाचारहरु बाहिर आउन थालेपछि राष्ट्र बैंक चनाखो बन्न थालेको थियो ।

केहीठूला लगानीकर्ताहरुलाई कर्जा दिने र मिलीभगतमा दुबै पक्षले सेयर खरिद गरी बजारमा ड्राइ आउट गर्ने र सेयरको मूल्य बढाउनेजस्ता भयानक विकृति मौलाउँदै गएको थियो । निषेधाज्ञा लम्बिदै गएर नयाँ कर्जा विस्तार र आम्दानीका नयाँ स्रोत नभेटेपछि केही बैंक तथा वित्तीय संस्थाहरु फेरि असारको वासलातमा नाफाको हिस्सा बढाउन सक्रिय देखिएको भेटेपछि राष्ट्र बैंक लगाम लगाउन बाध्य भयो ।

ब्याज आम्दानी घटेपछि वाणिज्य बैंकको ध्यान सेयर बजारमा, ९ महिनामा कमाए ७ अर्ब

बैंक तथा वित्तीय संस्थाहरुले कुल पुँजीकोषको ३० प्रतिशत रकम जलविद्युत, बीमा र अन्य व्यापारिक कम्पनीमा लगानी गर्न पाउँछन् । बीमा, व्यापार, सिमेन्ट, जलविद्युत, लघुवित्तलगायतका कम्पनीको सेयरमा आश्चर्यजनक ढंगले बढेको मूल्यमा पनि वृद्धिमै सर्किट लेभलमा कारोबार भैरहेको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले यसरी करीब ५० अर्ब रुपैयाँको हाराहारीमा लगानी गरेको अनुमान गरिएको छ । त्यसैगरी क्षेत्रगत लगानी अन्तर्गत फेरि कुल पुँजीकोषको २५ प्रतिशत सेयर लगानी अन्तर्गत विभिन्न ऋणीलाई कर्जा दिन सक्छन् । यो रकम करिव १ खर्ब जतिको रहेको अनुमान गरिएको छ ।

अब बैंक तथा वित्तीय संस्थाहरु खेलाडीको रुपमा नरहने र उनीहरुले भएको मध्येबाट पनि केही सेयर बजारमा बिक्रीमा ल्याउन भएकोले बीमा, जलविद्युत, व्यापार, उद्योग, लघुवित्तीय संस्थाहरुको सेयरको बिक्री चाप बढ्नसक्छ ।

बैंक तथा वित्तीय संस्थाहरुले मौका हेरेर बिक्री चाप बढाए पनि ठूला खेलाडी र सर्वसाधारणले यस्ता कम्पनीको सेयरमा बिक्री चाप बढाउन सक्छन् । यसले ती कम्पनीहरुको मूल्य तल आउन सक्ने प्रवल संभावना रहेको छ । तर बजारमा लगानीकर्ताहरुको सहभागिता बढी देखिएकोले मूल्यमा असर नपर्ने तर औषत प्रतिसेयर आम्दानी बढी भएका बैंक तथा वित्तीय संस्थाहरुको सेयरमा खरिद चाप बढी भै त्यस्तो कम्पनीहरुको मूल्य बढ्ने संभावना प्रवल छ । यस्तो नीतिगत परिवर्तनको संकेत पाएका कतिपय चाल लगानीकर्ताहरुले अन्य क्षेत्रको सेयर बिक्री गर्दै बैंक तथा वित्तीय संस्थातिर आकर्षित भएको देखिएको छ ।

कोरोना महामारीका कारण अन्य क्षेत्रमा लगानीका अवसर नभएकोले आम लगानीकर्ताहरु भने तुलनात्मकरुपमा सुरक्षित देखिएको बैंक तथा वित्तीय क्षेत्रतर्फ मोडिन सक्ने देखिन्छ ।


पुष्प दुलाल