कोरिया जानका लागि रोस्टरमा नाम परेका ५ हजार नेपालीलाई पठाउने सरकारको तयारी



काठमाडौं । युवाहरूहको आकर्षक गन्तव्य बनेको कोरिया रोजगारीको लागि रोस्टरमा नाम चढेर लेबर कन्ट्रयाक्ट आएका नेपाली श्रमिलाई दक्षिण कोरिया पठाउने तयारी गरेको छ ।

कोरोना भाइरस महामारीका कारण प्रभावित भई जान नपाएका युवाहरूलाई सरकारले रोजगारीको लागि पठाउने तयारी गरेको हो ।

सरकारले हरेक वर्ष दक्षिण कोरियाले माग गरेअनुसार युवाहरू पठाउने गर्दछ । तर, सन् २०१९ मा परिक्षा दिई २०२० मा उतीर्ण भएका सम्पूर्ण युवाहरू कोभिड-१९ ले गर्दा जान पाएका छैनन् ।

लामो समयको बन्दाबन्दी र अन्तर्राष्ट्रिय उडानको निश्चित नभएसँगै कतिपय उत्तीर्ण भएका युवाहरू जान नपाउने हो कि भन्ने अन्यौलता छाएको छ । साथै, उनीहरूले ‘सक्छौ भने रोजगारी देऊ नभए कोरिया पठाइदेऊ’ नाराका साथ बेलाबेलामा आन्दोलन गर्दै आएका छन् ।

तर, सरकार पक्षले भने कोरिया सरकारको सकारात्मक प्रतिक्रियाको अपेक्षामा बसेको इपीएस कार्यालयले जनाएको छ । कायालयका निर्देशक इन्द्र गौतमका अनुसार सरकारले कोरिया पठाउनको लागि विभिन्न चरणमा वार्ता गर्दै आएको बताए ।

गौतमका अनुसार कोरोनाका कारण कोरियाले अन्य देशबाट जाने श्रमिकहरूलाई प्रवेशमा रोक लगाएकाले उतीर्ण भएका युवाहरु जान नपाएको बताए । साथै, कोरोनाले रोजगारीमा जान नपाएका युवाहरूको लागि सरकारले कोरियासँग विभिन्न तहमा समन्वय गरिरहेको बताए ।

‘हामीले कोरिया पठाउन प्रयास गरिरहेका छौं । तर, खुलिसकेको छैन । कोरिया सरकारले बाहिरबाट आउने सबै श्रमिकलाई आगमनमा रोक लगाएको छ,’ उनले भने, ‘कोरिया सरकारले पनि श्रमिक आगमनमा खुल्ला गर्नको लागि विभिन्न निकायमा स्वीकृति लिनुपर्दछ । त्यसैले सरकारबाट भने पठाउन प्रक्रिया र पहल भइरहेको छ ।’

यस्तै कोरिया सरकारले कम्बोडियाका श्रमिकलाई ट्रायलको रुपमा लगिरहेको अवस्थामा नेपालबाट पनि ट्रायलमा लैजाने कुरा भइरहेको उनले बताए । योसँगै कोरिया सरकारले नेपाललाई उच्च जोखिममा राखेको हुनाले त्यसको लागि पनि त्यहाँका स्वास्थ्य तथा कानुन मन्त्रालयको स्वीकृति आवश्यक रहेकाले त्यसको लागि पहल भइरहेको उनको भनाइ छ ।

यस्तै, वैदेशिक रोजगार विभागका सुचना अधिकारी टिकामणि नेउपाने कोरियाको लागि पहल भइरहेको बताए । तर, हालसम्म कहिले जान पाउँछन् भन्ने निश्चित मिति भने तय नभएको उनले जानकारी दिए ।

सरकारले कोरिया सरकारसँग समन्वय र वार्ता गरिरहेको हुनाले सम्भावत छिट्टै प्रक्रिया अघिबढ्ने उनले बताए ।

५ हजार लैजाने प्रक्रियामा

सन् २०२० का लागि २०१९ मा ९२ हजार ३ सय ५६ आवेदकमध्ये १२ हजार १० जनाले भाषा परीक्षा उत्तिर्ण गरेका थिए । तर, सीप परीक्षामा ६ हजार ७ सय ७३ जना मात्र उत्तिर्ण भए ।

