कुनै अस्पतालले शैय्या वा अक्सिजन लुकाए कडा कारबाही हुन्छः प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका अस्पताललाई दैनिकरुपमा अस्पतालमा उपलब्ध शैय्याको संख्या र खाली भए नभएको बारे अध्यावधिक गरी स्वास्थ्य मन्त्रालयमा पेश गर्न निर्देशन दिएका छन् ।

उनले यसरी कुनै अस्पतालले विवरण नपठाएर शैय्या लुकाएको पाइएमा कडा कारबाही गरिने समेत बताए । उनले अक्सिजन तथा शैय्याबारे जानकारी नदिने तथा लुकाउने अस्पताललाई कारबाही गर्ने स्पष्ट पारे ।

सोमबार जनताका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले नेपाली सेनालाई कोभिड संक्रमितको उपचारका लागि १ हजार शैय्याको अस्पताल निर्माणका लागि निर्देशन दिइसकेको समेत बताए ।

उनले कोरोना संक्रमितको उपचारका लागि वीर अस्पतालको नयाँ भवन, नेपाल सेनाको त्रिचन्द्र मिलिट्री अस्पताल, धेरै शैय्या भएका मेडिकल कलेज र ठूला अस्पतालमा कोभिड अस्पताल तथा प्रदेशको हकमा त्यहाँको सरकारले पनि मेडिकल अस्पताल र ठूला अस्पताललाई प्रयोग गर्न समेत निर्देशन दिएका छन् ।

उनले तत्कालका लागि अक्सिजनको प्रयोग अस्पतालले मात्रै गर्न पाउने बताए । ठूला अस्प्ताल र मेडिकल कलेजमा अक्सिजन प्लान्ट, लिक्विड अक्सिजन र अक्सिन जेनेरेटर खरिद गरेर मौज्दात राखिने समेत उनले बताए । उनले हाल मर्मतको अभावमा सञ्चालनमा नआएका अक्सिजन प्लान्ट पनि मर्मत गरी छिट्टै सञ्चालनमा ल्याइने समेत बताए ।

हाललाई अक्सिजनको प्रयोग अस्पताल र उपचारका लागि मात्रै प्रयोग गर्न र अन्य प्रयोजनका लागि प्रयोगमा रोक लगाइएको पनि उनले बताए ।

अवकाशप्राप्त चिकित्सकलाई १ वर्षका लागि करारमा राखिने
प्रधानमन्त्री ओलीले कोभिडको उपचारमा प्रयोग हुने औषधि अस्पतालले मौजदात अनिवार्यरुपमा राख्नुपर्ने बताए । उनले स्वास्थ्य जनशक्तिको कमी हुन नदिन अवकाशप्राप्त चिकित्सकलाई एक वर्षका लागि करारमा राखिने पनि बताए ।

बिरामीको ओसारपसार कोरोना संक्रमितको शवको व्यवस्थापनमा संलग्न, चिकित्सक, स्वास्थ्यकर्मी, सवारी चालक तथा सहचालक, सफाइ तथा कर्मचारीलाई शुरुको तलबको ५० प्रतिशत थप तलब, जोखिम भत्ता र बीमा गरिने पनि बताए ।


क्लिकमान्डु