३ महिनापछि एकै दिन १ हजारभन्दा धेरैमा कोरोना संक्रमण




काठमाडौं । नेपालमा पछिल्लो समय कोरोना भाइरसको संक्रमणको तीव्र गतिमा फैलिरहेको छ । २०७७ पुसको दोस्रो सातादेखि नेपालमा कोरोना भाइरसको संक्रमण घट्यो क्रममा थियो ।

पुसदेखि कोरोना संक्रमणको दर ३ डिजिटमा झरेको थियो । अहिले नयाँ भेरियन्टको कोरोना भाइरसको उदयसँगै नेपालमा पहिलो पटक ४ डिजिटभन्दा धेरैमा कोरोना संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

प्रवक्ता गौतमका अनुसार ५ हजार ८४ पीसीआर परीक्षणबाट १ हजार १५ र ६ सय ९९ एन्टीजेनबाट ८१ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सर्वाधिक ४३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसमध्ये ३ सय २६ जना काठमाडौंमा, ६४ जना ललितपुर तथा ४५ जना भक्तपुरका रहेका छन् ।

पछिल्लो २४ घन्टामा २६२ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयको अनुसार पछिल्लो एक सातामा १९ हजार ५४२ परीक्षण भएकोमा ३ हजार १०९ संक्रमण देखिएको छ । यो साता ८५३ जना संक्रमण मुक्त भएका छन् ।


क्लिकमान्डु