बैशाख १४ गते हिमालयन र इन्भेष्टमेण्ट बैंकबीच मर्जरको सम्झौता, असारभित्रै एकीकृत कारोबार



काठमाडौं । नेपाल इन्भेष्मेण्ट बैंक र हिमालयन बैंकले बैशाख १४ मर्जरको पारम्भिक सम्झौता (एमओयू) गर्ने भएका छन् ।

दुबै बैंकको मर्जर कमिटीले अर्को साता मंगलबार हस्ताक्षर गर्ने सुझावसहित एमओयूको मस्यौदा पारित गरेका छन् ।

मर्जरको एमओयू गर्नका लागि इन्भेष्मेण्ट बैंक र हिमालयन बैंकको मर्जर कमिटीको आज (बिहीबार) अन्तिम बैठक बसेर हस्ताक्षर गरिसकेका छन् ।

‘दुवै बैंकको मर्जर कमिटीको आज बसेको बैठकले मंगलबार नै मर्जरको पारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गर्न प्रस्ताव गर्दै मस्यौदा बुझाएको छ,’ मर्जर कमिटिका एक सदस्यले क्लिकमाण्डूसँग भने ।

बैशाख १५ भित्रै हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता, असारभित्रै एकीकृत कारोबार

स्रोतका अनुसार  हिमालयन बैंक र इन्भेष्टमेण्ट बैंकले बैशाख १४ गत मंगलबार मर्जरको पारम्भिक समझदारी पत्रमा हस्ताक्षण गरी राष्ट्र बैंकमा स्वीकृतका लागि १५ गते पठाइने छ ।

सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) १ बराबर १ हुने एमओयू हुनेछ । मर्जरपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे नै रहनेछन् । बरिष्ठ सीइओमा हिमालयन बैंकका अशोक राणा र कनिष्ठ सीइओमा इन्भेष्टमेन्ट बैंकका ज्योति पाण्डे रहने गरी प्रस्ताव तयार पारिएको छ ।

मर्जरपछि बैंकको नाम हिमालयन इन्भेष्टमेन्ट बैंक नाम राख्ने तयारी भइरहेको स्रोतको दावी छ ।

असार मसान्तभित्रै एकीकृत कारोबार गरी एउटै ब्यालेन्सिट प्रकाशित गर्ने उदेश्यका साथ काम गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘त्यही स्पिरिटमा काम अघि बढाउँछौं ।’

मर्जरपछि यो बैंक देशकै सबैभन्दा ठूलो बैंक बन्नेछ । यो मर्जर नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो हुने भएकाले बैंकिङ क्षेत्रमा तरंग पैदा भएको छ ।

दुई बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पुँजी ४७ अर्ब रुपैयाँको हाराहारीमा हुनेछ भने हरेक हिसाबले यो बैंक देशकै सबैभन्दा ठूलो बन्ने छ । र, अन्य बैंकहरुलाई पनि मर्जरमा जान दबाब सिर्जना हुने विश्वास गरिएको छ ।

मर्जरपछि बैंकको निक्षेप ३ खर्ब रुपैयाँभन्दा बढी र कर्जा २ खर्ब ८० अर्ब रुपैयाँको हाराहारी हुन्छ । पुँजी ४७ अर्ब रुपैयाँ पुग्छ ।

दुबै बैंक ५० अर्ब रुपैयाँ पुँजी भएको बैंक बनाउने र लगानीका अन्य क्षेत्रको पहिचान गरी परम्परागत बैंकिङ मोडेललाई परिवर्तन गर्ने सोचका साथ अघिबढेका छन् ।


पुष्प दुलाल