केही बैंक वित्तीय संस्था र ठूला खेलाडीको मिलेमतोमा सेयरको आश्चर्यजनक कारोबार



काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु स्वयंले लगानी बढाउँदा र उनीहरुले ठूला लगानीकर्ताहरुलाई कर्जा बढाउँदा सेयर कारोबार रकममा उछाल आएको छ । एकदिन बाहेक यो हप्ताभर १० अर्बमाथिको कारोबार भएको छ ।

अघिल्लो त्रैमासमा केही बैंकहरुले अन्य आम्दानीका स्रोत नभएपछि सेयरमा लगानी बढाएका थिए । उनीहरु त्रैमासिक नाफा बुक गर्नका लागि अल्पकालीनरुपमा बजारमा लगानी गर्ने गर्छन् ।

केही बैंक तथा वित्तीय संस्थाहरुले गत चैतको नाफामा सेयर बिक्रीबाट प्राप्त आम्दानीको ठूलै हिस्सा देखाएका छन् । नियामक निकाय चुप बसेर मात्र हो ।

केही ठूला लगानीकर्ताहरुलाई कर्जा दिन्छन् । र, मिलीभगतमा दुबै पक्ष मिलेर खरिद बढाउँछन् । बजारमा ड्राई आउट गरेर सेयरको मूल्य बढाउँछन् । र, सल्लाहमै विस्तारै सेयरको बिक्री गर्न थाल्छन् ।

निषेधाज्ञा भएर नयाँ कर्जा विस्तार र आम्दानीका नयाँ स्रोत नभेटेपछि केही बैंक तथा वित्तीय संस्थाहरु फेरि असारको वासलातमा नाफाको हिस्सा बढाउन सक्रिय देखिएका छन् ।

एक लगानीकर्ताले क्लिकमाण्डूसँग भने, ‘बैंक तथा वित्तीय संस्थाहरुले यस्तै संस्थाको सेयरमा लगानी गर्न पाउँदैनन् । त्यसैले उनीहरु जलविद्युत, बीमा र अन्य व्यापारिक कम्पनीमा लगानी गर्ने गर्छन् । यसपटक जलविद्युत कम्पनीको सेयरमा आश्चर्यजनक ढंगले बढेको मूल्यमा पनि वृद्धिमै सर्किट लेभलमा भएको कारोबारको भित्री रहस्य यही हो ।’

धेरैले नयाँ लगानीकर्ताहरु आएको भनेपनि त्यो सही नभएको उनको भनाइ छ । उनका अनुसार अहिले काम नपाएर व्यापारीहरु पनि यस क्षेत्रमा आएका कारण कारोबार रकम बढेको बताइरहेका छन् । तर, त्यो सही होइन, विद्यमान खेलाडीहरुमा ठूला लगानीकर्ताहरु, बैंक तथा वित्तीय संस्थाहरु र यिनीहरुसँग नजिकका मान्छेहरुले लगानी बढाउँदा कारोबार रकममा उछाल आएको हो ।

सेयर बजार किन उत्ताउलो, नियन्त्रण खोजेको हो ?

यसैबीच यो कुरा थाहा पाएर राष्ट्र बैंकले सेयर कर्जाको अनुपातलाई ६० प्रतिशतमा झार्नलाई गम्भीर छलफल गर्यो तर कार्यान्वयनमा ल्याउन भने सकेन । अहिलेलाई कर्जा पाउने औषत मूल्यको समयसीमालाई १२० दिनको साटो १८० दिन कायम गरिदिएर अझै पनि केही समय बैंक तथा वित्तीय संस्थाहरु र ठूला खेलाडीहरुलाई छाडा छोडिदिएको छ ।

सेयरको मूल्य बढाएर तेब्बरभन्दा बढी पुर्याई राष्ट्र बैंकको मूल्य नियन्त्रण गर्ने उपकरण अर्थात् १८० दिने औषत मूल्यको आधारमा ७० प्रतिशतसम्म कर्जा दिन पाउने व्यवस्थालाई धोती लगाइदिईसकेका छन् । अघिल्लो बर्षको तुलनामा बोनस वितरणपछि पनि अधिकांश सेयरको मूल्य तेब्बर जतिले वृद्धि भएको छ । र, वर्तमान मूल्यमा ७० प्रतिशत होइन ती कम्पनीका सेयरवालाहरुले मूल्य बढाएर २ सय प्रतिशत कर्जा लिएका छन् । अहिले नेप्से नघट्नुको एउटा कारण यो पनि हो ।

राजनीतिक अस्थिरता र कोभिडको महामारी खतरनाक बन्दै गएपछि यस क्षेत्रमा जोखिम बढेर उत्कर्षमा पुगेको देखिन्छ । तर, खेलाडीहरु नयाँ नयाँ तौरतरिका अपनाई पैसा कमाइहाल्ने मूडमा देखिएका छन् । यसले सेयरका धेरै लगानीकर्ताहरुको रुवाबासी हुने स्थिति उत्पन्न हुन सक्ने सेयर विश्लषकहरु बताउँछन् ।

दुईतिहाई बहुमतको सरकार अहिले सामान्य बहुमत, अल्पमत हुँदै न्यून मतमा सीमित भैसकेको छ र जसपामा आएको नाटकीय मोडपछि विश्वासको मत नपाएर संकटमा पर्ने र संविधानको धारा ७६ को उपधारा ५ तिर अग्रसर हुँदै गएको छ । त्यो भनेको अव मुलुक चुनावतिर अग्रसर भएको देखिएको छ । राजनीतिक अन्योलका कारण बजेट अलपत्र पर्ने भएको छ भने गत बर्षको भन्दा यसबर्षको कोभिडको नयाँ भेरियन्ट खतरनाक भएकोले अर्थतन्त्रमा गम्भीर धक्का पर्ने निश्चित जस्तै देखिएको छ ।

आम्दानीका क्षेत्रहरु साँघुरिएका र राष्ट्र बैंकले ऋणलाई अझै सुविधा दिन निर्देश गरेपछि बैंक तथा वित्तीय संस्थाहरुका साथै अन्य सूचीकृत कम्पनीहरुको हालत नाजुक हुने देखिएको छ । आगामी पुस माघपछि पछि कोभिडको तेस्रो लहर आउने र त्यो अझ खतरनाक हुने विज्ञहरुले बताइरहेका छन् । त्यसअघि सम्म दोस्रो भेरियन्टको दबदबा रहने देखिएको छ ।

यस्तो अवस्थामा आर्थिक गतिविधिहरु संकुचित हुने निश्चितै छ । आगामी असारसम्म निषेधाज्ञा नै हुने संभावना बढ्दै गएकोले बैंक तथा वित्तीय संस्थाहरुको असूली प्रभावित बन्न थालेको छ । निषेधाज्ञा र लाखौंको संख्यामा इन्फेक्सन बढ्दै गएकोले मानिसहरुमा काम गर्ने मनोबल पूरै गिरेको छ । यस्तो अवस्थामा सबैले सेयर बजारमै लगानी गर्नेछन् भन्ने हल्ला फैलाई पछिल्लो समय केही बैंक तथा वित्तीय संस्थाहरु र ठूला खेलाडीहरु बैंक तथा वित्तीय संस्थाहरु बाहेकको सेयरको मूल्य बढाउनतिर लागिपरेका छन् ।

यसक्रममा सञ्चालनमै नआएका जलविद्युत कम्पनीको सेयरमा समेत खेलाडीहरु झुम्मिएका छन् । बजारलाई जुवाको खाल जस्तो बनाउन थालेपछि नेपाल स्टक एक्सचेन्जले हालै लगानीकर्ताहरुलाई कुरा बुझेर मात्र लगानी गर्न सचेत गराएको छ । तर अन्य नियामक निकायले भने अहिले आँखा चिम्लिएजस्तो गरिरहेको स्थिति छ ।

अहिलेसम्मका प्रतिकूलताहरु धान्दै आएका र अस्वस्थ प्रतिस्पर्धाको चरम अवस्था भोगिरहेका नेपालको बैंक तथा वित्तीय क्षेत्र अहिले इतिहासमै सर्वाधिक अप्ठ्यारो स्थितिमा आइपुगेका छन् । कर्जा असूली हुन नसकेको अवस्थामा अव ढाकछोप गर्न सक्ने स्थिति छैन । राष्ट्र बैंकले ५ प्रतिशत प्रोभिजन गरेर कर्जालाई पुनर्तालिकीकरण गर्न दिएको छ ।

तर, अन्य कर्जा पनि अहिले उठेन भने अव प्रोभिजन बढेर २५ प्रतिशत, ५० प्रतिशत र शतप्रतिशत सम्म पुग्ने स्थिति निम्तिदैछ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाहरु र लघुवित्तीय संस्थाहरु समेत घाटामा जान सक्नेछन् ।

निर्माण प्रभावित भएको, निर्माण लागत बढेको, प्रसारण लाइन नबनेर कतिपय विद्युत आयोजनाहरुले उत्पादन गरेपनि राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकेको, उत्पादित विजुलीको खपत सुनिश्चित नभएको र अन्य कारणले उत्पादित विजुलीको आम्दानी पनि नभैरहेको अवस्थामा जलविद्युत कम्पनीको नाफा पनि प्रभावित भएको अवस्थामा मूल्यमा छलाङ्ग हान्नुपर्ने औचित्य पूष्टि हुँदैन ।

यता सेयर बजारका खेलाडीहरु भने विभिन्न हल्ला फिँजाएर मूल्यमा उछाल ल्याउने र सेयर बिक्री गर्ने ध्याउन्नमा लागेका छन् । यसले साना लगानीकर्ताहरु फस्ने खतरा समेत निम्त्याएको छ ।


पुष्प दुलाल