बैंकले निजी कम्पनीमार्फत् सीएसआरको रकम खर्च गर्न नपाउने, ब्रान्ड प्रवर्धन र ब्यानरमा लोगो प्रतिबन्ध


काठमाडौं । बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्व कोष (सीएसआर)को रकम नाफामुलक संस्थामा प्रयोग गर्न नपाउने भएका छ । राष्ट्र बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन जारी गर्दै सरकारी, सामुदायिक तथा अन्य गैर नाफामूलक संस्थाहरुको लागि मात्र सीएसआरको रकम खर्च गर्नुपर्ने निर्देशन दिएको हो ।

‘सीएसआरअन्तर्गत खर्च गर्नका लागि परियोजना वा कार्यक्रम छनौट गर्दा त्यसबाट समुदायस्तरमा पर्ने प्रभाव र मुलुकको आवश्यकताको विश्लेषण गर्नु पर्दछ,’ मागर्दशनमा भनिएको छ ।

यस्तै व्यावसायिक वा व्यक्तिगत स्वार्थ बाझिने गरी कुनै विशेष भौगोलिक क्षेत्र तथा विषयमा अधिकेन्द्रित नभई समाजको आवश्यकतालाई प्राथमिकतामा राखी सिएसआरको रकम खर्च गर्नुपर्ने भएको हो । कुनै एउटा कार्यक्रममा त्यस आर्थिक वर्षको कुल खर्च योग्य संस्थागत सामाजिक उत्तरदायित्व रकमको ५ प्रतिशतभन्दा बढी खर्च गर्न पनि रोक लगाएको छ ।

तर, राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त सबै बैंक तथा वित्तीय संस्थाहरुले आपसी सहमतिमा कुनै विशेष सार्वजनिक महत्त्वको कार्य गर्ने भएमा यस बैंकको पूर्व स्वीकृतिमा त्यस्ता कार्य सञ्चालन गर्न सकिनेछ ।

बैंकहरुले आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएपछि ६० प्रतिशत सोही आर्थिक वर्षमा खर्च गर्नुपर्ने भएको छ । प्रत्येक आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत भएसँगै मुनाफाबाट कोषमा जम्मा भएको रकमको कम्तीमा ६० प्रतिशत रकम सोही आर्थिक वर्षभित्र खर्च गर्ने व्यवस्था मिलाउनु पर्ने व्यवस्था गरेको हो ।

केन्द्रिय बैंकले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०८१ जारी गर्दै उक्त व्यवस्था गरेको हो । संस्थाको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी छुट्टै कार्यविधि बनाएर मात्रै उक्त रकम खर्च गर्नुपर्ने व्यवस्था केन्द्रिय बैंकले कार्यविधि मार्फत गरेको छ ।

बैंकहरुले विविध कार्य गर्ने र कोष सञ्चालन गर्ने सम्बन्धमा कार्यविधि बनाई लागु गर्नुपर्नेछ व्यवस्था भएको हो । उक्त कार्यविधिमा कोषको रकम खर्च गर्ने अख्तियारी, कार्यक्रम छनौट तथा प्रस्ताव मूल्यांकन गर्ने आधार, कार्यक्रमको विविधीकरणका आधार, भौगोलिक रुपमा कार्यक्रमको वितरणको आधार, आपसी स्वार्थ रहित कार्यक्रम छनौट हुने आधार समावेश गर्नुपर्ने हुन्छ ।

केन्द्रिय बैंकले सीएसआर अन्तरर्गत खर्च गर्ने क्षेत्र समेत तोकको छ । शिक्षा, स्वास्थ्य, मानविय सहयोग तथा राहत, वातावरण, वित्तीय साक्षरता, दिगो विकास लक्ष्य जस्ता क्षेत्रमा मात्रै खर्च गर्न पाइने व्यवस्था कार्यविधिले गरेको छ ।

