निर्देशिका आउनु अगाडि नै बैंक तथा वित्तीय संस्थाले सेयर बेचे



काठमाडौं । सेयर बजारमा पछिल्लो साता कारोबारमा नयाँ नयाँ रेकर्ड बन्यो । सोमबार कारोबार रकममा रेकर्ड बन्दै १३ अर्ब १७ करोड रुपैयाँको कारोबार भयो ।

कारोबार रकम बढेपनि सो अनुसार परिसूचकमा उछाल देखिएको थिएन । राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समिक्षा मार्फत सेयर कर्जामा कडाई गरेको थियो । १२० दिनको औसत सेयर मूल्यमा दिने सेयर धितो कर्जालाई बढाएर १८० दिन बनाएको थियो ।

गतवर्षदेखि कोभिडको कारण लकडाउन भएपछि बैंक तथा वित्तीय संस्थाको किस्ता कम उठेको छ । राष्ट्र बैंकको नीतिगत व्यवस्थाले गर्दा ऋणहरु खराब नभएपनि बैंकहरुको नाफामा कमी देखिएको थिएन । यसको कारण थियो बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा गरेको लगानीबाट उठाएको फाइदा ।

बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा ‘सर्ट टर्म ट्रेडिङ’ गर्न राष्ट्र बैंकले प्रतिवन्ध लगायो

राष्ट्र बैंकको नियम अनुसार वाणिज्य बैंकले वाणिज्य बैंकको सेयर किन्न पाउदैन । तर,बैंकले बीमा,जलविद्युत् तथा लघुवित्त तथा अन्य कम्पनीको सेयर किन्न पाउँछन् । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई लघुवित्तको सेयर दोस्रो बजारबाट किन्न नै रोक लगाएको छ ।

अल्पकालिन ट्रेडिङ गर्न समेत राष्ट बैंकले वाणिज्य बैंक,विकास बैंक र वित्त कम्पनीलाई रोक लगायो । तर,राष्ट्र बैंकको नीतिगत व्यवस्थालाई नजिकबाट हेरेका बैंक,विकास बैंक र फाइनान्स कम्पनीले पछिल्लो महिनादेखि नै सेयर बेचेर निस्किसकेका थिए ।

‘पछिल्लो साता ठूलो रकमको कारोबार हुनुको पछाडि बैंक र विकास बैंक नै प्रमुख हुन्,ति संस्थाहरुले सेयर बेचेर निस्केका छन्,’एक स्टक ब्रोकरले भने ।
चैत मसान्तसम्मको वाणिज्य बैंकमात्रको रिपोर्ट हेर्दा ट्रेडिङ आम्दानी १५.८८ प्रतिशतले बढेको छ ।

अन्य आम्दानी १०६.९२ प्रतिशतले बढेको छ । यसको अर्थ बैंकले कोभिडको समयमा आफ्नो कोर व्यवसायबाट सेयरको कारोबारमा केन्द्रित भएको देखिन्छ । कतिपय बैंक वित्तीय संस्थाले आफ्नो आम्दानीको ४० प्रतिशतसम्म रकम यसरी सेयर बजारबाट खेलेर कमाएका थिए ।


क्लिकमान्डु