बैशाख १५ भित्रै हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्जरको सम्झौता, असारभित्रै एकीकृत कारोबार



काठमाडौं । लामो समयदेखि चर्चामा रहेको नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकबीचको मर्जरले अब भने मूर्तरुप पाउने भएको छ ।

सकेसम्म आगामी साता वा बैशाख १५ भित्र दुई बैंकबीच औपचारिकरुपमै मर्जरमा जाने सैद्दान्तिक समझदारी (एमओयू)मा हस्ताक्षर हुने भएको छ ।

यसकारण हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा ढिलाइ

बिहीबार बसेको हिमालयन बैंकको सञ्चालक समितिको बैठकले ड्यु डेलिजेन्स अडिट (डीडीए) रिपोर्ट अनुमोदन गरेसँगै दुई बैंकबीचको मर्जर प्रक्रियाले गति लिएको हो । अध्यक्ष तुलसीराम गौतम झन्डै एक महिना बिरामी भएपछि हिमालयन बैंकको सञ्चालक समितिको बैठक बस्न सकेको थिएन ।

‘मेगा मर्जर’को तयारीमा हिमालयन र इन्भेष्टमेन्ट बैंक, लिखित प्रतिवद्धता आदान-प्रदान, स्वाप १ः१

इन्भेष्टमेन्ट बैंकको सञ्चालक समितिले चैत पहिलो साता नै डीडीए रिपोर्ट अनुमोदन गरेको थियो ।

दुबै बैंकका उच्च अधिकारीहरुले छिट्टै एमओयूमा हस्ताक्षर गर्ने तयारी भइरहेको जानकारी दिए ।

‘३/४ दिनभित्र हाम्रो मर्जर कमिटिले सबै कुरा फाइनल गर्छ र आगामी साता एमओयूमा हस्ताक्षर गर्ने तयारीका साथ काम गरिरहेका छौं,’ हिमालयन बैंक उच्च स्रोतले क्लिकमाण्डूसँग भन्यो ।

पछिल्लो समय इन्भेष्टमेन्ट बैंकले फटाफट काम गरे पनि हिमालयन बैंकका कारण मर्जर प्रक्रिया ढिलाइ भएको थियो ।

बैंकका लगानीकर्ताले इगो छाडेर बिग मर्जरमा जानुको बिकल्प छैनः इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे

‘हामीले त हाम्रो तर्फबाट गर्नुपर्ने सम्पूर्ण काम पूरा गरिसकेका छौं,’ इन्भेष्टमेन्ट उच्च बैंक स्रोतले क्लिकमाण्डूसँग भन्यो, ‘हिमालयनले आगामी साता एमओयूको तयारी गर्नु भन्ने खबर पठाएको छ ।’

स्रोतका अनुसार आगामी असार मसान्तसम्ममा एकीकृत कारोबार गर्ने उदेश्यका साथ काम भइरहेको छ ।

‘असार मसान्तभित्रै एकीकृत कारोबार गरी एउटै ब्यालेन्सिट प्रकाशित गर्ने उदेश्यका साथ काम गरिरहेका छौं,’ स्रोतले भन्यो, ‘त्यही स्पिरिटमा काम अघि बढाउँछौं ।’

दुई बैंक मर्जरमा जाँदा सेयर आदान प्रदान अनुपात १ बराबर १ हुने, अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ अशोक राणा हुने सहमति भएको छ । बाँकी सहमति भने एमओयूपछि विभिन्न उपसमितिहरु बनाएर गरिने छ ।

प्रतिफल १०% मा झरे बैंकिङबाट लगानी झिक्छु, ८ वटा बैंक भए पुग्छः पृथ्वीबहादुर पाँडेको भिडियो आर्टिकल

यी दुई बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले दबाब र प्रोत्साहनका दुबै हतियार प्रयोग गरेको छ । यो मर्जर नेपालको इतिहासमा अहिलेसम्मकै ठूलो हुने भएकाले बैंकिङ क्षेत्रमा तरंग पैदा भएको छ ।

दुई बैंक मर्ज भएपछि बन्ने बैंकको चुक्ता पुँजी ४७ अर्ब रुपैयाँको हाराहारीमा हुनेछ भने हरेक हिसाबले यो बैंक देशकै सबैभन्दा ठूलो बन्ने छ । र, अन्य बैंकहरुलाई पनि मर्जरमा जान दबाब सिर्जना हुने विश्वास गरिएको छ ।

हबिबको सेयर ६ अर्ब रुपैयाँमा किन्न संस्थापक सेयरधनीलाई हिमालयन बैंकको पत्र

यो समयमा हिमालयन बैंकले पाकिस्तानको हबिब बैंकको स्वामित्वमा रहेको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर प्रतिकित्ता २८२ रुपैयाँ ५० पैसाका दरले किन्नका लागि आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ । सेयर किन्नका लागि बैशाख अन्तिमसम्मको समय दिएको छ । हबिबको सेयर किन्न ६ अर्ब ४ करोड २३ लाख ३६ हजार २ सय ८२ रुपैयाँ ५० पैसा आवश्यक पर्छ ।

पाकिस्तानको हबिब बैंक बाहिरिने भएपछि उक्त सेयर बेलायतको सीसीडीले किन्ने सम्झौता भएको थियो । तर, हिमालयनले बैंक इन्भेष्टमेन्टसँग मर्जर प्रक्रिया अघि बढाएपछि सीसीडी उक्त सेयर किन्ने निर्णयबाट पछि हटेको हो ।


पुष्प दुलाल