लघु, घरेलु र साना उद्योगहरुको प्रवर्द्धनमा आगामी बजेटमा जोड दिइनेछः उद्योगमन्त्री भट्ट
काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्ने कार्यक्रमहरू आगामी वर्षको बजेटमा समावेश गर्नुपर्ने बताएका छन् ।
चालु आवको दोस्रो चौमासिकको प्रगति विवरण समीक्षा कार्यक्रममा बोल्दै मन्त्री भट्टले सो बताएका हुन् ।
वैठकमा मन्त्रालय र मातहतमा निकायहरुको वार्षिक कार्ययोजना अनुरुप हरेक कार्यक्रमहरु समयावधिभित्रै सम्पन्न गर्न तथा कार्यसम्पादनका क्रममा आएका समस्यालाई विश्लेषण गरी तत्काल समाधान गर्न निर्देशन दिएको छ ।
साथै, वार्षिक कार्ययोजना बमोजिम सम्पन्न हुन नसकेका कार्यक्रमहरु कार्ययोजनामा आवश्यक परिमार्जनसहित लक्ष्य हासिल गर्ने गरी कार्य सम्पादन गर्ने निर्देशन दिएको छ ।
‘मन्त्रालय मातहतका निकायहरुले आफूले पाएको कार्यजिम्मेवारीपूर्वक पूरा गर्न तथा सम्पादन भएका कार्यको समयमै प्रतिवेदन तयार गर्नका साथै कार्यक्रम सञ्चालन गर्दा अन्तरनिकाय तथा तहगत समन्वय गर्न जोड दिनुपर्ने बताए ।
‘कार्यक्रममा राज्यमन्त्रीहरुले मन्त्रालयले नीतिगत क्षेत्रमा राम्रो प्रगति हासिल गरेको र अन्य कार्यक्रममा समेत अपेक्षित नतिजा हासिल गर्न प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ,’ उनले भने, ‘समुदायस्तरको आर्थिक रुपान्तरणमा योगदान पुर्याउने लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन गर्ने कार्यक्रमहरु आगामी वर्षको बजेट तर्जुमा गर्दा समावेश गर्नुपर्छ ।’
यस्तै, राष्ट्रिय योजना आयोगका सदस्यले बजेट कार्यान्वयन कार्ययोजना बमोजिम मन्त्रालयले वार्षिक कार्यक्रम एवं माइलस्टोनको कार्यान्वयन गर्न तथा मुलुकको समग्र उत्पादन, रोजगारी, वितरण र उपभोगका क्षेत्रमा सकारात्मक नतिजा हासिल गर्नेगरी कार्यक्रम तर्जुमा तथा कार्यान्वयन गर्नुपर्ने बताए ।
साथै, आगामी बजेट तथा कार्यक्रम तर्जुमा गर्दा १५औं योजनाले लिएका रणनीति तथा कार्यनीति कार्यान्वयन हुने गरी यथार्थपरक, कार्यान्वयनयोग्य र नतिजामुखी कार्यक्रम तर्जुमा गर्नुपर्ने धारणा राखे ।
मन्त्रालयका सचिवहरुको कार्यक्रम कार्यान्वयनका सन्दर्भमा आएका समस्याको विश्लेषण गरी कार्यान्वयनको रणनीति बनाउन तथा आगामी चौमासिक अवधिमा समग्र वार्षिक लक्ष्य पूरा गर्ने गरी कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् ।
बैठकमा मन्त्रालयको योजना, अनुगमन र मुल्याङ्कन महाशाखाबाट मन्त्रालय मन्त्रालय अन्तर्गतका निकायहरुबाट आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक अवधिसम्म अवधिमा मन्त्रालयबाट तयार भएका १७ वटा विभिन्न कानून, निर्देशिका तथा कार्यविधिहरु स्वीकृत भएको जनाएको छ । साथै, अन्य २९ वटा कानून, निर्देशिका तथा कार्यविधिहरु तर्जुमा तथा स्वीकृतिको चरणमा रहेको मन्त्रालयको भनाइ छ ।
त्यस्तै, मन्त्रालयका २०० वटा माइलस्टोनमध्ये ७७ वटा सम्पन्न भएको, ६१ वटाको कार्य सम्पादन भइरहेको र ५ वटा शुरु हुन नसकेको मन्त्रालयको भनाइ छ ।
बैठकमा प्रस्तुत विवरणअनुसार आर्थिक वर्ष २०७७/७८ को दोस्रो चौमासिक अवधिसम्मको मन्त्रालयको चालु अर्च तर्फको वित्तीय प्रगति ३५ प्रतिशत र पूँजीगत तर्फको बित्तीय प्रगति १३ प्रतिशत गरी मन्त्रालयको समग्र बित्तीय प्रगति २४.२८ प्रतिशत रहेको छ ।