गोल्डेन ओकको दबदबा कायमै



काठमाडौं । भोड्का बजारमा लामो समय एकछत्र राज गरेको रुस्लान भोड्काले बजार हिस्सा गुमाउँदै गएको छ । भोड्काको बजारमा रुस्लानको हिस्सा जम्मा १९ प्रतिशतमा खुम्चिएको छ ।

पछिल्लो समय ८८४८ भोड्काले बजार हिस्सा बढाउँदै लगेपछि रुस्लानको हिस्सा खुम्चिएको हो ।

३ अर्ब ५८ करोड बराबरको ओल्ड दरबार र ८८४८ भोड्का बिक्यो, सेल्स २०% ले घट्यो

रुस्लान भोड्का जावलाखेल ग्रुप अफ इन्ड्रस्टी अन्तगर्तको कम्पनीले उत्पादन गर्दै आएको छ । ह्वाइट स्प्रिटको बजारमा जावलाखेल ग्रुपका उत्पादनको ३४ प्रतिशत बजार हिस्सा छ । जसमध्ये १९ प्रतिशत रुस्लान भोड्काका र १५ प्रतिशत ब्लु डाइमन्ड जिनको बजार हिस्सा छ ।

सन् २०२० मा ब्राउन स्प्रिट सेग्मेन्टमा भने कम्पनीको दबदबा कायमै रहेको छ । ब्राउन स्प्रिट सेग्मेन्टमा ५९ प्रतिशतको बजार हिस्सा कम्पनीका उत्पादनको छ । जसमा गोल्डेन ओकको मात्रै ५२ प्रतिशत हिस्सा छ ।

त्यसैगरी कम्पनीको तेस्रो सेग्मेन्ट बियर हो । जसको बिक्री १५ प्रतिशतले घटेको छ । कम्पनीका अनुसार बियरको बिक्री हुने सिजनमा लकडाउन भएका कारणले पनि बिक्री घटेको हो । कम्पनीबाट उत्पादिन बियरको बजार हिस्सा ७ प्रतिशत छ ।

कोरोना महामारीका कारण व्यवसायको मुख्य सिजनमध्येको एक अप्रिलदेखि जुन महिनासम्म कम्पनीको सेल्स १५ प्रतिशत घटेको थियो ।

सन् २०२० भरीनै घट्दो आम्दानीका बाजजुद बैंकको ब्याज तिर्ने र नाफा कमाउनेमा तीव्र दबाब कायमै रह्यो । कोरोना महामारीका कारण कम्पनीको व्यवासयमा समेत असर देखिएको छ । जसका कारण घट्दो सञ्चालन आम्दानी, नाफामा आएको संकुचन तथा तरलतामा कमी आएको देखिएको छ ।

कोरोना महामारीका कारण कम्पनीको व्यापारमा ठूलो प्रभाव परेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको आम्दानी २ अर्ब रुपैयाँले घटेको छ ।

सन् २०१९ मा १३ अर्ब ३१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको ग्रुपले सन् २०२० मा जम्मा ११ अर्ब २७ करोड ७४ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।  कम्पनीले सन् २०१८ मा १५ अर्ब २६ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

चार दशकभन्दा लामो समयदेखि डिस्टिलरी र ब्रुअरीको बजारमा विभिन्न उत्पादनबाट राम्रो पकड बनाउन सफल कम्पनीका ४ वटा वेयरहाउस तथा मुलुकर २३० वटा वितरक छन् ।

ग्रुपले ५ अर्ब रुपैयाँ ऋणका लागि रेटिङसमेत गराएको छ । इक्रा नेपालले कम्पनीलाई ए फोर प्लस रेटिङ दिएको छ ।

सन् २०१६ मा चार वटा डिस्टिलरी कम्पनी विजय, एसियन, हिमालयन र रोलिङ रिभरका साथै राज ब्रुअरीलाई जावलाखेल ग्रुप अफ इन्डस्ट्री अन्तर्गत राखिएको थियो ।

ग्रुप नेपालमा मदिरा किङका नामले परिचित विजयकुमार शाहको स्वामित्वमा छ । शाह ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक समेत हुन् । सन् १९७३ मा रुस्लान भोड्काको उत्पादन शुरु गरेका उनले हालसम्म डेढ दर्जनभन्दा बढी ब्राण्डका मदिरा उत्पादन भइरहेका छन् ।

ग्रुप अन्तर्गत ८ वटा कम्पनीमध्ये ४ वटा डिस्टिलरी कम्पनी, एउटा ब्रुअरी, एउटा रिसर्च युनिटका साथै जावलाखेल ग्रुप अफ इन्डस्ट्री र जावलाखेल डिस्ष्ट्रिब्यूसन प्रालि सञ्चालनमा छन् ।

कम्पनीबाट उत्पादन प्रडक्टमध्ये सबैभन्दा बढी भोड्का र ४० यूपीमा ब्राउन स्प्रिट सेग्मेन्ट (मुख्यगरी गोल्डेन ओक)को बिक्री हुँदै आएको छ । कम्पनीको आम्दानीमा गोल्डेन ओक, रुस्लान भोड्का र ब्लु डाइमन्ड जिनको मात्रै ८९ प्रतिशत हिस्सा छ । यो सन् २०१९ मा ८७ प्रतिशत थियो ।


पुष्प दुलाल