औद्योगिक ग्राहकलाई अक्सिजन नदिँदा पनि सिलिन्डर अभाव, साना सिलिन्डर स्टक राख्ने बढे



काठमाडौं । औद्योगिक ग्राहकलाई अक्सिजन बिक्री वितरणमा रोक लगाउँदासमेत बजारमा सिलिन्डरको अभाव देखिन थालेको छ ।

कोभिड १९ का बिरामी बढ्दै जाँदा मेडिकल प्रयोजनका लागि प्रयोग हुने अक्सिजन सिलिन्डरको माग धान्न गाह्रो भएको नेपाल अक्सिजन ग्यास उत्पादक संघले जनाएको छ ।

संघका अध्यक्ष गौरव सारडाले औद्योगिक ग्राहकलाई अक्सिजन नदिनु भन्ने निर्देशन आएको र अहिले स्वास्थ्य उपचार र मेडिकल प्रयोजनका लागि मात्रै सिलिन्डर वितरण गरिरहँदा पनि माग अनुसार आपूर्ति गर्न नसकिएको बताए ।

‘आजदेखि औद्योगिक ग्राहकलाई अक्सिजन नबेच्नु भनेर उद्योग मन्त्रालयबाट निर्देशन आएको छ । तर मेडिकल क्षेत्रको माग बढेका कारण औद्योगिक क्षेत्रलाई नदिँदा पनि खपत बढी नै छ,’ उनले भने।

काठमाडौं उपत्यकामा मात्र दैनिक औसत ५ देखि ६ हजार सिलिन्डर खपत हुने गरेको संघको तथ्यांक छ । जसमा ४० प्रतिशत औद्योगिक खपत हुनेगरेको थियो ।

अहिले औद्यागिक खपत बन्द गर्दा पनि त्यति नै हाराहारीमा माग आइरहेको सारडाले बताए ।

‘अहिले पनि उपत्यकामा दैनिक ५ देखि ७ हजार सिलिन्डरसम्म गइरहेको छ । बरु उपत्यकाबाहिर त्यति माग बढेको छैन,’ उनले भने ।

त्यस्तै पछिल्लो समय उद्योगमा अक्सिजन भर्न आउने सिलिन्डरको संख्या पनि घटेको छ । सिलिन्डर मौज्दात राख्न थालेपछि उद्योगमा फर्काइनुपर्ने खाली सिलिन्डर घट्न थालेका हुन ।

‘सर्वसाधारणले अक्सिजन सिलिन्डर स्टक राख्न थालेका छन । सानो सिलिन्डरहरु फिर्ता आउने दर निक्कै घटेको छ । हाम्रो अनुमान घरमा होल्ड गरेर राखे भन्ने छ,’ अध्यक्ष सारडा भन्छन ।

देशभरका २० वटा उद्योगले अक्सिजन उत्पादन गर्दै आएका छन् । अक्सिजन उत्पादनमा आत्मनिर्भर रहेको व्यवसायीहरुको दावी छ ।

तर पछिल्लो समय दैनिक माग बढ्न थालेपछि भने नेपाल भित्रको उत्पादनले धान्न नसक्ने उनीहरुको भनाइ छ । अक्सिजन पर्याप्त उत्पादन गर्न सक्ने भएपनि सिलिन्डर अभाव मुख्य समस्या हो । अक्सिजन भर्नका लागि प्रयोग हुने सिलिण्डरहरु नेपाल भित्र उत्पादन हुँदैनन् ।

देशभर ८० देखि ९० हजारको संख्यामा अक्सिजन सिलिण्डर रहेको संघको अनुमान छ । खाली भइसकेका सिलिण्डरलाई उद्योगमा फर्काउन र उद्योगबाट भरेर बजार पठाउन समय लाग्ने भएका कारण कुल सिलिन्डर संख्याका आधाभन्दा कम मात्रै प्रयोगमा हुने गरेको संघको भनाइ छ ।


क्लिकमान्डु