पूर्व-पश्चिम राजमार्गः कमला-ढल्केबर-पथलैया सडकखण्ड चार लेनको बन्ने
काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कमला-ढल्केबहर-पथलैया सडकखण्ड बिस्तार ४ लेनमा स्तरोन्नति हुने भएको छ ।
सडक विभागअन्तर्गतको विकास सहायता कार्यान्वयन महाशाखाले कमला–ढल्केबहर–पथलैया १३० किमी सडक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न सक्ने परामर्शदाताको प्रारम्भिक सूचि तयार गरेको छ ।
नेपाल, भारत र बंगलादेशका परामर्शदाता प्रारम्भिक चरणमा सूचिकृत भएको महाशाखा प्रमुख रामहरि पोखरेलले जानकारी दिए ।
‘आठ वटा परामर्शदाताको प्रारम्भिक सूचि बनाइएको छ । ती परामर्शदाताले प्रस्तावित ढाँचाको आशय पेश गरिसकेका छन् । महाशाखाले परामर्शदाको प्राविधिक र मोडालिटी ढाँचाको अध्ययन गरेको छ’, प्रमुख पोखरेलले भने, ‘प्राविधिक र मोडालिटीमा सबल देखिएका परामर्शदाताको आर्थिक प्रस्ताव खोलिनेछ ।’
प्राविधिक, मोडालिटी र आर्थिक प्रस्तावको मूल्यांकन गर्दा सबैभन्दा धेरै अंकले परामर्शदातासँग डीपीआरका लागि सम्झौता गरिने पोखरलले बताए ।
प्रारम्भिक चरणमा कन्सल्टिङ इन्जिनियर्स ग्रुप/सिभिल इफर्मेटिक एण्ड सलुसन जेभी, एगिस इन्डिया कल्सल्टिङ इजिनियर्स/फुल ब्राइट कन्सल्टेन्सी जेभी, ईक्यूएमएक कन्सल्टिङ/एभरेष्ट इन्जिनियरिङ जेभी, ईआरएमसी, ईएस सेफगाडर्स कम्प्लाइन्स सर्भिस/जीईओसीई कन्स्लट्यान्स जेभी, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कन्स्लट्यान्स, जेड कन्सल्ट/नेस्नल इन्जिनियरिङ सर्भिस र सोविल/जोमा इन्जिनियर्स सूचिकृत भएका छन् ।
महाशाखाले डीपीआरका लागि २०७७ जेठ २२ गते आशय माग गरेको थियो । आशय पेश गर्नेमा डीपीआर बनाउन सबल देखिएका परामर्शदातालाई प्रारम्भिक चरणमा सूचिकृत गरिएको हो ।
सूचिकृत परामर्शदाताको मूल्यांकनको एक महिनाभित्र सक्ने महाशाखाले लक्ष्य राखेको छ । सबल परामर्शदाताहरुको आर्थिक प्रस्ताव खोलेर चालु आवभित्रै डीपीआर निर्माण सम्बन्धी ठेक्का सम्झौता गर्ने महाशाखाको योजना छ ।
हाल भइरहेको २ लेनको कमला–ढल्केबहर–पथलैया सडक खण्डलाई ४ लेनमा स्तरोन्नती गर्न डीपीआर तयार गर्न खोजिएको हो ।
‘पूर्व-पश्चिम राजमार्गमा सवारी चाप बढ्दो छ । सवारीको चापलाई सम्बोधन हुनेगरी सडक बिस्तार आवश्यक छ’, प्रमुख पोखरेलले भने, ‘राजमार्गलाई क्रमिक रूपमा बिस्तार गर्ने सरकारी योजना छ ।’
कमला-ढल्केबहर–पथलैया सडकखण्ड विश्व बैंकको सहयोगमा बिस्तार गरिनेछ । यसमा विश्वको ३० प्रतिशत र नेपाल सरकारको ७० प्रतिशत लगानी रहनेछ ।
विश्व बैंकको रणनीति सडक सञ्जाल र व्यापार प्रवर्द्धन परियोजनाअन्तर्गत कमला-ढल्केबर-पथलैया सडक रहेको छ ।
एसआरसी एन्ड टीआईपी परियोजना सञ्चालन गर्न गत जेठ २८ गते विश्व बैंकबाट ४५ मिलियन अमेरिकी डलर बराबरको सहयोग स्वीकृत गरिसकेको छ । तर, यो सहुलियतपूर्ण ऋण सम्बन्धी अर्थमन्त्रालय र विश्व बैंकबीच सम्झौता हुन बाँकी छ ।
डीपीआर तयार भएको छैन । डीपीआर तयार भएपछि आवश्यक लागतको टुंगो लाग्छ । डीपीआरको जिम्मा पाउने परामर्शदाताले एक वर्षभित्रमा सडक र ७६ पुलको डीपीआर तयार गर्नुपर्छ । डीपीआर तयार भएसँगै बिस्तारका लागि ठेक्काको सूचना प्रकाशित गरिने प्रमुख पोखरेलको भनाइ छ ।
पूर्व-पश्चिम राजमार्गलाई चार लेनमा बिस्तार गर्ने सरकारको नीति पनि रहेको छ । आगामी आर्थिक वर्षकोे बजेटमा पूर्व–पश्चिम राजमार्ग बिस्तार गर्न १२ अर्ब २१ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कमला-ढल्केबर-पथलैया खण्ड रसिया र भारत सरकारको सहयोगमा निर्माण भएको हो । रुस सरकारको सहयोगमा सन् १९७४ मा ढल्केबर-पथलैया खण्ड १०९ किमी र भारत सरकारको सहयोगमा सन् १९७० मा ढल्केबहर–कमला २१ किमी सडक बिस्तार भएको थियो ।
शुरुवाती समयमा एक लेनमा यो सडक निर्माण गरिएको थियो । सन् १९९० मा दुई लेनमा बिस्तार गरिएको थियो । अब एसियाली राजमार्ग मापदण्ड अनुरुप डेडिकेटेड चार लेनमा कमला-ढल्केबहर-पथलैया सडक खण्ड बिस्तार हुनेछ ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गकै बुटवल-नारायणघाट खण्ड र कमला–कञ्चनपुर खण्ड ठेक्का ठेक्का लागेर निर्माण भइरहेको छ । नारायणगढ-पथलैया, काँकडभिट्टा-लौकी र बुटवल-गोरुसिंगे खण्ड डीपीआरको तयार भइरहेको छ । कमला-ढल्केबर-पथलैया खण्ड बाहेक अरु खण्ड एशियाली विकास बैंकको ऋण सहयोगमा बिस्तार गरिँदै छ ।