हबिबको सेयर ६ अर्ब रुपैयाँमा किन्न संस्थापक सेयरधनीलाई हिमालयन बैंकको पत्र



काठमाडौं । हिमालयन बैंकमा रहेको पाकिस्तानको हबिब बैंकको २० प्रतिशत सेयर ६ अर्ब रुपैयाँमा किन्न आफ्ना संस्थापक सेयरधनीलाई आग्रह गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेको हिमालयनले हबिबको सेयर प्रतिकित्ता २८२ रुपैयाँ ५० पैसाका दरले किन्नका लागि आफ्ना संस्थापक सेयरधनीहरुलाई आग्रह गरेको हो ।

हिमालयनमा हबिबको २ करोड १३ लाख ८८ हजार ८ सय १ कित्ता सेयर स्वामित्व छ । प्रतिकित्ता २८२.५० पैसाका दरले किन्दा ६ अर्ब ४ करोड २३ लाख ३६ हजार २ सय ८२ रुपैयाँ ५० पैसा पर्छ ।

बैंकले यही चैत १२ गते आफ्ना संस्थापक सेयरधनीलाई उक्त सेयर किन्न आग्रह गरेको हो ।

बैंक स्रोतका अनुसार रकमको आकार ठूलो भएकाले व्यक्तिगत संस्थापक सेयरधनीले किन्न संभव छैन । संस्थागत लगानीकर्ताहरु पनि यति मोटो रकम जुटाउन सक्ने अवस्थामा छैनन् । किनभने कर तिरेको पैसा चाहिन्छ ।

बैंक स्रोतका अनुसार इच्छुक संस्थापक लगानीकर्ताले २ महिनाभित्र उक्त सेयर खरिद गर्न सक्नेछन् । यसरी संस्थापकहरुले किनेर बाँकी रहेको सेयर कर्मचारी सञ्चय कोषले किन्ने सहमति भएको छ ।

‘कर्मचारी सञ्चय कोष पनि हाम्रो लगानीकर्ता हो, अन्य संस्थापकले किनेर बाँकी रहेको सबै सेयर सञ्चय कोषले किन्ने सहमति भएको छ,’ बैंक उच्च स्रोतले भन्यो ।

एक अर्ब रुपैयाँको हाराहारीको सेयर संस्थापकहरुले किन्ने र बाँकी ५ अर्ब सञ्चय कोषले किन्नु पर्ने अवस्था आउन सक्ने आँकलन गरिएको छ ।

पाकिस्तानको हबिब बैंक बाहिरिने भएपछि उक्त सेयर बेलायतको सीसीडीले किन्ने सम्झौता भएको थियो । तर, हिमालयनले बैंक इन्भेष्टमेन्टसँग मर्जर प्रक्रिया अघि बढाएपछि सीसीडी उक्त सेयर किन्ने निर्णयबाट पछि हटेको हो । 


पुष्प दुलाल