दोब्बर मूल्यमा मास्क बिक्री त्रिपुरेश्वरको अफ फाइन सर्जिकललाई २ लाख जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार गरेको बजार अनुगमनका क्रममा त्रिपुरेश्वरको अल फाइन सर्जिकल सप्लायर्सले मास्कमा नाफाखोरी गरेको भेटिएको छ ।

उक्त सर्जिकल सप्लायर्सले प्रतिमास्क ४ रुपैयाँ ४६ पैसामा खरिद गरेकोमा दोब्बर मूल्य तोकेर बिक्रीवितरण गरेको भेटिएको हो ।

विभागका निर्देशक शिवराज सेढाइका अनुसार अल फाइन सर्जिकलले प्रतिमास्क ४ रुपैयाँ ४६ पैसामा खरिद गरेर ८ रुपैयाँ ३८ पैसामा बिक्रीवितरण गरेको भेटिएपछि २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।

‘बिल–बीजक हेर्दा दोब्बर मूल्यमा मास्क बेचेको भेटिएपछि २ लाख रुपैयाँ जरिवाना गरेका छौं । खरिद मूल्यभन्दा बिक्री मूल्य दोब्बर देखियो,’ सेढाइले भने ।

त्यस्तै, विभागले गत शुक्रबार भक्तपुरको मध्यपुर ठिमीस्थित हिमालयन लाइफ केयर इन्डस्ट्रीलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ । दैनिक १ लाख ५० हजार मास्क उत्पादन क्षमता रहेको उक्त उद्योगले प्रतिमास्क २ रुपैयाँ ४ पैसा लागतमा उत्पादन गरेको भएपनि बजारमा भने प्रतिमास्क १० रुपैयाँमा बेचेको भेटिएको थियो ।


क्लिकमान्डु