मञ्जुश्री फाइनान्सको ५० करोड रुपैयाँको ऋणपत्र बिक्री खुल्ला, कति आवेदन दिन सकिएला ?



काठमाडौं । मञ्जुश्री फाइनान्सले माघ १८ गतेदेखि ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुल्ला गरेको छ । कम्पनीले एक हजार अंकित मूल्यको ५० करोड रुपैयाँ बराबरको ५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो ।

निष्कासन गरिने कुल ऋणपत्रमध्ये ३० करोड रुपैयाँ बराबरको ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने, बाँकी २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा बिक्री गरिने कम्पनीले जनाएको छ । २ लाख कित्ताको ५ प्रतिशत अर्थात् १० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि कम्पनीले छुट्याएको छ ।

कम्पनीले ८ वर्ष अवधिको वार्षिक ९.५ प्रतिशत ब्याजदर भएको उक्त ऋणपत्र छिटोमा माघ २१ गते र ढिलोमा फागुन २ गतेसम्म बिक्री खुल्ला हुने जनाएको छ । इच्छुक आवेदकले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीले उल्लेख गरेको छ ।

इच्छुक आवेदकले ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धक एनआइएबिएल एस क्यापिटल तथा नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सी आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । ऋणपत्र निष्कासनका लागि कम्पनीले केयर रेटिङ नेपालबाट केयर एनपी डबल बी रेटिङ प्राप्त गरेको थियो ।


क्लिकमान्डु