कोरोनाको बाहनामा कर्मचारी कटौती नगर्न नेपाल वित्तीय कर्मचारी संघको माग
काठमाडौं । कोभिड–१९ को असहज परिस्थितीको बहाना बनाउँदै बैंक तथा वित्तीय संस्थालाई कर्मचारी कटौती नगर्न सरोकारवालाहरुले माग गरेका छन् ।
अहिलेको परिस्थितीमा स्थायी, अस्थायी, करार र दैनिक ज्यालादारीको रुपमा कार्यरत कर्मचारीको सेवासुविधा, रोजगारी, दरबन्दी, बिदा कटौती नगर्न नेपाल वित्तीय संस्था कर्मचारी संघले माग गरेको हो ।
संघले एक विज्ञप्ति जारी गर्दै सरकार तथा नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, ट्रेड युनियन कांग्रेस र नेपाल लघुवित्त संघको ध्यानाकर्षण गराएको छ ।
अत्यावश्यक सेवा अन्तरर्गतको बैंकिङ सेवा प्रवाह गर्ने कर्मचारीको स्वास्थ्य सरक्षाका लागि संघले कार्यसम्पादनमा सहजिकरण गर्न, आवश्यक स्वास्थ्य सुरक्षाका सामग्री उपलब्ध गराउन सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।
साथै, संघले बैंक तथा वित्तीय संस्थाका कर्मचारीको बीमा र स्वास्थ्य उपचारका लागि एम्बुलेन्स तथा ग्रामीण भेगमा कार्यरत कर्मचारीको लागि एयर एम्बुलेन्सको समेत व्यवस्था गर्न र अस्पताल र आइसोलेसको व्यवस्था गर्न भनेको छ ।
लकडाउन÷निषेधाज्ञाबीच कोरोना संक्रमणको जोखिममा काम गर्ने कर्मचारीलाई अतिरिक्त भत्ताको समेत व्यवस्था हुनुपर्ने सो विज्ञाप्तीमा उल्लेख छ । साथै, कर्मचारीको बीमा हुनु पर्ने र कोभिड–१९ का कारण कर्मचारीको मृत्यु भएमा आश्रित परवारलाई रोजगारी वा पर्याप्त क्षतिपूर्तिको व्यवस्था गर्न समेत संघले सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई आग्राह गरेको छ ।