३ अर्ब ५८ करोड बराबरको ओल्ड दरबार र ८८४८ भोड्का बिक्यो, सेल्स २०% ले घट्यो



काठमाडौं । कोभिड १९ को कारण ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्काको बिक्री २० प्रतिशतले घटेको छ ।

ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्का उत्पादन गर्ने कम्पनी यति डिस्टिलरीले गतवर्ष ३ अर्ब ५८ करोड रुपैयाँको मदिरा बिक्री गरेको थियो । अघिल्लो वर्ष यस्तो बिक्री ४ अर्ब ५० करोड थियो ।

ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्का जस्ता नेपाली बजारमा चिर्चित मदिरा उत्पादक कम्पनी यति डिस्टिलरीले ३ अर्ब १२ करोड रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ । कम्पनीले सर्ट टर्म लोन १७ करोड ८० लाख रुपैयाँ र लङ टर्म लोन २ अर्ब ९४ करोड ५० लाख रुपैयाँ बराबरको ऋणका लागि रेटिङ गराएको हो ।

नेपाली मदिरा बजारमा राम्रो उपस्थिती जनाएको यति डिस्टिलरीको बिक्री कोभिड–१९ का कारण सन् २०२० मा २० प्रतिशतले घटेको छ भने सन् २०२१ को पहिलो चौमासमा १२ प्रतिशत ऋणात्मक हुने देखिएको छ ।

रेटिङमा कम्पनी इक्राले कम्पनीको बलियो अपरेटिङ मार्जिन देखाएको छ । साथै यसले आगामी दिनमा नाफासँगै डेब्ट कभरेज इन्डिकेटरलाई सहयोग पुग्ने उल्लेख गरेको छ ।

कम्पनीले यति डिस्टिलरीको विगत १५ वर्षमा प्राप्त रेकर्डका आधारमा रेटिङ गरेको हो । जसमा नेपालको रक्सी बजारमा कम्पनीको राम्रो उपस्थिती रहेको देखाएको छ भने ह्विस्की र भोड्का जस्ता नेपालमा बढी प्रयोग हुने रक्सीको बजारमा राम्रो बजार हिस्सा भएको समेत देखाएको छ ।

रेटिङ कम्पनीले यति डिस्टिलरीको नेपाली रक्सी बजारमा भएको उपस्थिती सन् २०१९ र सन् २०२० बीचमा १–१.२ प्रतिशतको ग्रोथ देखाएको छ । कम्पनीको सीमित उत्पादन र विविधताका कारण पछिल्लो २ वर्षमा ९० प्रतिशत आम्दानी बढेको देखाएको छ । जसमा ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्काको बिक्री उच्च रहेको छ ।

सन् १९७० मा स्थापना भएको शंकर डिस्टिलरी कम्पनीबाट उत्पादन हुने ओल्ड दरबार ह्विस्की र ८८४८ भोड्काको ब्राण्डिङ राम्रो भएको समेत रेटिङमा उल्लेख छ । २५–३० यूपीमा क्याटागोरीमा उत्पादन हुने यी २ वटा प्रडक्टहरुको बिक्री पछिल्लो ४ देखि ५ वर्षमा अत्यधिक भएको कम्पनीको भनाइ छ ।

कम्पनीले वर्ष २०१५ देखि ७० यूपीको रक्सी उत्पादनमा बढी ध्यान दिएको छ । भने २५ यूपीको ओल्ड दरबार ह्विस्की सन् २०१५ मा र ३० यूपी भएको भोड्का ८८४८ सन् २०१६ मा ल्याएको थियो । जसले छोटो समयमा बजारमा राम्रो उपस्थिती जनाउन सफल भएको थियो । यी दुई ब्राण्डका रक्सीको आम्दानी सन् २०१९ र २०२० मा कम्पनीको कुल आम्दानीमा ९० प्रतिशत हिस्सा ओगटेका थिए ।

कम्पनीले ७० यूपीमा कस्तुरी ब्राण्डमा समेत रक्सी उत्पादन गर्दै आएको छ । कम्पनीले उत्पादन गर्दै ह्विस्की ओल्ड दरबारको आन्तरिक बजार हिस्सा ४० प्रतिशत र भोड्कामा ८८४८ को आन्तरिक बजार हिस्सा ५० प्रतिशत रहेको कम्पनीको भनाइ छ ।

सन् २०१८ र सन् २०१९ मा कम्पनीको रेभन्यू आम्दानी क्रमशः ७१ प्रतिशत र ४८ प्रतिशत थियो । तर कोभिडका कारण कम्पनीको आम्दानी सन् २०२० मा भने घटेको थियो । त्यसपछि सन् २०२१ को पहिलो चौमासमा कम्पनीको आम्दानी १२ प्रतिशतले घट्ने देखिएको छ । वर्ष २०२० मा बिक्री घटेसँगै सन् २०१९ मा २४ प्रतिशत कार्यालयको सञ्चालन खर्च भए पनि सन् २०२० मा २९ प्रतिशत ऋणात्मक देखिएको छ ।

कम्पनीको हाल ऋण र नेटवर्थबीचको रेसियो सन् २०२० को मध्य जुलाइसम्म १.२६ देखिएको छ । यो रेसिया अघिल्लो वर्ष सन् २०१९ को मध्य जुलाइमा जम्मा ०.८५ थियो ।

कम्पनीमा ५० प्रतिशत सेयर स्वामित्व अभिशेक श्रेष्ठ र उनको परिवारको नाममा छ भने ५० प्रतिशत स्वामित्व रवि केसीको नाममा रहेको छ ।


क्लिकमान्डु