सानिमा बैंकको खुद नाफा १४.६७ %ले बढ्यो, वितरण योग्य नाफा १ अर्ब ४० करोड रुपैयाँ
काठमाडौं । सानिमा बैंकले ९ महिनामा १४.६७ प्रतिशतले खुद नाफा वृद्धि गरेको छ । गत आर्थिक वर्षको चैत मसान्तमा बैंकले १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
जसमा चालु आवको सोही अवधिमा २३ करोड ७४ लाख रुपैयाँ थप गरी १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ पुर्याउन सफल भएको छ ।
बैंकद्वारा सार्वनिक चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा वितरण योग्य नाफा भने १ अर्ब ४० करोड ९५ लाख रुपैयाँ रहेको उल्लेख छ ।
यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेपतर्फ १४.५० प्रतिशतले र कर्जा प्रवाहतर्फ २५.५५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब २२ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १४ अर्ब ६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
जसबाट बैंकले ३ अर्ब २७ करोड २० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.९० प्रतिशतले बढी हो ।
सो अवधिमा बैंकको सञ्चालन आम्दानी भने १४.६७ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको चैत मसान्तसम्म १ अर्ब ६१ करोड ८७ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको बैंकले चालु आवको सोही अवधिमा १ अर्ब ८५ करोड ६१ लाख रुपैयाँ पुर्याएको छ ।
यसैगरी, सो अवधिमा बैंकको खराव कर्जा अनुपात ०.२१ प्रतिशत, बेसरेट ६.२३ प्रतिशत, स्प्रेडरेट ४.०७ प्रतिशत, प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७३ पैसा, प्रति सेयर नेटवर्थ १ सय ४८ रुपैयाँ ७० पैसा, मूल्य आम्दानी अनुपात १५.२८ गुणा र पुँजी कोष अनुपात १३.९९ प्रतिशत रहेको छ ।