भिजिविलिटी १६०० मिटर भएपछि अन्तर्राष्ट्रिय उडान शुरु, आन्तरिकमा समस्या



काठमाडौं । शुक्रबार र शनिबार राजधानी काठमाडौंको आकाशमा तुँवालो छाएपछि प्रभावित भएको हवाई उडान आइतबार भने शुरु भएको छ ।

विमानस्थलका अनुसार आइतबार बिहानको भिजिविलिटी १६०० मिटर छ । अन्तर्राष्ट्रिय उडान शुरु भइसकेको छ भने आन्तरिक उडानमा भने अझै पनि समस्या देखिएको छ ।

विमानस्थलका अनुसार अन्तर्राष्ट्रिय उडानतर्फ एयर चाइनाको विहान ११ः२० बजे अवतरण हुने विमान रद्द भएको छ भने अन्य विमानअरु अवतरण गरिसकेका छन् । त्यसैगरी एयर चाइनाकै १२ः२० बजे उडान निर्धारण भएको विमानको उडान रद्द भएको छ ।

यता आन्तरिक उडानतर्फ यति एयरलाइन्सको माउण्टेन फ्लाइट उडान मौसमका कारण उडानमा ढिलाइ भएको थियो ।

विहान साढे ६ बजेका लागि तय भएको माउण्टेन फ्लाइटको उडान विहान सवा १० बजेतिर मात्रै उडान भएको यति एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलालले जानकारी दिए ।

तारा एयरको लुक्ला उडानमा मौसम खराबीका कारण उडान हुन सकेको छैन ।

नेपाल एयरलाइन्सको रुकुम, बुध्द एयरको पोखरा, समिट एयरको लुक्ला, यति एयरलाइन्सको भरतपुर, श्री एयरलाइन्सको पोखरा, बुध्द एयरको भरतपुर र पोखरा उडान रद्द भइरहेको छ । साथै अधिकांश आन्तरिकतर्फका उडानहरु मौसम खराबीका कारण डिले भएका छन् ।


क्लिकमान्डु