सामुदायिक विद्यालय र कलेजको भौतिक संरचना, गरिब पिछडिएको वर्ग र अपाङ्गता भएका विद्यार्थीलाई छात्रवृत्तिमा खर्च गर्न सकिनेछ । यस्तै सरकारी र सामुदायिक विद्यालय तथा कलेजमा कम्प्युटर पोजेक्टर, लगाएका प्राविधिक शैक्षिक सामाग्रिमा पनि खर्च गर्न सक्नेछन् । विद्यालयमा पिउने पानीको व्यवस्था, शौचालय, तथा अन्य आधारभुत आवश्यककाता विभिन्न वस्तुहरु समेत सहयोग गर्न सक्नेछन् ।

स्वास्थ्य क्षेत्रमा पनि सरकारी तथा सामुदायिक स्वास्थ्य संस्थालाई वितरण गर्ने स्वास्थ्य सामाग्री, पिउने पानी, शौचालय, मास्क लगायतका स्वास्थ्य तथा सरसफाई सामाग्रि पनि सहयोग गर्न सकिने कार्यविधिमा उल्लेख छ ।

न्युन आय भएका नागरिकको जटिल स्वास्थ्य उपचार, निम्न वर्गको अपाङगता भएकाहरुलाई वैशाखी ह्वीचियर लगायतका सामाग्रि, स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम, महामारी र प्राकृतिक प्रकोको सामना गर्ने जनस्वास्थ्य पुर्वाधारमा पनि खर्च गर्न सकिनेछ । अक्सिजन, जिवनरक्षक भ्याक्सीन, औसधी लगायको आपुर्तीमा प्रत्यक्ष रुपमा गर्ने खर्च, समेत सिएसआरमा गणान हुनेछ ।

ट्राफिक व्यवस्थापन तथा यात्रु प्रतिक्षालय, सडकबत्ती, सार्वजनिक शौचालय लगायतको निर्माण, पुनः निर्माण तथा संरक्षणमा गरिने खर्च सीएसआरमा गणना हुनेछ ।

‘खोलौं बैंक खाता अभियान’ अन्तर्गत खोलिएका खातामा बैंक तथा वित्तीय संस्थाका तर्फबाट जम्मा गरिएको प्रति खाता १०० सम्मको खचै, राष्ट्रिय महत्वको आविष्कार केन्द्रलाई प्रदान गरिने रकम, खेलकुद क्षेत्रको विकासका लागि आवश्यक खेलकुद सम्बन्धी पूर्वाधारमा गरेको लगानी सीएसआरमा खर्च गर्न पाइने कार्यविधिमा उल्लेख छ ।

सीएसआरको खर्च गर्दा एकै भौगोलिक क्षेत्र तथा विषय (जस्तैः शिक्षा, स्वास्थ्य आदि) मा मात्र सीमित नभई आफनो कार्यक्षेत्र भित्रका भौगोलिक क्षेत्रमा जीवन रक्षा, सार्वजनिक हित तथा परोपकार कार्यलाई प्राथमिकतामा राखी खर्च गर्नुपर्ने भएको छ ।

वाणिज्य बैंक तथा राष्ट्रिय स्तरका वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व कोषमा छुट्टाएको रकमलाई प्रत्येक प्रदेशमा न्यूनतम १० प्रतिशत हुनेगरी खर्च गर्नुपर्ने व्यवस्थालाई निरन्तरता दिएको हो ।

कस्तो खर्च सिएसआरमा देखाउँन पाइदैन ?

संस्थाको ब्राण्ड प्रवर्धन तथा बजार विस्तार गर्ने उद्देश्यले गरिएका बजारीकरण अभियान, विभिन्न कार्यक्रमहरुको प्रायोजन, राजनैतिक दलका कार्यक्रमलाई गरिएको सहयोग, नाफामूलक कार्य, शुल्क लिई गरिएका कार्यक्रम, र्‍याली तथा विज्ञापन जस्ता कार्यहरुमा गरिएको खर्चलाई सिएसआरको खर्च मान्न नपाइने भएको छ ।

संस्थापक सेयरधनी, सञ्चालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्चलाई पनि सिएसआरमा गणना गर्न नपाइने भएको छ । त्यस्तै व्यापार विस्तारको शर्त राखी गरिएका खर्च पनि सिएरआरमा देखाउन पाइने छैन ।