अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले बनायो समिति



काठमाडौं । अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङ विषयमा छानबिन गर्न धितोपत्र बोर्डले कमिटि गठन गरेको छ ।

सोमबार बोर्डले कमिटी गठन गर्दै अजोडको सेयर कारोबारको विस्तृत छानबिन गर्ने भएको हो ।

बजारमा अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ भएको भन्दै बोर्डमा सरोकारवालाले उजुरी दिए पछि छानबिन कमिटी गठन गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए ।

उनका अनुसार बोडले नेपाल स्टक एक्सचेन्जलाई कम्पनीको सेयर कारोबारबारे छानविन गरी प्रतिवेदन बुझाउन भनेको थियो । तर नेप्सेले एक साता अर्थात् चैत १६ गतेसम्मको सेयर कारोबारको मात्र विवरण पढाएपछि बोड स्यमः यस विषयको विस्तृत छानबिनमा लागेको उनको भनाइ छ ।

‘नेप्सेलाई बोर्डले प्रतिवेदन बुझाउन निर्देशन दिइएको थियो,’ उनले क्लिकमाण्डूसँग भने, ‘तर नेप्सेले १६ गतेसम्म एक साताको कारोबारको विवरणमात्र पठायो । सोही कारण बोर्डका निर्देशक अम्बिका गिरीको संयोजकत्वका ४ जनाको छानबिन कमिटी आज गठन गरिएको छ ।’

कमिटीलाई बोर्डले जतिसक्दो चाँडो छाबिन गरी रिपोर्ट पेश गर्न निर्देशन दिएको छ । रिपोर्ट अध्ययन पछि इन्साइडर ट्रेडिङ नै गरिएको पाइएमा ऐन अनुसार १ लाख रुपैयाँ नगद जरिवाना, कारोबार रोक्का देखि ५ वर्षसम्म जेल सजाँयसम्मको भागिदार कम्पनी हुने उनले बताए । छानबिन समितिले कम्पनी, नेप्से र आवश्यक परेको अवस्थामा बीमा समितिसँग समेत समन्वय गरेर छानबिन प्रक्रिया अगाडि बढाउने उनले जानकारी दिए ।

अजोड इन्स्योरेन्सले गत चैत १० गते साधारणसभाका लागि सञ्चालक समितिको बैठकमा हकप्रदको प्रस्ताव गरिएको निणर्य गरिएको पत्र नेप्से पठाएको थियो । उक्त पत्रमा सञ्चालक समितिको निर्णय ट्रेटिङ आवर २.३० मा गरिएको उल्लेख हुँदा इन्साइडर भएको गुनासो बोर्डमा धेरै पक्षले गरेको अध्यक्ष ढुङगानाले जानकारी दिए ।


क्लिकमान्डु