‘आम्दानी अठ्ठन्नी, खर्च रुपैयाँ’ भएपछि धमाधम कर्मचारी कटौती गर्दै ५ तारे होटल



काठमाडौं । कोरोना भाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमध्येको एक हो होटल व्यवसाय ।

कोरोना महामारीबाट अन्य क्षेत्रको तुलनामा यो क्षेत्रले सबैभन्दा बढी घाटा बेहोर्न बाध्य भयो । जसका कारण आर्थिक वर्ष सकिँदासम्म वित्तीय सूचकहरु प्रायः नकारात्मक भए ।

सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा मनाउने र २० लाख विदेशी पर्यटक ल्याउने महत्वाकांक्षी लक्ष्य लिएको थियो । त्यसका लागि जनवरी १ मा निकै तामझामका साथ राजधानीको दरशथ रंगशालामा विदेशी पाहुनलाई साक्षी राखेर भव्य उद्घाटन पनि गरियो ।

तर विडम्बना त्यसको केही समयमै कोरोना महामारीका कारण भ्रमण वर्ष स्थगित गर्न सरकार बाध्य भयो ।

नेपाल भ्रमण वर्ष भव्य होला, विदेशी पर्यटकहरु आउलान र विगतमा भन्दा बढी व्यापार होला भन्ने सोचमा लगानी बिस्तार गरिरहेका होटल क्षेत्रले यतिबेला अनपेक्षितरुपमा निरन्तर घाटा बेहोर्न बाध्य भएको छ ।

कोरोनाका कारण चैत यता बन्द भएका होटलहरुले कर्मचारीलाई तलब दिन नसक्ने बताउँदै आएका थिए । तर पछि यसको विरोध भएपछि होटल बन्द भएको अवस्थामा न्यूनतम तलब सबैले पाउने गरी होटल एसोसिएसन नेपाल (हान) र कर्मचारीबीच सम्झौता भएको थियो । जसमा होटल अनुसार न्यूनतम ४ हजार ३०० रुपैयाँदेखि बढीमा १० हजार रुपैयाँसम्म तलब पाउने गरी सम्झौता गरिएको थियो । तर उक्त सम्झौता पनि अब पालना गर्न नसक्ने अवस्था आएको होटल सञ्चालकहरुको भनाइ छ ।

जसका कारण होटल सञ्चालन गर्नुभन्दा पूर्णरुपमा बन्द गर्नु नै उपयुक्त विकल्प होटल सञ्चालकहरु देख्न थालेका छन् । कोरोना भाइरसको महामारीबाट सबैभन्दा पछिल्लो शिकार बनेको छ ‘होटल डेल अन्नपूर्ण’ र यसका कर्मचारीहरु ।

राजधानीको प्रिमियम ठाउँ दरबारमार्गमा ५५ अगाडिदेखि ४४ रोपनी क्षेत्रफलमा शानदारसँग चलिरहेको पाँचतारे होटल अन्नपूर्ण यतिबेला धमाधम कर्मचारी कटौती गरिरहेको छ र सम्भवतः आगामी एक वर्षसम्म होटल सञ्चालनमा आउने छैन ।

होटल सञ्चालक तथा होटल एसोसिएसन अफ नेपाल (हान) कि अध्यक्ष सिर्जना राणा होटल क्षेत्रमा देखिएको हालसम्म कै ठूलो संकट हो । कोरोना कारण सन् २०२० मा होटलले राम्रो आम्दानी गर्न सकेन ।

लकडाउनका कारण कैयन महिना बन्द भएको होटलमा आम्दानीभन्दा खर्च बढी हुने भएपछि कर्मचारीलाई विदाइ गर्ने विकल्प नभएपछि कटौती गर्न शुरु गरिएको उनको तर्क छ ।

‘सन् २०२० मा राम्रो आम्दानी हुन सकेन, सुन् २०२१ मा पनि पर्यटक आउनेमा विश्वस्त हुने अवस्था छैन, यस्तो अवस्थामा हामीले होटल तत्कालका लागि बन्द गर्ने निर्णय गर्यौं, अहिले कर्मचारीलाई विदाइ गर्न शुरु गरिएको छ,’ उनले क्लिकमाण्डूसँग भनिन् ।

राणाका अनुसार हाल होटलमा ३६० जना कर्मचारी छन् । जसमध्ये हालसम्म ५० जनाभन्दा बढी बिदाइ भइसकेका छन् भने अन्य कर्मचारीहरु पनि छाड्ने तयारीमा छन् ।

यता लाजिम्पाटस्थित र्याडिसन होटलले पनि कर्मचारी कटौती र्ने रणनीति लिएको छ । होटलको निर्देशक प्रकाश तिवारीका अनुसार अहिले होटल चलाउनुभन्दा बन्द गर्दा घाटा कम हुने अवस्था आएको छ ।

