उपत्यकामा निषेधाज्ञा थप कडा पार्ने तयारी, भोलिदेखि साँझमा पसल खोल्न नपाइने
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञालाई थप कडा पार्ने तयारी गरेको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले सोमबारदेखि लागू हुने गरी उपत्यकाको हकमा साँझ पसल खोल्न नदिने विषयमा डीसीएमसीमा छलफल भएको बताए ।
‘निषेधाज्ञामा अनुगमनलाई तीव्र बनाउने र पसलहरु बिहान मात्रै खुल्ने दिने र साँझ नदिने विषयमा छलफल भएको छ, अब उपत्यकाका तीन वटै जिल्लाका सीडीओहरुले छलफल गरेपछि निर्णय गर्छौ,’ उनले क्लिकमाण्डूसँग भने ।
उनका अनुसार सरकारी कार्यालयमा पनि कर्मचारीको न्यून उपस्थिती होस् भन्ने उद्देश्यले सीमित संख्यामा कर्मचारी राखेर काम गर्ने विषयमा पनि छलफल भएको छ ।
त्यसका साथै बैंक तथा वित्तीय संस्थामा पनि सीमित कर्मचारीबाटै सेवा प्रवाह गर्ने विषयमा निर्णय भएको छ ।
‘अब सरकारी कार्यालयमा पनि सीमित कर्मचारी राखेर सकेसम्म वर्क फ्रम होमकै अवधारणामा अघि बढ्ने विषयमा छलफल भएको छ, कतिपय विषयहरु मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ,’ उनले भने ।
पराजुलीले निषेधाज्ञा कडाइ पार्नका लागि अनुगमन पनि तीव्र पारिने बताए ।