
विराटनगर । विराटनगर र भोजपुरका विभिन्न स्थानमा सोमबार दिउँसो आगलागी हुँदा डेढ दर्जन घर जलेर नष्ट भएको छन् ।
विराटनगर-१, शंकरपुरमा अपराह्न आगलागी हुँदा चार घर तथा भोजपुर नगरपालिका १२ पारमानेमा १० र अरुण गाउँपालिका ४ को सुन्तलावारीमा दुई घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
विराटनगरमा गोबरको गुँइठवाट आगो सल्किँदा स्थानीय अनवर अन्सारी सहित ३ दाजुभाइको र अर्को एक घर जलेर नष्ट भएको मोरङ प्रहरीले जनाएको छ ।
गोबरको गुँइठोबाट निस्केको आगो टिनको छानो र बाँसको बार बारिएका घरमा सल्किँदा आगो लागेको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार क्षतिको विवरण सार्वजनिक भएको छैन । यहाँको आगो निभाउन ३ वटा दमकल प्रयोग गरिएको थियो ।
त्यसैगरी भोजपुर-१२, पारमानेमा नजिकको इमानी सामुदायिक वनको डढेलो वस्तीमा सल्किँदा आगजनी भएको प्रहरीको भनाई छ ।
अत्याधिक हावा चलेको समयमा सामुदायिक वनको डढेलो स्थानीय शंकर धमला, तीर्थप्रसाद सुवेदी, चद्रप्रसाद सुवेदी, रामबहादुर कार्की, रुद्रप्रसाद ढकाल, गोमा दर्जी, गोविन्द चापागाईं, सोभित श्रेष्ठ, कालीदास चापागाईं र गोबिन्द चापागाईंको घरमा सल्किँदा सबै घर जलेर नष्ट भएको भोजपुर प्रहरीले जनाएको छ ।
त्यसैगरी अरुण गाउँपालिका-४, सुन्तलाबारी गाउँमा अपराह्न आगलागी हुँदा दुई घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगोले मानवीय क्षति नभए पनि लाखौं मूल्य बराबरको क्षती पुगेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया