सीटी-भ्यालु बढी अंकमा हुँदा सुरक्षित र कम अंकमा हुँदा खतरा हुने हुँदैनः डा. रवीन्द्र पाण्डे



काठमाडौं । सीटी-भ्यालु संक्रमितको नाक वा घाँटीमा भएको भाइरसको लोड हो । यो फोक्सोमा भएको भाइरसको लोड होइन । तसर्थ सीटी-भ्यालु बढी अंकमा हुँदा सुरक्षित भइने र कम अंकमा हुँदा खतरा हुने हुँदैन ।

दोस्रो लहरको उछालसँगै नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । पीसीआर पोजिटिभ भएका हरेक व्यक्तिलाई साइकल थ्रेसहोल्ड (सीटी) भ्यालुमा धेरै चासो देखिएको छ । सीटी-भ्यालुबारे फरक-फरक धारणाका कारण धेरै व्यक्तिमा कन्फ्युजन देखिएको छ ।

सीटी-भ्यालुलाई धेरै कुराले असर गर्छ । नाकबाट लिइएको स्याम्पल र घाँटीबाट लिइएको स्याम्पलमा पनि सीटी-भ्यालु फरक हुन्छ । त्यस्तै स्वाब कसरी लिइयो ? कति मात्रामा लिइयो? त्यसलाई कसरी सुरक्षण, परिवहन र परीक्षण गरियो ? परीक्षण गर्दा कस्तो किट वा रिएजेन्ट प्रयोग गरियो? कस्तो जनशक्तिले परीक्षण गर्यो ? आदिअनुसार पनि सीटी–भ्यालु फरक हुनसक्छ। प्रयोगशालाअनुसार पनि सीटी-भ्यालु फरक–फरक हुन्छन् । तसर्थ सीटी-भ्यालु हेरेर आत्तिनु वा ढुक्क हुन जरुरी छैन ।

सीटी-भ्यालु एउटा चक्र पनि हो । शरीरमा भाइरस प्रवेश गरेको ३/४ दिनसम्म भाइरसको मात्रा कम हुन्छ । तसर्थ सीटी-भ्यालु २४ भन्दा माथि देखिन्छ । उक्त व्यक्तिमा ७ दिनपछि भाइरसको संख्या धेरै हुन्छ । त्यो बेला सीटी-भ्यालु २४ भन्दा धेरै तलसम्म देखिन्छ । त्यही व्यक्तिमा निको हुने बेला भाइरस नष्ट भएर भाइरसको संख्या कम हुन्छ । अनि सीटी-भ्यालु २५ भन्दा माथि देखिन्छ। यो चक्र अधिकतर व्यक्तिमा देखिन्छ ।

बालबालिका तथा युवामा इम्युनिटी पावर धेरै हुन्छ । त्यस्तै खोप लिएका व्यक्तिमा भाइरसविरुद्धको एन्टिबडी हुन्छ । एकपटक संक्रमण भएका व्यक्तिमा पनि एन्टिबडी विकास भएको हुन्छ । त्यस्ता व्यक्तिमा भाइरस घाँटीमै नष्ट हुन्छ । तसर्थ सीटी-भ्यालु १२, १४ जस्तै छोटो अंकमा नदेखिन सक्छ ।

प्रविधि तथा देशअनुसार सीटी-भ्यालु कतै ३२ तथा कतै ४० सम्मलाई पोजिटिभ मानिएको छ। हाम्रो देशमा ३६ भन्दा माथिल्लो अंकलाई नेगेटिभ मानिन्छ ।

सीटी-भ्यालुमा अलमल हुनु पर्दैन। रिपोर्ट पोजिटिभ भए पोजिटिभ तथा रिपोर्ट नेगेटिभ भए नेगेटिभ बुझेर तदानुसार गर्नुपछ ।

सीटी-भ्यालुबारे यसरी बुझाैं
हामीले एउटा खेतमा इनार खन्दैछौं । १०-१२ वटा रिङ हाल्दैमा पानी आयो भने त्यो जमिनमा पानी प्रशस्त छ भन्ने बुझिन्छ । तर ३०-३२ वटा रङ हालेपछि मात्र पानी आयो भने त्यो जमिनमा पानी कम छ भन्ने बुझिन्छ ।

पीसीआर टेस्टमा पनि भाइरस लोड धेरै छ भने १०-२० साइकलमै भाइरस भेटिन्छ । भाइरसको लोड कम छ भने ३०-३२ साइकलमा मात्र भाइरस भेटिन्छ । सीटी-भ्यालुलाई यसरी पनि बुझ्न सजिलो हुन्छ ।


क्लिकमान्डु