बीमा कम्पनीमा हकप्रदको बिकृति रोकिने, अजोडले हकप्रद निकाल्न नपाउने



काठमाडौं । अजोड इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न बीमा समितिले रोक लगाउने भएको छ ।

अजोड इन्स्योरेन्सको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद ल्याउने निर्णय गरेको छ । साधारणसभामा अजोडले ५० प्रतिशत हकप्रद निष्कासनका प्रस्ताव लग्ने निर्णय गरेको थियो ।

अजोड इन्स्योरेन्सको गत सोमबार बसेको संचालक समितिको बैठकले ५० प्रतिशत हकप्रद सेयर निकाल्ने र बुक क्लोजको निर्णय गरेको थियो । तर,सोही दिन नै अजोड इन्स्योरेन्सको सेयर सर्किट ब्रेक लाग्दै बढेको थियो । अजोड इन्स्योरेन्सको सेयर मूल्य १ हजार ३१ रुपैयाँसम्म पुगेको थियो ।

अजोड इन्स्योरेन्समा ७० प्रतिशत संस्थापक र ३० प्रतिशत सर्वसाधारण लगानीकर्ताको सेयर छ ।

अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले बनायो समिति

अजोड इन्स्योरेन्सको संचालक समितिले हकप्रद सेयर निष्कासनको निर्णय गर्नु अगाडि नै यसको सूचना चुहिएको थियो ।

बीमा समितिले अजोड इन्स्योरेन्सले आइपीओ निकालेको एकवर्ष समेत नभएको हुँदा हकप्रद निष्कासन गर्न नदिने निर्णय गरेको हो ।

अजोड इन्स्योरेन्स संचालनमा आएको तीनवर्ष भइसकेको छ । चालु आर्थिक वर्षमा अजोडले सर्वसाधारणलाई सेयर निकाष्सन गरेको थियो । तर,अजोडले सेयरधनीलाई कुनै खाले लाभांश दिएन ।

बीमा कम्पनीहरुको ध्यान कोर बिजनेशमा भन्दा हकप्रद तथा थप सार्वजनिक निष्कासन(एफपीओ) निकालेर त्यसबाट आउने पैसाबाट बोनस सेयर दिनेमा देखिन्छ । जसले गर्दा बीमाको सेयरमा अत्याधिक चलखेल गरेको छ ।

लगानीकर्ताले समेत हकप्रद सेयरलाई नै रुचाउने गरेका छन् । जसको कारण अजोड इन्स्योरेन्सको सेयर मूल्य १ हजार ३१ रुपैयाँसम्म पुग्यो ।

बीमा समितिले अजोडको हकमा आइपीओ निष्कासन गरेपछि लाभांश नै नदिएको कम्पनीलाई हकप्रद सेयर नै आवश्यक नभएको राय दिएको छ । सोही अनुसारको पत्र अजोडलाई बीमा समितिले दिने छ ।

बीमा समितिले बीमा कम्पनीहरुको हकप्रदको विषयमा गम्भिर अध्ययन गरेर निर्णय गर्ने निर्णय गरेको छ । बीमा समितिका अध्यक्ष सुर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुको हकप्रदको प्रस्ताव समितिमा नआएको बताए ।

‘हकप्रद सेयरमा बिकृति आउन दिने छैनौ,यसमा अध्ययन गर्ने छौ,’अध्यक्ष सिलवालले क्लिकमाण्डूसँग भने ।

निर्जीवन बीमा कम्पनीहरु शिखर,आइएमई जनरल र अजोडले हकप्रदको प्रस्ताव गरेका थिए ।

जसमा शिखरले संस्थापक सेयर ६० प्रतिशतबाट घटाएर ५१ प्रतिशतमा पुर्याउने, आइएमई जनरलले ८० बाट ६० मा पुर्याउने र हकप्रद ल्याउने निर्णय गरेका थिए । हकप्रद सेयर निष्कासन गरेपछि सेयर मूल्य बढ्ने र संस्थापकबाट साधारणमा परिणत भएको सेयरबाट संस्थापकले समेत राम्रो पैसा कमाउने गर्छन् ।


क्लिकमान्डु