उक्त समयमा एचआरडीले सार्वजनिक गरेको नतिजामा पारदर्शी नभएको भन्दै परीक्षार्थीहरूले वैदेशिक रोजगार विभाग र इपीएस कार्यलयमा सीप परीक्षाको नतिजा खारेज गर्न माग गरेका थिए ।

त्यसपछि त्यससँग सम्बन्धित विभिन्न निकायसँग संयुक्त बैठक बसी विद्यार्थीको माग सम्बोधन गरेका थिए । जसमा २०७६ मंसिरको १४ गते नतिजामा मात्र प्राविधिक समस्या भएको भन्दै एचआरडीले थप एक सय ३५ जनालाई पास गरेका थिए । सोही सच्याएको नतिजा अनुसार २०२० का लागि ६ हजार ९ सय ८ जना पास भएका थिए ।

उक्त पास भएका सम्पूर्ण परीक्षार्थीको रोस्टरमा नाम आइसकेको छ । त्यसैले विस्तारै कोरियाको सहमतिमा रोजगारीमा पठाउने प्रक्रिया अघि बढिरहेको गौतमको भनाइ छ ।

सरकारले रोष्टरमा भएकामध्ये करिब ५ हजारको हाराहारीमा जाने प्रक्रियामा रहेको निर्देशक गौतम बताउँछन् । त्यससँगै आगामी दिनमा उक्त युवाहरू गएमा निरन्तर रुपमा अन्य पनि पठाउने उनको भनाइ छ । साथै, कोरिया पठाउन शुरु भएमा उक्त संख्या पठाउन धेरै समय नलाग्ने उनको अनुमान छ ।

२०२१ मा परीक्षा गर्ने तयारी गर्दै

कोरोना भाइरस महामारीका कारण रोजगारीमा जान नपाएको अवस्थामा २०२१ मा लागि पनि नयाँ परीक्षार्थीको माग गर्ने तयारी गरिरहेको गौतमको भनाइ छ । उनका अनुसार नयाँ परिक्षा सञ्चालन गर्नेमा कोरिया सरकारको पनि सकारात्मक मनसाय भएकाले यस परिक्षा सञ्चालनको लागि पूर्वाधार तयारी गरिरहेको उनले बताए ।

त्यस्तै, कोरोना भाइरस महामारीका कारण प्रभावित भएको अवस्थामा प्रत्यक्ष परिक्षा लिन निकै चुनौती रहेकोले कम्प्यूटरमार्फत दिनको लागि छलफल भइरहेको उनले जानकारी दिए ।

तर, २०२१ का लागि कोरिया सरकारले भने हालसम्म कोटाको निश्चित नगरेको उनले बताए ।

लाखौँको संख्यामा आवेदन, हजारको संख्यामा कोरिया 

२००७ सालमा श्रम सम्झौता भएको देश कोरियाले नेपाली कामदारको हकहितलाई समेट्ने खालको रहेको छ । २००७ मा श्रम सम्झौता भएको कोरियाले नेपालबाट २००८ मा नेपाली कामदार लगिएको इपीएस कार्यलयको तथ्याङ्कमा उल्लेख गरेको छ ।

नेपाली कामदारको हकहितलाई समेटिएको हुँदा नेपाली युवाहरूको आकर्षण बढ्दो रहेको छ । २००८ देखि २०१९ सम्ममा ५ लाख ८९ हजार ६ सय १८ जना नेपाली युवाहरूले आवेदन दिएका छन् । त्यसमा आवेदन दिएकामध्ये ५ लाख ४८ हजार ७ सय ७१ जना परीक्षामा सामेल भएको विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै, परीक्षार्थीमा ७० हजार ४ सय ६९ पास भएका छन् भने ६९ हजार ९८ जनाले रोजगारीको आवेदन भरेका छन् ।

त्यसैगरी कोरिया जानेको संख्या भने ६५ हजार ८ सय ४५ रहेको छ । जसमा ६१ हजार ८ सय ९४ पुरुष र ३ हजार ९ सय ५१ महिला रहेको छ ।


पुष्प दुलाल