निषेधाज्ञा थप कडा बनाइँदै, नयाँ नियममा के गर्न पाइने के नपाइने ?



काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडा बनाउने रणनीतिअनुसार नयाँ नियम जारी गरेको छ । जसमा काठमाडौंमा अब निषेधाज्ञालाई थप कडाई गरिने भएको छ ।

नयाँ नियमअनुसार अब अत्यावश्यक काम बाहेकमा घरबाहिर निस्कन पाइने छैन । दुई जना व्यक्तिबीच कम्तीमा २ मिटरको भौतिक दूरी हुनु आवश्यक छ भने अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्ने छ ।

निषेधाज्ञा वैशाख २२ गतेदेखि थप भइ वैशाख २९ गतेसम्म कायम हुनेछ । जसमा सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यकबाहेकका सवारी साधन काठमाडौं प्रवेशमा रोक लगाइनेछ ।

अत्यावश्यक बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्था, संस्थान, बीमालगायतका कार्यालयहरुमा एक चौथाइ कर्मचारीमात्र उपस्थित हुने गरी सञ्चालन गर्न गराउन व्यवस्था मिलाउनु पर्नेछ ।

सरकारी कार्यालयको हकमा मन्त्रालयको सचिव वा विभागीय प्रमुखले जारी गरेको सवारी पास र परिचयपत्रको आधारमा आवतजात गर्न पाइनेछ ।

बैंक तथा वित्तीय सस्थाको हकमा काठमाडौं उपत्यकामा २५ प्रतिशत शाखा कार्यालय मात्रै सञ्चालन गर्न पाइनेछ र केन्द्रीय कार्यालयहरुले २० प्रतिशत मात्रै जनशक्ति प्रयोग गरी कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउनुपर्नेछ । र, सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनुपर्नेछ ।

बैंक तथा वित्तीय संस्थाका सवारी साधन सञ्चालनको हकमा सीमित सवारी पास जारी गरी सोको विवरण नेपाल राष्ट्र बैंक र जिल्ला प्रशासन कार्यालयमा दिनुपर्नेछ ।

विकास निर्माणका सम्बन्धमा सम्बन्धित आयोजाहरुले नै आवासीय कामदार राखी अनिवार्यरुपले स्वास्थ्य मापदण्ड पालना गरी कार्य सञ्चालन गर्ने गराउने तथा निर्माण सामग्री ढुवानी राति १० बजेदेखि विहान ४ बजेसम्म मात्रै आवतजावत गराउनुपर्ने छ ।

अन्तर्राष्ट्रिय उडानबाट विदेश जाने यात्रुको हकमा हवाई टिक, पासपोर्ट, भिसा हुनेहरुलाई सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गरिनेछ ।

त्यसैगरी खाद्यान्न पसल, व्यवसाय र डिपार्टमेन्टल स्टोरहरु विहान ९ बजेसम्म खुला गरिनेछ भने स्थानीय ढुवानीको हकमा विहान १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ ।

त्यसैगरी पत्रकारहरुको हकमा सूचना विभागको प्रेस पासका आधारमा मात्रै आवतजावत गर्न पायनेछ । सूचना विभागको प्रेस पास नभएका सञ्चारकर्मी तथा कर्मचारीहरको हकमा सम्बन्धित सञ्चार गृहहरुले न्यूनतम कर्मचारी मात्रै खटाउने र सोको विवरण जिल्ला प्रशासन कार्यालयमा उपलब्ध गराउनुपर्ने छ ।

निलो प्लेटका सवारी साधनको हकमा परिचय बाहक पदाधिकारी तथा कर्मचारीलाई सवारी पास आवश्यक पर्ने छैन ।

उपत्यका बाहिर जानका लागि सम्बन्धित स्थानीय तहले अनिवार्यरुपले १० दिन क्वारेन्टिन राख्ने प्रतिबद्धता सहितको सिफारिसका आधारमा गन्तव्यस्थलमा जान पाइने छ ।


क्लिकमान्डु