नयाँ शहर विकासको प्रगतिः ११ वटाको आइडीपी स्वीकृत, ९ वटाको अन्तिम स्वीकृतयोग्य रिपोर्ट



काठमाडौं । करिब ११ वर्षअघि देशभरका विभिन्न जिल्लामा नयाँ शहर विकास गर्ने घोषणा गरेको सरकारले हालसम्म जम्मा ११ वटा नयाँ शहरको आइडीपी स्वीकृत भएको छ ।

आर्थिक वर्ष २०६७/६८ सालमा नयाँ शहर स्मार्ट सिटी विकास गर्ने घोषणा गरेको योजनाअनुसार हरेक वर्ष नयाँ शहर संख्या बढ्दै गएको छ । हरेक वर्ष थपिँदै गएकाले चालु आर्थिक वर्षसम्म आइपुग्दा उक्त संख्या बढेर ३७ पुगेको छ ।

तर, घोषणा गरेको करिब ११ वर्ष पुग्दा पनि हालसम्म कुनै पनि स्थानमा नयाँ शहरको विकास गर्न सकेको छैन । सरकारले भौतिक, सामाजिक तथा आर्थिक पूर्वाधारहरु निर्माण तथा विकास गर्न प्रत्येक शहरको लागि कम्तिमा ५ देखि २० वर्ष लाग्ने अनुमान गरेको छ ।

१३ वटा स्मार्ट सिटीमध्ये ९ वटाको डीपीआर तयार, कति लाग्ला खर्च ?

तर, घोषणा गरेको करिब ११ वर्ष बितिसक्दा पनि कुनै पनि नयाँ शहर निर्माणको कार्य भने सुस्त गतिमा भएको नयाँ शहर आयोजना समन्यव कार्यालयले जनाएको छ ।

आयोजनाका निर्देशक रोशन श्रेष्ठका अनुसार हरेक वर्ष नयाँ शहर विकास रुपमा विकास गर्ने भन्दै संख्या थप्दै गएको बताए । सरकारले वार्षिकरुपमा विभिन्न जिल्ला तथा स्थानमा विकास गर्ने भनिए पनि उक्त आयोजना निर्माण गर्नको लागि कार्यालयले प्रस्ताव गरेको बजेट सिलिङअनुसार प्राप्त हुन नसक्दा कार्य अघि बढाउन नसकिएको उनको भनाइ छ ।

‘कार्यालयले हरेक वर्ष आयोजनाको काम गर्न सक्ने गरी बजेटको सिलिङ प्रस्ताव गरेको हुन्छ,’ आयोजनाका निर्देशक श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘कार्यालयले गरेको बजेट सिलिङभन्दा निकै थोरै बजेट प्राप्त हुन्छ । त्यसैले कार्यालयले योजना बनाएको अपेक्षाअनुसार काम हुन सकेको छैन ।’

नयाँ सहर र स्मार्ट सिटीको चाङ ५० पुग्यो, शुरुवात र सम्पन्नताको टुंगो छैन

त्यस्तै, सरकारले उक्त आयोजनाको लागि छुट्ट्याइएको बजेट अनुसार भने काम भइरहेको उनको दाबी छ । सरकारले आर्थिक वर्ष २०६७/६८ मा पहिलो पटक नयाँ शहरको रुपमा विकास गर्ने भन्दै मध्यपहाडी लोकमार्ग अवस्थित स्थानहरूमा १२ वटा नयाँ शहर विकास गर्ने भनिएको थियो ।

उक्त वर्ष विकास गर्ने भनिएको नयाँ शहरहरूको हालसम्म केही काम हुन सकेको छैन ।

यी हुन् ७ वटा आइडीपी स्वीकृत भएका नयाँ शहर

आर्थिक वर्ष २०६७/६८ मा घोषण भएको आयोजनाको काम कुनै नभए पनि आर्थिक वर्ष २०७४/७५ मा हुलाकी लोकमार्गमा अवस्थित स्थानहरूमा १० वटा नयाँ शहरहरूको काम भने भइरहेको आयोजना कार्यालयको भनाइ छ ।

हुलाकी लोकमार्गमा अवस्थित नयाँ शहरमध्ये ५ वटाको आइडीपी स्वीकृत भइसकेको छ भने बाँकी ५ वटाको आइडीपीको स्वीकार योग्य फाइन रिपोर्ट प्राप्त भएको आयोजना कार्यालयले जनाएको छ ।

