पूर्वाधार विकास बैंकबाट बाहिरिए सीइओ अनिल ज्ञवाली, निमित्तको जिम्मा भूपेन्द्र पाण्डेलाई



काठमाडौं । पूर्वाधार विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) अनिल ज्ञवाली बाहिरिएका छन् । ज्ञवाली २ वर्षे कार्यकाल पूरा गरेर बाहिरिएका हुन् ।

उनी २०७५ मंसिर १७ गते बैंकको सीइओमा नियुक्त भएका थिए । बैंकका अनुसार २०७७ मंसिर २८ गते उनको कार्यकाल सकिएको छ ।

३३ वर्षको स्वदेश तथा विदेशको बैकिङ अनुभव भएका ज्ञवालीले नबिल बैंक र ग्लोबल आइएमई बैंकमा सिइओ भएर काम गरिसकेका प्रखर बैंकर हुन् ।

यही मंसिर २५ गते बसेको पूर्वाधार विकास बैंकको सञ्चालक समितिले डेपुटी सीइओ भूपेन्द्र पाण्डेलाई मंसिर २९ गतेदेखि निमित्त सइिओको जिम्मेवारी दिने निर्णय गरेको छ ।

२० अर्बको पुर्वाधार विकास बैंकमा अर्थमन्त्रीको हस्तक्षेप, अध्यक्ष नहटाए लाइसेन्स दिन्न भनेपछि…

२० अर्ब रुपैयाँ चुक्ता पुँजी भएको पूर्वाधार विकास बैंकमा सरकारको १० प्रतिशत लगानी छ । सरकारको लगानी थोरै भए पनि सीइओ नियुक्तिमा अर्थमन्त्रालयको हस्तक्षेप भने हुँदै आएको छ ।

यसअघिका अर्थमन्त्री युवराज खतिवडाले बैंकका तत्कालीन अध्यक्ष बिमल कोइरालाई नहटाएसम्म लाइसेन्स नदिने बताएपपछि बैंकको अवधारणकर्ता समेत रहेका कोइराला बाहिरिनू परेको थियो ।

बैंकमा संस्थापकको ६० प्रतिशत र सर्वसाधरणको ४० प्रतिशत सेयर रहने संरचना छ । जसअनुसार बैंकले आइपीओ निष्काशनको तयारी गरिरहेको छ ।

बैंकले ठूला आकारको निक्षेप संकलन तथा ठूला पूर्वाधारको क्षेत्रमा कर्जा प्रवाह गर्छ ।

बैंकको अध्यक्षमा अजुज अग्रवाल छन् । त्यसैगरी, सञ्चालक समिति सदस्यहरुमा चन्द्र ढकाल, श्रीकृष्ण नेपाल, लालमणि जोशी, रामकृष्ण खतिवडा छन् ।


पुष्प दुलाल