कोरोनाको दोस्रो लहर रोकिए, राजस्वको संसोधित लक्ष्य पुरा हुने



काठमाडौं । कोरोनाको दोस्रो लहर बृद्धि नभएमा सरकारले यो वर्षका लागि राखेको लक्ष्य अनुसारको राजस्व संकलन पुरा हुने देखिएको छ ।

गतवर्ष बजेटमा राखिएको लक्ष्य पुरा नभएपनि मध्यावधी समिक्षा मार्फत राखिएको लक्ष्य आर्थिक वर्षको अन्त्यसम्म पुरा हुने देखिएको छ ।

सरकारले यो वर्षको लागि १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको थियो । गत जेठ १५ मा ल्याएको बजेटमा तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेमो त्यसलाई अर्थमन्त्री बिष्णु पौडेलले घटाएर ९ खर्ब ५९ अर्ब रुपैयाँमा झारेका थिए ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार चैत ३० गतेसम्म ६ खर्ब ६६ अर्ब रुपैयाँ राजस्व उठेको छ । तेस्रोे त्रैमासको अन्तिम दिन गर्दा करिब ७ खर्ब राजस्व उठ्ने अनुमान राजस्वका अधिकारीको छ । अन्तिम दिन उठ्ने रकम अझै बढी हुन्छ ।

पुसदेखि आर्थिक गतिविधि बढ्दै जादा राजस्व संकलन समेत बढेको छ । आर्थिक गतिविधि बढेको कारण आयात समेत बढेको छ । पुसदेखिको आयात अत्याधिक भएको हुँदा शोधानान्तर बचत समेत घट्दै गएको छ । फागुन मसान्तमा आउदा अघिल्लो वर्षको तुलनामा आयात बढेको छ । फागुन मसान्तसम्म ९ खर्ब ४३ अर्ब रुपैयाँ आयात भएको छ । पुसदेखि नै महिनाको राजस्वको लक्ष्य पुरा हुन थालेको थियो ।

कोरोना भाइरसको दोस्रो लहर अहिले देखिएको छ । दोस्रो लहर नियन्त्रणमा आएमा राजस्व संकलनको लक्ष्य पुरा गर्न कठिनाई नहुँने अनुमान राजस्वका अधिकारीको छ । पुसदेखि ३ महिना आयात बढेको कारण भन्सार राजस्व बढ्दा राजस्व बढेको हो । यद्यपी आयकर तर्फ भने घटेको छ । कोरोना भाइरस नियन्त्रण नभएमा पुनः लकडाउन गर्नु परेमा भने लक्ष्य पुरा हुन कठिन हुने छ ।

फागुन मसान्तसम्म १ खर्ब ७५ अर्ब रुपैयाँ मूल्य अभिबृद्धि कर(भ्याट) मार्फत संकलन भएको छ । यस्तै भन्सार राजस्व अन्तर्गत १ खर्ब २६ अर्ब,आयकर वापत १ खर्ब २६ अर्ब,अन्तःशुल्क मार्फत ८४ अर्ब उठेको थियो । आयात बढेसँगै भन्सार महशुल अघिल्लो वर्षको ८ महिनाको तुलनामा भन्सार राजस्व २४ प्रतिशतले बढेको छ । यद्यपी आयकर भने अघिल्लो वर्षको तुलनामा ५.४ प्रतिशतले घटेको छ । भ्याट ५.४ तथा अन्तःशुल्क ५.४ प्रतिशतले बढेको छ ।


क्लिकमान्डु