शिवशिखर सहकारीबाट केदारनाथले श्रीमतीलाई दिएका थिए ६५ करोड ऋण

गीता भन्छिन्: कम्पनीका २९९ गाडीहरु कहाँ छन् थाहा छैन



काठमाडौं । भक्तपुरको कौशलटारमा रहेको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाकी सेयर सदस्य गीता शर्माले आफूले उक्त सहकारीबाट लिएको ६५ करोड तिर्न सक्ने बताएकी छिन् ।

तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा शिवशिखर बहुउद्देश्यीय सहकारीका संस्थापक अध्यक्ष केदारनाथ शर्माको श्रीमती गीता शर्माले शिवशिखरबाट ६५ करोड ऋण लिएकी छिन् ।

सहकारीको बचत अपचलनमा हाल केन्द्रीय कारागार, जगन्नाथ देवलमा रहेकी शर्माले संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा दिएको बयानमा आफू उक्त सहकारीको सेयर सदस्य रहेको र संस्थाबाट ६५ करोड ऋण लिएको बयान दिएकी हुन् ।

आफूले लिएको ऋण कानून बमोजिम हो/होइन आफ्नो श्रीमान तथा उक्त सहकारीको संस्थापक तथा पूर्वअध्यक्ष केदारनाथ शर्मालाई थाहा भएको बताएकी छन् ।

संस्थाबाट लिएको ६५ करोड ऋण चुक्ता गर्न तर त्यसका लागि कारागारबाट आफू निस्किन पाउनु पर्ने बताएका छन् ।

आफ्नो नाममा रहेका खाताहरु फुकुवा हुनुपर्ने, आफ्नो नाममा रहेका सम्पत्ति बेचबिखन गरेर र कम्पनीहरु पुनः सञ्चालन गर्न पाउनु पर्ने शर्त राखेकी छिन् । यो भएको खण्डका ६५ करोड संस्थाको पैसा चुक्ता गर्ने बयान दिएकी छिन् ।

उनले समितिमा बयान दिने क्रममा भक्तपुरको खरिपाटीमा रहेको शिव शिखर खाद्य उद्योग कम्पनी सञ्चालन गरेको जनाएकी छिन् । उक्त उद्योगले घिउ, मह, अचार, दालहरु, चुक, चिउरा लगायतका खाद्य सामानहरु उत्पादन र खरिदबिक्री गर्ने गरेको थियो ।

उक्त सहकारीमा तोकिएको कार्यक्षेत्रमा बसोबास भएका व्यक्तिहरुका साथै अन्य व्यक्तिहरु पनि सेयर सदस्य रहेको बयान दिएकी छिन् ।

उनले आफूलाई सहकारी संस्थाको सम्पत्ति कहाँ–कहाँ के कुन स्वरूपमा छ भन्ने थाहा नभएको बयान दिएकी छिन् ।

‘म गृहणी हुँ । मलाई आर्थिक कारोबारको विषय थाहा भएन । म २०८० वैशाख १२ गते सहकारी विभागमा गएको थिएँ । सहकारीको तरलताको समस्या दर्साए । विभागमा मलाई मिलाई दिन्छु भनियो तर कागज बनाउनुपर्छ भन्नु भएको थियो । सहकारीका स्टाफहरुको सहयोग हामीलाई प्राप्त भएन,’ उनले बयानका क्रममा भनेकी छिन्, ‘मेरो कम्पनीहरुको २९९ वटा गाडीहरु कहाँ कुन अवस्थामा छन् भन्ने समेत थाहा छैन । म यस सहकारी संस्थाको सेयर सदस्य र ऋणी पनि भएकोले मलाई केही थाहा भएन । मेरो हकमा म कारागारबाट छुटे भने मेरो नामको ऋण भुक्तान गर्छु । उक्त माग सम्बोधन होस् भन्ने चाहन्छु।’

शिव शिखर सहकारी संस्थाको ३६ वटा शाखाहरु १७ वटा जिल्लाहरुमा सञ्चालनमा छन् ।


क्लिकमान्डु