सेयर बजारमा चलखेल गरेका अग्रवालमाथि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले छानबिन गर्ने



काठमाडौं । सेयर बजारमा चलखेल गरेपछि जनरल इन्स्योरेन्सका संचालक दिपेन्द्र अग्रवाल निलम्बनमा परेका छन् ।

बीमा समितिले अग्रवाललाई जनरल इन्स्योरेन्सका संचालक पदबाट निलम्बन गरेको हो ।

जनरल इन्स्योरेन्सले बीमा समितिको लगानी निर्देशिकालाई उलंघन गरेको छ । जनरल इन्स्योरेन्सका संचालक रहेका दिपेन्द्र अग्रवालले आफुले व्यक्तिगत रुपमा किनेको सेयर मूल्य बढाउन समेत जनरल इन्स्योरेन्सलाई दुरुपयोग गरेका थिए ।

बीमा समितिले बीमा कम्पनीले कुल टेक्निकल रिजर्भको १० प्रतिशतभन्दा कम नेप्सेमा सूचिकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था गरेको छ । तर,जनरल इन्स्योरेन्सले १५५ प्रतिशतसम्म लगानी गरेको छ । बीमा समितिको स्थलगत सुपरिवेक्षणमा अग्रवालले लगानी समितिको संयोजकको हिसाबले पदको दुरुपयोग गरेर व्यक्तिगत फाइदा निकालेको निचोड निकालेको छ ।

बीमा कम्पनीले आफ्ना प्रवद्र्धक कम्पनीको सेयर खरिद गर्न हुँदैन । त्यो विपरित जनरल इन्स्योरेन्सले सिभिल बैंक तथा गोर्खाज फाइनान्सको सेयर खरिद गरेको थियो ।
अग्रवालले जनरल इन्स्योरेन्सको सेयर खरिद गर्नको लागि टीएमएसको युजर नेम पासवर्ड कुनै निर्णय नै नगरेर आफै लिएका थिए ।

जनरल इन्स्योरेन्सले श्रीकृष्ण सेक्युरिटज प्रालि र सुमेरी सेक्युरिटीज प्रालिबाट सेर खरिदबिक्री गरको थियो । सेयर बिक्री वापतको रकम भने जनरल इन्स्योरेन्सको खातामा नगएको बीमा समितिको अनुसन्धानबाट खुलेको छ ।
अग्रवालले व्यक्तिगत रुपमा जनरल इन्स्योरेन्सले सेयर बिक्री गरेको पैसा व्यक्तिगत रुपमा चलाउने देखिएको छ ।

बीमा समितिले अग्रवाललाई निलम्बन गर्दै विभागिय कर्मचारीलाई समेत कारवाही गर्न जनरल इन्स्योरेन्सलाई निर्देशन दिएको छ ।

अग्रवालमाथि इन्साइडर टे«डिङ गरेको विषयमा समेत धितोपत्र बोर्डमा उजुरी छ । बीमा समितिको छानबिनमा समेत अग्रवालले इन्साइडर खाले ट्रेडिङ गरेको समेत देखिएको छ । बीमा समितिको दायरामा इन्साइडर ट्रेडिङ नपर्ने हुँदा समितिले थप कारवाही गर्न सक्दैन ।

‘बीमा समितिले आफ्नो दायरा अन्तर्गतको मात्र कारवाही गर्ने हो,अन्य नियमनकारी निकायले समेत अग्रवाललाई कारवाही गर्नुपर्ने देखिएको छ,’बीमा समितिले स्रोतले भन्यो ।
अग्रवाल पछिल्लो दशकमा सेयर बजारमा चलखेल गर्ने पात्रको रुपमा चिनिन्छन् ।

मेगा बैंकमा संचालक हुँदा समेत अग्रवाल यस्तै खाले विवादमा आएका थिए । जसको कारण मेगा बैंकको संचालक समितिको निर्वाचन नै अग्रवालले हारेका थिए । सेयर बजारको लगानीकर्ताको नाममा संगठन बनाउने तथा नियामक निकाय र बैंक तथा वित्तीय संस्थामा समेत सेयर बजारका लगानीकर्ताको संगठनको नाममा बार्गेनिङ गरेको समेत आरोप अग्रवाललाई लागेको छ ।

सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले थाल्यो छानबिन

जनरल इन्स्योरेन्सको संचालकबाट निलम्बन भएका दिपेन्द्र अग्रवाललाई सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले समेत छानबिन गरेको छ । अग्रवालमाथि सेयर बजारमा चलखेल गरेको तथा केही व्यक्तिको कालोधनलाई सेतो बनाउन सहयोग गरेको समेत आरोप लागेको छ ।

‘उजुरी परेपछि अनुसन्धान हुने प्रक्रिया अन्तर्गत अग्रवालमाथि छानबिन भएको हो,अहिले यो विषय प्रारम्भिक चरणमा छ,’स्रोतले भन्यो ।


क्लिकमान्डु