हकप्रद आवश्यकता वा बढ्दो बजारमा पैसा कमाउने माध्यम ? हकप्रदका नाममा यसरी भयो विकृत्ति



काठमाडौं । सार्वजनिक निष्कासन (आइपीओ) जारी गरेको एक वर्ष नहुँदै अजोड इन्स्योरेन्स ५० प्रतिशत हकप्रद सेयर निकाल्ने निर्णय गर्यो । जसकारण उछालिएको अजोडको सेयर मूल्य बीमा समितिले तत्काल हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने निर्णयसँगै घट्यो ।

निर्जीवन बीमा कम्पनीमा एक नम्बरमा रहेको शिखर इस्योरेन्सले संस्थापक सेयरको अनुपात ६० प्रतिशतबाट ५१ प्रतिशतमा झारेर ३० प्रतिशत हकप्रद सेयर ल्याउने निर्णय गर्यो ।

बढ्यो बजारमा ९ प्रतिशत संस्थापक सेयर साधारणमा परिणत गरेर बढी फाइदा लिने उद्देश्य शिखर इन्स्योरेन्सका लगानीकर्ताले राखेको देखियो ।

आइएमई जनरल इन्स्योरेन्सले पनि ८० प्रतिशत संस्थापक सेयरलाई ६० प्रतिशतमा झारेर ४० प्रतिशतको हकप्रद प्रस्ताव गरेको थियो ।

बीमा कम्पनीमा हकप्रदको बिकृति रोकिने, अजोडले हकप्रद निकाल्न नपाउने

पूँजी बढाउनुपर्ने बाध्यता भए पनि निर्जीवन बीमा कम्पनीका संचालकले संस्थापक सेयरलाई साधारणमा परिणत गर्ने र हकप्रद जारी गर्दा दोस्रो बजारमा महंगो मूल्यमा आफ्नो सेयर बेच्ने रणनीति लिएका थिए ।

बढ्दो बजारमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय हुनासाथ मूल्य बढ्छ । जसको फाइदा संस्थापक सेयरधनीलाई हुन्छ ।

बीमा ऐनमा पनि निश्चित वर्षपछि संस्थापक सेयर साधारणमा परिणत गर्ने सुविधा छ । त्यही सुविधालाई कम्पनीहरुले बढ्दो बजारमा संस्थापकले अत्याधिक पैसा कमाउने नीतिको रुपमा लिएका हुन् ।

बोनस सेयर मात्र पाएका संस्थापक सेयरधनीले सेयर बेच्न झन्झट र मूल्यपनि कम हुन्छ । तर, साधारणमा परिणत भएपछि सो सेयर चाहेको समयमा बढी मूल्यमा बेच्न सकिन्छ । यसैको फाइदा उठाउन कतिपय कम्पनीले हकप्रदको नाममा संस्थापकले महंगो मूल्य सेयर बिक्री गर्ने खेल खेल्न खोजेको देखिन्छ ।

‘पूँजीको आकारमा प्रिमियम संकलन गरेका बीमा कम्पनीबाट व्यवसायबाट मात्र लाभांश दिन सक्दैनन्, राम्रो लाभांश दिएका कम्पनीले पनि एफपीओको कारण दिएका हुन्,’ बीमा कम्पनीका एक उच्च अधिकारीले भने ।

बीमा कम्पनीले हकप्रद सेयर निष्कासन गर्दा अर्को फाइदा छ । त्यो हो सबै हकप्रद सेयर बिक्दैन । नबिकेको हकप्रद सेयर लिलाम बढाबढमा बिक्छ । जसले गर्दा कम्पनीलाई प्रिमियम वापत कम्तीमा ७ देखि ८ करोड रुपैयाँ आउछ । जुन बोनस सेयर बाँड्नका लागि हो ।

अहिले बीमा समितिले जीवन बीमा कम्पनीको चुक्ता पूँजी २ अर्ब र निर्जीवनको १ अर्ब तोकेको छ । बीमा कम्पनीहरुले गर्दै आएको व्यवसाय अनुसार सो पूँजी कमपनि हुनसक्छ । त्यही आधारमा धेरै बीमा कम्पनीले पूँजी बढाउनको लागि कमाएको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका छन् ।

‘हरेक वर्ष राम्रो लाभांश दिएका कम्पनीले पनि एफपीओको कारण दिन सफल भएका हुन्, रियल बिजनेशबाट १५ प्रतिशतपनि लाभांश दिन ठूला कम्पनीलाई कठिन छ,’ एक बीमा कम्पनीका अधिकारीले भने ।

बीमा समितिले भने पूँजी बृद्धिको लागि हकप्रद आवश्यक भएपनि अध्ययन गरेर मात्र जारी गर्न दिने वा नदिने निर्णय लिने भएको छ । यसबाहेक बीमा समितिले बीमा कम्पनीलाई समितिबाट अनुमति लिएर मात्र हकप्रदको सूचना जारी गर्न निर्देशन दिएको छ ।

बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले समितिबाट अनुमति लिएर मात्र कम्पनीले हकप्रदको सूचना जारी गर्नुपर्ने बताए ।

‘पूँजी बढाउनको लागि हकप्रद आवश्यक पनि हो तर यो विषय सेयर बजारमा खेल्ने उपकरण हुनु भएन, यो विषयमा समिति गम्भिर छ,’ सिलवालले क्लिकमाण्डूसँग भने ।

यसो त बढ्दो बजारमा हकप्रद ल्याउदा तत्काल लाभ भएपनि दीर्घकालमा भने घाटा नै छ । २०७३ सालको नेप्से बुल हुँदा बैंकहरुको चुक्ता पूँजी ४ गुणा बढेको थियो । जसको कारण बैंकहरुले हकप्रदपनि ल्याए । सोही हकप्रदको कारण उचालिएर सेयर किन्नेहरु अहिलेपनि घाटामा छन् ।

पूँजी बृद्धिको लागि हकप्रद आवश्यक भएपनि नेपालको सेयर बजारमा भने यसलाई चलखेल गर्ने औजारको रुपमा मात्र लिइन्छ । अझ हकप्रदको निर्णय गर्ने भएपछि त्यो सूचना लिक गरेर इन्साइडर ट्रेडिङ झन डरलाग्दो छ । जुन अजोड इन्स्योरेन्समा देखियो ।


पुष्प दुलाल