भन्सार एजेन्टको विज्ञापनप्रति महासंघको आपत्ति, माग पूरा नभए आन्दोलनमा उत्रिने



काठमाडौं । भन्सार विभागले गत २०७७ साल चैत १६ गते नयाँ भन्न्सार एजेन्ट इजाजतपत्र आह्वान गरेकोमा भन्सार एजेन्ट महासंघ नेपालले आपत्ति जनाएको छ ।

करिब २० वर्षपछि विभागले गत चैतमा नयाँ भन्सार एजेन्ट थप्ने सुचना जारी गरेकोमा महासंघले आज एक प्रेस विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो ।

महासंघले भन्सार विभाग तथा अर्थ मन्त्रालयमा पटक–पटक भन्सार एजेन्टलाई प्रभावकारी बनाउनुमपर्ने माग राख्दै आएकाले हालसम्म पनि उक्त माग सम्बोधन नभएको भन्दै महासंघले प्रेस विज्ञप्ति जारी गरेको महासंघका अध्यक्ष शान्त कुमार शर्माले जानकारी दिए ।

उनका अनुसार विगत लामो समयदेखि काम गर्दै आएको भन्सार एजेन्ट विस्थापित हुने गरी नयाँ भन्सार एजेन्टको मापदण्ड तोकिएकोमा आपत्ति जनाएको बताए ।

‘महासंघले भन्सार एजेन्टका लागि नयाँ इजाजतपत्र तथा लाइसेन्स खुलाउनेबारे आपत्ति जनाएको छैन,’ उनले भने, ‘२०५७ सालदेखि भन्सार एजेन्टका प्रतिनिधिहरूलाई व्यवस्थित गरेर मात्रै भन्सार एजेन्ट खुलाउनुपर्ने माग गरेको थियो । तर, भन्सार विभागले भन्सार एजेन्ट प्रतिनिधिहरूको भनाईलाई वेवास्था गरेर भन्सार एजेन्ट खुलाएको छ ।’

भन्सार एजेन्ट प्रतिनिधिलाई विस्थापन गर्ने नियतले उक्त नयाँ एजेन्टको लागि इजजात खुलाएकोले यस प्रति आपत्ति जनाएको उनको भनाइ छ ।

‘अनुभवीलाई जहाँ पनि प्राथमिकतामा राखिन्छ । भन्सार एजेन्ट अथवा प्रतिनिधि पद भने प्राविधिक पद भएकाले जसले पायो त्यसैले काम गर्न सक्दैनन् । अब २० औं वर्ष अनुभवी भएको व्यक्तिलाई अहिले शैक्षिक आधार तोकेको छ । त्यसैले यसमा महासंघले घोर आपत्ति जनाएको हो,’ उनले भने ।

हाल भन्सार विभागले भन्सार एजेन्टका लागि स्नातक पास हुनुपर्ने जनाएको छ । तर, विगतका काम गर्दै आएको भन्सार एजेन्टको २०५४ सालम खुल्दा १० औं कक्षा पास भएको हुनुपर्ने तोकेको थियो । त्यस्तै भन्सार ऐन २०६४ मा संशोधन गरेर भन्सार प्लस टु बनाएको थियो । त्यस बीचमा २०६५ बैशाख १४ सम्मलाई मात्रै १० औं कक्षा उतिर्ण भएको हुनुपर्ने तोकेको थियो र २०६५ बैशाख १५ पछिदेखि एजेन्टको लागि प्स टु तोकेको थियो ।

त्यसैले लामो समय एजेन्टको काम गर्दै आएको प्रतिनिधिलाई अहिलेको व्यवस्थाले कुनै सम्बोधन नभएको उनको गुनासो छ ।

‘विगतको दिनमा १० औं कक्षा तथा प्लस टु पास भएका प्रतिनिधिलाई विभागले स्नातक पास हुनुपर्ने तोकेको छ,’ उनले भने, ‘हाल भएको एजेन्टहरू १० औं कक्षा पास भई काम गर्दै आएका छन् । यसले गर्दा अयोग्य हुने भएको छ । त्यसैले लामो

समयदेखि काम गर्दै आएको प्रतिनिधिको संवैधानिक मौलिक हकको हनन भएको छ ।’ साथै उक्त प्रतिनिधिहरू बेरोजगार हुने भएकाले महासंघले यस प्रति ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