‘एउटा मात्रै रुमका लागि पनि कम्तीमा १५० जना कर्मचारी चाहिन्छ । किनभने होटल सञ्चालन गर्दा यसले दिने सबै सेवा सञ्चालन हुनैपर्छ । त्यसैले जबसम्म ४० देखि ५० प्रतिशतसम्म अकुपेन्सी हुँदैन तबसम्म होटल सञ्चालन गर्न सक्ने अवस्था छैन,’ तिवारीले भने ।

उनका अनुसार होटलले विदाइ हुन चाहने कर्मचारीका लागि भीआरएसको प्याकेज पनि ल्याएको छ । जसमा हालसम्म ४०÷५० जना कर्मचारीले मात्रै आवेदन दिएका छन् । तर निर्णय भने भइसकेको छैन ।

‘कोरोना भ्याक्सिन आएको खबरले अन्य क्षेत्र रिभाइभ हुन थालेको देखिएको छ, आन्तरिक पर्यटनमा आश्रित हुने क्षेत्रमा पनि केही सुधार होला तर विदेशी पर्यटकमा आश्रित होटलहरुको अवस्था आगामी ३ वर्षसम्म रिभाइभ हुने अवस्था छैन,’ उनले भने ।

उनका अनुसार तारे होटलहरुको अवस्था सरकारले आँकलन गरेभन्दा बढी हुने देखिएको छ ।

त्यसैगरी ५० वर्ष पुरानो सोल्टी होटल पनि घाटामा जान थालेपछि धमाधम कर्मचारी कटौती गर्न शुरु गरेको छ । ९५.५ रोपनी क्षेत्रफलमा फैलिएको होटलले कोरोना महामारीका कारण चालु आवको पहिलो तीन महिनामा मात्रै ७ करोड ९३ लाख रुपैयाँ घाटामा गइसकेको छ ।

सोल्टी होटलले अझै केही समयमा पनि होटलको व्यापार उकालो लाग्ने नदेखेपछि अहिले खर्च मितव्ययिताका लागि कर्मचारी कटौती गर्ने रणनीति लिएको देखिन्छ ।

होटलका जीएम उपउल मजुम्दारका अनुसार होटलमा ३८० जना कर्मचारी कार्यरत रहेकोमा हालसम्म करिब १८० जना विदाई भइसकेका छन् । लगातार घाटामा गइसकेपछि होटलले उक्त निर्णय गरेको हो ।

उता होटल तारागाउँ रिजेन्सी होटल्स लिमिटेड (हायात) । होटलले चालु आवको पहिलो त्रैमासमा मात्रै ७ करोड ८९ लाख रुपैयाँ नोक्सानी बेहोरिसकेको छ ।

गत आवको पहिलो त्रैमासमा २३ करोड ३४ लाख रुपैयाँ कुल आम्दानी गरेर १ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको होटलको आम्दानी यतिबेला उल्लेख्यरुपमा घटेको छ ।

होटलले कोरोनाको असर कहिलेसम्म रहन्छ भन्ने अनुमान गर्न सक्ने अवस्था नभएको भन्दै घट्दो आम्दानी भएको अवस्थामा खर्चहरु मितव्ययिता अपनाइ खर्चमा कटौती तथा नियन्त्रण गरी नोक्सानी सकेसम्म घटाउने प्रयास जारी राख्ने नीति लिएको छ । जसका लागि कर्मचारी भारी मात्रामा कर्मचारीहरु कटौती गर्ने उल्लेख गरेको छ ।

होटल क्यासिनो तथा रेष्टुरेन्ट मजदुर युनियनका अध्यक्ष सुर्यबहादुर कुँवरले अहिले तारे होटलहरु बन्द रहेको र आगामी महिनासम्ममा पनि खुल्न सक्ने अवस्था नदेखिएका कारण यतिबेला तारे होटलले भीएसआरलगायतका प्याकेज ल्याएर कर्मचारी कटौती गर्न खोजेको बताए ।

‘यसअघि होटल बन्द भएपछि न्यूनतम पारिश्रमिक निर्धारण गरिएको थियो । जुन यही डिसेम्बरमा सकिँदैछ । अब फेरि के हुने भन्ने अन्योल कायमै छ,’ उनले भने ।

उनका अनुसार होटलहरुले ३ तारे, ४ तारे र ५ तारे होटलहरुले औसतमा २० प्रतिशत कर्मचारीहरु कटौती गर्न खोजेको देखिएको छ । कतिपय कर्मचारीहरु पनि न्यूनतम तलब लिएर बस्नुभन्दा भीएसआर लिएर विदाइ हुन खोजेको देखिएको छ । यस्तो अवस्थामा कर्मचारीहरुलाई त्यो स्वतन्त्रता भएको तर होटलले जवरजस्ती कर्मचारी भने निकाल्न नपाउने उनले बताए ।


क्लिकमान्डु