हुलाकी लोकमार्गमा अवस्थित नयाँ शहरहरूमा झापाको गौरीगञ्ज, मोरङको रंगेली, बाराको महागढीमाई, नवलपरासीको बर्दघाट र राजापुरको नयाँ शहरहरुको आइडीपीको फाइनल रिपोर्ट स्वीकृत भएको छ ।

त्यसैगरी, तराई मधेसमा अवस्थित ५ शहरहरूमध्ये दाङको गढवाको भने आइडीपीको फाइनल रिपोर्ट स्वीकृत भएको कार्यालयले उल्लेख गरेको छ ।

साथै, ट्रान्स हिमालाय ट्रायलका ५ हिमाली बस्तीहरू सोलुखुम्बुको लुक्ला, रसुवाको स्याप्रुवेशी, जोमसोमको मुस्ताङ, हुम्लाको सिमिकोट र बाजुरको मार्तडी पनि मोनोफोलोजिकल रिटेनमेन्ट एण्ड इन्ह्यान्समेन्ट प्लानको फाइनल रिपोर्ट स्वीकृत भएको छ ।

हुलाकी राजमार्गमा अवस्थित अन्य महोत्तरीको मनरा, सर्लाहीको ब्रम्हपुरी, रौतहटको मौलापुर, कैलालीको भजनी र कञ्चनपुरको बैलरीको भने आइडीपीको स्वीकृत योग्य फाइनल रिपोर्ट प्राप्त भएको छ ।

त्यस्तै, तराई मधेशमा अवस्थित सप्तरीको सम्भूनाथ, महोत्तरीको बलवा, सर्लाहीको ईश्वरपुर र रौतहटको कटहरीको नयाँ शहरको पनि आइडीपीको स्वीकार योग्य फाइनल रिपोर्ट प्राप्त भएको जनाएको छ ।

आयोजना कार्यालयका अनुसार चालु आवमा चारवटा ब्लक प्लान स्वीकृत भएका ४ वटा स्थानमा ल्यान्ड पुलिङको आयोजना कार्यान्वयन गरेको छ । जसमा खुर्कोट, साँफेवगर, डुम्रेभन्सार र फिदिम रहेको छ ।

त्यस्तै, फिदिम नयाँ शहरको विभिन्न आयोजनाको डिपीआर तयार भई अन्य पूर्वाधार निर्माण कार्य सम्पन्न गरेको छ । फिदिम नगरपालिकामा नयाँ शहर विकासका लागि पूर्वाधार निर्माणका लागि २०७६ साल असोज २९ गते सम्झौता भई २०७७ जेठ २८ गते सम्पन्न गर्ने भनिएको थियो ।

आयोजना कार्यालयको अनुसार एनसीबी प्रक्रियाबाट खरिद गरेको उक्त अयोजना भ्याटसहित ४२ लाख ५५ हजार ८ सय रुपैयाँमा सम्झौता भई भौतिक तथा वित्तीयरुपमा १०० प्रतिशत सम्पन्न गरेको छ ।

साथै, बसन्तपुर नयाँ शहरको चोलुंक पार्क, बैरेनी गल्छीको कृषि उपज केन्द्र, कल्लेरीटार सडक, डुम्रेभन्सारको प्रगतिमार्ग सडक निर्माण, हरियाली तथा मनोरञ्जन पार्क निर्माणका साथै विभिन्न कार्य भइरहेको छ ।

साथै, राकम नयाँ शहरको लागि खानेपानी आयोजना निर्माणका लागि २०७६ साल पुसको २७ गते सम्झौता भई २०७७ साल पुस २६ गते सम्पन्न गर्ने मिति तोकेको थियो ।

तर, उक्त आयोजनाको कार्य हालसम्म भौतिकरुपमा ५० प्रतिशत र वित्तीयतर्फ ६० प्रतिशत प्रगति भएको छ । सो आयोजना भ्याटसहित १७ लाख ७५ हजार ३ सय २९ रुपैयाँमा सम्झौता भएको थियो ।

पाटक नयाँ शहरको क्षेत्र २३ किलोमिटर शहरी सडक स्तरोन्नतिको कार्य पनि सम्पन्न भएको छ ।

बोलपत्र खरिद प्रक्रियाबाट २०७४ साल चैत्र २७ गते सम्झौता भएको उक्त आयोजनाको सम्पन्न मिति २०७६ साल भदौ ३० गते तोकिएको थियो ।

सो आयोजनाको लागि ३ करोड ७६ लाख ७९ हजार रुपयाँमा सम्झौता भएको आयोजना कार्यालयको तथ्याङ्कले देखाउँछ ।


पुष्प दुलाल