महासंघले हालसम्म भएको ३ सय ३० जना भन्सार एजेन्टलाई समेट्नु पर्ने विभागसँग माग गरेको छ । त्यसपश्चात मात्रै नयाँ भन्सार एजेन्ट खुलाउनुपर्ने उनले जिकिर गरे ।

विभागले तोकेको मापदण्डमा विगतको प्रतिनिधिले प्रतिस्पर्धा गर्न नसकेको हुनाले यस क्षेत्रमा आबद्ध भएका एजेन्टलाई समेत समेटेर लानुपर्नेमा महासंघले विशेष जोड दिएका छन् ।

त्यसैगरी बर्षौ देखि भन्सार एजेन्टलाई भन्सार ऐन तथा नियमावलिमा भएका विभेदकारी ऐनको संशोधन लगायत पेशागत रुपमा मर्यादित तथा व्यवस्थित गराउन भन्सार एजेन्टलाई कम्पनी मोडालिटीमा रुपान्तरण गुनुपर्ने महासंघको भनाइ छ ।

‘२० औं वर्षदेखि भन्सार एजेन्टको प्रतिनिधि भई भन्सार एजेन्ट सरह कार्य गरेका भन्सार एजेन्ट प्रतिनिधिलार्य अनुभव र हालसम्मको कार्यको मूल्याङ्कन गर्दै निजहरूको उचित व्यवस्थापन गर्नुपर्नेछ । साथै, विगतका भन्सार एजेन्ट प्रतिनिधिलाई कार्य गरेका तर विभिन्न समयमा भएका भन्सार ऐन तथा नियमावली संशोधनले भन्सार एजेन्ट प्रतिनिधि समेत हुन नपाएका व्यक्तिहरूलाई उचित व्यवस्थापन एवं समस्याको समाधान गर्नुपर्नेछ,’ विज्ञप्तिमा उल्लेख छ ।

महासंघले यसबारे पटक पटक छलफल तथा ज्ञापनपत्र विभाग तथा अर्थ मन्त्रालयमा बुझाउँदा पनि समस्या समाधान गर्न कार्यदल गठन गरे पनि विभागले महासंघको विपरित निर्णय गरेको आरोप लगाए ।

विभागसँग पुरानो प्रतिनिधिलाई समेट्नुपर्ने विषयमा छलफल भएको थियो । तर, विभागका महानिर्देशक यमलाल भुसालको माथिबाटै निर्देशन आएको हुनाले हामीले थेग्न नसकेर नयाँ भन्सार एजेन्ट खुलाएको महासंघलाई जनाएको उनले बताए ।

त्यस्तै भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेका अनुसार भन्सार एजेन्टबारे महासंघले आपत्ति जनाएको बारे थाहा नभएको जानकारी दिए । विभागले सबैलाई समेटेर लाने उल्लेख गरेको छ । तर, महासंघले बिनाकारण आपत्ति जनाएको उनको भनाइ छ ।

महासंघले नयाँ भन्सार एजेन्टको योग्यताबारे वार्ता तथा छलफल गरि समस्याको समाधान गर्न सम्बन्धित निकायमा अनुरोध गरेको छ । तर, महासंघको मागलाई बेवास्ता भएको खण्डमा महासंघको बृहत राष्ट्रिय भेलाबाट भएको निर्णय अनुसार महासंघका प्रथक उपाध्यक्ष काशिराम उपध्याक्षको संयोजकत्वमा गठित संघर्ष समिति मार्फत चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ ।

भन्सार एजेन्टको लागि आज आवेदन भर्ने अन्तिम दिन रहेको छ । साथै दोब्बर दस्तुर तिरेर १२ गतेसम्म आवेदन दिने म्याद रहेको छ । तर, आज कै दिनमा महासंघले भने प्रेस विज्ञप्ति जारी आपत्ति जनाएको छ ।

त्यसैगरी भन्सार एजेन्ट नियमवालीमा पनि केही समस्या भएकाले समाधान गर्नुपर्ने माग गरेका छन् । जसमा एजेन्टलाई दण्ड जरिवाना र कर्मचारीलाई छुट दिएको शर्माको भनाइ छ । यसले गर्दा विभागले यस क्षेत्रमा धेरै सुधार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

सरकारले सबैमा क्यासलेस, पेपरलेस र फेसलेस बनाउनेमा जोड दिँदै आएको छ । त्यसमा पनि पूर्वाधारको विकास गरी कार्यान्वन गरी दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिनुपर्ने शर्माले बताए ।


क्लिकमान्डु